पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३ को उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

बुटवल, १२ असोज २०८३
मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष,
आयोजक संस्थाका पदाधिकारी तथा सदस्यहरू,
सरकारी तथा स्थानीय तहका प्रतिनिधिहरू,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी, प्रशिक्षक तथा निर्णायकहरू,
खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू,
आज बुटवलमा आयोजना भइरहेको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३ को दोस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।
यस महत्वपूर्ण प्रतियोगिताको आयोजना गर्नुभएकोमा मदन भण्डारी स्पोर्टस् एकेडेमी तथा सम्पूर्ण आयोजक परिवारलाई धन्यवाद दिन चाहन्छु । प्रतियोगितामा सहभागी हुन नेपाल तथा मित्रराष्ट्रहरूबाट आउनुभएका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीहरूलाई बुटवलमा हार्दिक स्वागत गर्दछु ।
यस प्रतियोगिताको नामसँगै जननेता मदन भण्डारीको युवा र खेलकुदप्रतिको दृष्टिकोणलाई सम्झनु पनि सान्दर्भिक हुन्छ । उहाँले युवालाई राष्ट्र निर्माण र सामाजिक रूपान्तरणको महत्वपूर्ण शक्ति मान्नुभएको थियो । युवाको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई सही दिशामा परिचालन गर्न सके त्यसले देशको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ भन्ने उहाँको विश्वास थियो ।
उहाँ खेलकुदलाई पनि केवल मनोरञ्जनको विषयका रूपमा हेर्नुहुन्नथ्यो । खेलकुदले युवामा अनुशासन, गतिशीलता, सहकार्य र सामुहिक भावना विकास गर्छ भन्ने उहाँको बुझाइ रहेको थियो ।
आजको भलिबलको मैदानले यस कुरालाई अझ स्पष्टसँग देखाउँछ । एउटा खेलाडीले व्यक्तिगत रूपमा जति राम्रो खेल प्रदर्शन गरे पनि टोलीका अन्य सदस्यसँग समन्वय गर्न सकेन भने टोली सफल हुन सक्दैन । बल उठाउनेदेखि पास गर्ने, आक्रमण गर्ने र प्रतिरक्षा गर्ने हरेक क्षणमा टिमवर्क र आपसी विश्वास आवश्यक हुन्छ । यही भावना जीवन र राष्ट्र निर्माणमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
भलिबल हाम्रो देशमा लोकप्रिय खेल हो । गाउँदेखि सहरसम्म यसको ठूलो आकर्षण छ । सीमित स्रोत र साधनका बीच पनि हाम्रा खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् । खेलाडीहरूको मेहनत, अनुशासन र समर्पण प्रशंसनीय छ ।
तर खेलाडीहरू प्रतिभावान भएर मात्र पुग्दैन । प्रतिभालाई निरन्तर अभ्यास गर्ने अवसर चाहिन्छ । राम्रो प्रशिक्षण, आवश्यक पूर्वाधार, दक्ष प्रशिक्षक र नियमित उच्चस्तरीय प्रतियोगिता पनि आवश्यक हुन्छ । यस दृष्टिले यस्ता प्रतियोगिताको निरन्तरता महत्वपूर्ण छ ।
यस प्रतियोगिताले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै नयाँ अनुभव हासिल गर्ने र आफ्नो खेल कौशल अभिवृद्धि गर्ने अवसर प्रदान गरेको छ । नेपाल, मित्रराष्ट्र भारत तथा श्रीलंकाका खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप व्यापक र अन्तर्राष्ट्रिय स्वरूप दिएको छ । विभिन्न देशका खेलाडी एउटै मैदानमा प्रतिस्पर्धा गर्दा खेल कौशलको आदान–प्रदानसँगै आपसी सम्मान, मित्रता र समझदारी पनि अभिवृद्धि हुन्छ । यस दृष्टिले यस्ता अन्तर्राष्ट्रिय खेल प्रतियोगिताले खेलकुदको विकाससँगै जनस्तरमा पारस्परिक सम्बन्ध र सद्भाव विस्तार गर्नसमेत महत्वपूर्ण योगदान पुर्याउँछन् ।
राज्यले खेलकुद क्षेत्रमा अपेक्षित रूपमा पर्याप्त लगानी गर्न नसके पनि नेपाली खेलाडीहरूले सीमित स्रोत–साधनका बीच निरन्तर मेहनत, अनुशासन र समर्पणका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्दै आएका छन् । खेलाडीहरूको लगनशीलता र उत्कृष्ट प्रदर्शनले अन्तर्राष्ट्रिय खेल जगतमा नेपालको पहिचान र गौरवलाई बलियो बनाउन योगदान पुर्याएको छ ।
त्यसैले खेलाडीको प्रतिभा विकास र खेल क्षेत्रको विस्तारका लागि राज्य, स्थानीय तह, खेल संस्था, निजी क्षेत्र, विद्यालय, अभिभावक र समुदायबीच सहकार्य आवश्यक छ । विशेषगरी विद्यालय तहदेखि नै बालबालिका तथा युवालाई पढाइसँगै खेलकुदमा सहभागी हुने वातावरण बनाउनुपर्छ । यसले शारीरिक स्वास्थ्यसँगै अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सहकार्यको भावना विकास गर्न मद्दत गर्छ ।
यस प्रतियोगिताले बुटवल तथा समग्र लुम्बिनी प्रदेशलाई खेलकुदको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न पनि योगदान पुर्याउन सक्छ । खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र खेलप्रेमीहरूको आवागमनले स्थानीय आर्थिक गतिविधि तथा खेल पर्यटनलाई समेत प्रोत्साहन गर्न सक्दछ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले यस प्रतियोगितालाई दोस्रो संस्करणसम्म निरन्तरता दिएकोमा धन्यवाद दिन चाहन्छु । प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक तथा सहयोगी संस्था, सञ्चारमाध्यम, स्वयंसेवक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सम्पूर्ण आयोजक टोलीप्रति आभार व्यक्त गर्दछु ।
अन्तमा, जननेता मदन भण्डारीले देखाउनुभएको युवाको ऊर्जा, अनुशासन र सिर्जनशीलतालाई राष्ट्र निर्माणसँग जोड्ने सोचलाई व्यवहारमा उतार्न यस्ता प्रयासले निरन्तरता पाऊन् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३ को पूर्ण सफलताको कामना गर्दै सम्पूर्ण खेलाडी तथा सहभागी टोलीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।