पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो महाधिवेशनको उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

२०८२ कार्तिक १८ गते, बुधबार ।
काठमाडौं, नेपाल ।
समारोहका अध्यक्ष,
प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारी तथा सदस्यहरू,
विभिन्न मुलुकको प्रतिधित्व गर्दै आउनुभएका प्रतिनिधि तथा पर्यवेक्षकहरू,
नेकपा (एमाले) का नेतागण,
सञ्चारकर्मीहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू !
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भई तपाईँहरूसँग भेटघाट गर्ने र आफ्ना केही विचार राख्ने अवसर पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । विश्वका विभिन्न मुलुकमा रहेर नेपाली समुदायको हकहित, अधिकार र सरोकारका विषयमा सक्रियतापूर्वक काम गरिरहनुभएका यहाँहरू सबैलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु ।
यस अवसरमा, आफ्नो जन्मभूमिबाट टाढा रहेर पनि नेपालको लोकतान्त्रिक आन्दोलन तथा सामाजिक र आर्थिक रूपान्तरणमा योगदान पुर्याउँदै आउनुभएका, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा आवाज उठाउँदै आउनुभएका तथा मुलुकको विकास र समृद्धिप्रति निरन्तर चासो राख्दै आउनुभएका सम्पूर्ण प्रवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु।
आज लाखौँ नेपाली रोजगारी, अध्ययन, व्यवसाय र विभिन्न पेसाका सिलसिलामा विदेशमा रहनुभएको छ । आफ्नो परिवारको सुख, उज्ज्वल भविष्य र राम्रो जीवनयापनका लागि घरपरिवारबाट टाढा रहेर यहाँहरूले गर्नुभएको मेहनत र सङ्घर्ष सम्मानयोग्य छ । तपाईँहरूको श्रम, सीप र प्रतिभाले आफू बसेको मुलुकको विकासमा योगदान पुर्याउनुका साथै नेपालमा रहेका परिवारको जीवनयापन र समग्र राष्ट्रिय अर्थतन्त्रलाई समेत महत्त्वपूर्ण टेवा दिएको छ ।
विशेषगरी वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले लाखौँ परिवारको जीवनयापन र देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । तर प्रवासी नेपालीको योगदानलाई विप्रेषणमा मात्र सीमित गरेर हेर्नु हुँदैन । विदेशमा रहँदा हासिल गरेको ज्ञान, सीप, प्रविधि, अनुभव र कार्यसंस्कृति पनि देशका लागि उत्तिकै महत्त्वपूर्ण पुँजी हुन् । यसलाई नेपालको कृषि, उद्योग, शिक्षा, प्रविधि र सेवा क्षेत्रको विकाससँग जोड्ने उपयुक्त वातावरण निर्माण गर्नु पर्दछ ।
प्रवासी नेपालीहरू आफू बसेको मुलुकमा नेपालको पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्ने जनस्तरका दूत पनि हुनुहुन्छ । त्यसैले तपाईँहरूको व्यवहार, काम र गतिविधिमा नेपालको इज्जत र गरिमा प्रतिबिम्बित हुनुपर्छ । आफू बसेको मुलुकको कानुन, नियम र संस्कृतिको सम्मान गर्दै इमानदारी, मेहनत र व्यावसायिक दक्षताका साथ आफ्नो जिम्मेवारी पूरा गर्नु आवश्यक छ । साथै, नेपाल र आफू बसेको मुलुकबीच आपसी समझदारी, मित्रता र सहकार्य अभिवृद्धि गर्न पनि तपाईँहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ ।
यद्यपि, विदेशमा रहेका नेपाली, विशेषगरी श्रमिकहरूले अनेकौँ कठिनाइ र समस्या भोग्नुपरेको यथार्थलाई पनि हामीले बिर्सनु हुँदैन । श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल, ठगी तथा सम्झौताविपरीत काममा लगाउनेजस्ता समस्या अझै विद्यमान छन् । त्यसैले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक छ । यसका लागि रोजगारदाता मुलुकसँग प्रभावकारी श्रम सम्झौता गरी श्रमिकको उचित पारिश्रमिक, कानुनी अधिकार, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षाको प्रत्याभूति गरिनु पर्दछ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनु पर्दछ ।
हाम्रो देश नेपाल जलस्रोत, जङ्गल, जडीबुटी, कृषि उपज, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका दृष्टिले सम्पन्न रहेको छ । तर जलवायु परिवर्तन र प्राकृतिक विपद्का बढ्दो जोखिमलाई ध्यानमा राख्दै यी स्रोतको दिगो र वातावरणमैत्री उपयोगमा जोड दिनु आवश्यक छ । प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास, जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवर्द्धन र पर्यावरणमैत्री पर्यटनको विस्तारबाट रोजगारी सिर्जना गर्नुका साथै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सकिन्छ ।
यी सम्भावनालाई व्यवहारमा उतार्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्छ । यसमा प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलताको महत्त्वपूर्ण भूमिका रहन सक्छ । उहाँहरूको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्छ । यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ ।
जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा अघि बढ्दै आएको नेकपा (एमाले) मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक दल हो । यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आवश्यक छ । पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नु पर्दछ । विशेषगरी, विदेशमा रहनुभएका नेपाली समुदायमा नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरूबारे सही सूचना तथा विचार सम्प्रेषण गर्दै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न तपाईँहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ ।
प्रवासमा रहेका सबै नेपालीको अवस्था र आवश्यकता एउटै हुँदैन । श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा र विभिन्न पेसामा संलग्न नेपालीका आ–आफ्नै समस्या र सरोकार छन् । ती सबैलाई समेटेर संगठनका गतिविधि अघि बढाउनुपर्छ । विशेषगरी महिला र युवालाई नेतृत्वमा अघि बढ्ने अवसर र वातावरण सिर्जना गर्नुपर्छ ।
विदेशमा हुर्किरहेका नेपाली बालबालिका र नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, इतिहास र मातृभूमिसँग जोडिराख्नु पनि हाम्रो साझा जिम्मेवारी हो । उनीहरू जहाँ बसे पनि आफ्नो नेपाली पहिचानप्रति गर्व गर्न सक्ने वातावरण बनाउनुपर्छ । यसका लागि नेपाली भाषा शिक्षण, सांस्कृतिक कार्यक्रम र साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्नुपर्छ ।
यस महाधिवेशनले विगतका कामको समीक्षा गर्दै आगामी कार्यकालका लागि स्पष्ट नीति, योजना र कार्यक्रम तय गर्नेछ भन्ने विश्वास लिएको छु । नयाँ नेतृत्वले विश्वभर रहेका नेपालीका समस्या र आवश्यकतालाई बुझेर संगठनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनुपर्छ । साथै, प्रवासी नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको विकाससँग जोड्ने ठोस कार्यक्रम अघि बढाउनुपर्छ ।
अन्त्यमा, म एउटा कुरा विशेष रूपमा भन्न चाहन्छु, हामी जहाँ रहे पनि हाम्रो जन्मभूमि नेपाल नै हो । प्रवासमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो कर्मभूमिमा हासिल गरेको सफलता, अनुभव र क्षमतालाई मातृभूमिको समृद्धिसँग जोड्न सक्नुभयो भने त्यसबाट देशले ठूलो लाभ लिन सक्छ । देश र विदेशबीचको दूरी भौगोलिक मात्र हो; हाम्रो आत्मीयता, राष्ट्रिय पहिचान र मातृभूमिप्रतिको जिम्मेवारी सधैँ जोडिएकै हुन्छ ।
'सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली' भन्ने यस महाधिवेशनको मूल नाराले पनि यही भावनालाई समेटेको छ । प्रवासी नेपालीको अधिकार, सम्मान र सुरक्षाको सुनिश्चितता गर्दै उहाँहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई राष्ट्रिय विकासमा जोड्न सकियो भने मात्र यो नारा सार्थक हुनेछ ।
यस महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु । महाधिवेशनका छलफल र निर्णयहरूले संगठनको आगामी यात्रालाई नयाँ ऊर्जा र स्पष्ट दिशा प्रदान गरून् । प्रवासी नेपाली मञ्चको दोस्रो महाधिवेशनको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !