२०८३ असोज १८ गते आइतबार ।

कार्यक्रमका सभाध्यक्ष एवं नेकपा (एमाले) दोलखा जिल्ला कमिटीका अध्यक्ष,

उपस्थित नेकपा (एमाले)का नेतागण, 

आयोजक जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू,

सञ्चारकर्मीहरू,

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू  ।

आज नेकपा (एमाले), जिल्ला कमिटी दोलखाको आयोजनामा ‘आनन्दप्रसाद पोखरेल: विचार, संघर्ष र नेतृत्व’ नामक जीवनीमूलक कृतिको लोकार्पण कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा, लेखक गोविन्दप्रसाद दुलाललाई यो महत्वपूर्ण कृति तयार गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै, आफ्नो लामो राजनीतिक जीवनका अनुभव र भोगाइलाई यस पुस्तकमार्फत सार्वजनिक गर्न सहयोग गर्नुभएकोमा आनन्दप्रसाद पोखरेलप्रति पनि धन्यवाद व्यक्त गर्दछु ।

कुनै पनि राजनीतिक व्यक्तिको जीवनी केवल उसको व्यक्तिगत जीवनको विवरण मात्र हुँदैन । त्यसमा उसले बाँचेको समय, समाजको अवस्था, राजनीतिक परिवर्तनका घटना, विचारको विकास, संघर्षका अनुभव र जनतासँगको सम्बन्धसमेत प्रतिबिम्बित हुन्छन् । यस अर्थमा ‘विचार, संघर्ष र नेतृत्व’ एउटा व्यक्तिको जीवनकथा मात्र नभई नेपालको पछिल्ला दशकको राजनीतिक तथा सामाजिक परिवर्तनलाई एउटा राजनीतिक कार्यकर्ताको जीवनयात्रासँग जोडेर हेर्ने प्रयासका रूपमा देखिन्छ ।

आनन्दप्रसाद पोखरेलको राजनीतिक यात्रा अनेरास्ववियुमार्फत विद्यार्थी जीवनबाट सुरु भयो । तत्कालीन क्रान्तिकारी कोअर्डिनेसन केन्द्र, नेकपा (माले) र नेकपा (एमाले)सँग आबद्ध भएर उहाँले पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा संलग्न हुनुभयो । जनपक्षीय प्रधानपञ्चदेखि संसदीय राजनीति, संविधानसभा र मन्त्रीको जिम्मेवारी सम्हाल्दै उहाँको राजनीतिक यात्रा प्रदेश हुँदै राष्ट्रिय राजनीतिसम्म विस्तार भएको छ ।

यस यात्राका विभिन्न चरणहरूमा उहाँले राजनीतिक संघर्ष मात्र गर्नुभएको छैन, संगठन निर्माण, जनप्रतिनिधिका रूपमा जनसेवा र विकासका प्रश्नलाई समेत आफ्नो राजनीतिक जिम्मेवारीसँग जोड्ने प्रयास गर्नुभएको छ । खासगरी, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, दोलखाको पूर्वाधार विकास तथा शिक्षा, स्वास्थ्य र पर्यटनका विषय उहाँको सार्वजनिक जीवनसँग जोडिएका महत्वपूर्ण प्रसंगका रूपमा पुस्तकमा आएका छन् ।

दोलखा प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र पर्यटनका दृष्टिले सम्भावनायुक्त जिल्ला हो । जिल्लाको विकासलाई राष्ट्रिय विकासको मूलधारसँग जोड्ने विषयमा लामो समयदेखि विभिन्न व्यक्ति-व्यक्तित्त्वहरूले योगदान गर्दै आउनुभएको छ । माथिल्लो तामाकोशीजस्तो राष्ट्रिय महत्त्वको आयोजना दोलखाको विकाससँग मात्र सम्बन्धित विषय होइन, यसले जलस्रोतको उपयोग, ऊर्जा विकास र राष्ट्रिय आत्मनिर्भरतासँग समेत सम्बन्ध राख्छ । त्यसैले विकासलाई स्थानीय आवश्यकता र राष्ट्रिय प्राथमिकताबीच जोड्ने दृष्टिकोण आज पनि महत्वपूर्ण छ ।

मलाई लाग्छ, सार्वजनिक जीवनमा लामो समय बिताएका व्यक्तिका लागि आफ्नो सफलतासँगै कमजोरी र असफलतालाई समेत आत्मसमीक्षाको विषय बनाउनु महत्वपूर्ण कुरा हो । राजनीतिमा पद र जिम्मेवारी परिवर्तनशील हुन्छन्, तर सार्वजनिक जीवनमा व्यक्तिले देखाएको आचरण, जनताप्रतिको उत्तरदायित्व र उसले स्थापित गर्न खोजेका मूल्यहरू दीर्घकालसम्म स्मरणमा रहन्छन् । त्यसैले राजनीतिक जीवनको मूल्याङ्कन पद र पदावधिबाट मात्र होइन, समाज र राष्ट्रप्रति पुर्‍याएको योगदानबाट पनि गरिनुपर्छ ।

आजको पुस्ताका लागि यस पुस्तकको अर्को महत्वपूर्ण पक्ष इतिहाससँगको सम्बन्ध हो । अहिलेको पुस्ताले विगतका राजनीतिक संघर्ष र परिवर्तनका प्रक्रियालाई प्रत्यक्ष अनुभव गरेको छैन । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०४६ सालको जनआन्दोलन, त्यसपछिका राजनीतिक परिवर्तन, संसदीय अभ्यास, संविधानसभा र संविधान निर्माणसम्मको यात्रा नयाँ पुस्ताका लागि इतिहासका विषय हुन् । तर ती इतिहास कसरी बने, त्यसमा संलग्न व्यक्तिहरूले कस्ता जोखिम र कठिनाइ बेहोरे र राजनीतिक परिवर्तनको प्रक्रियाले समाजलाई कसरी प्रभावित गर्‍यो भन्ने कुरा बुझ्न यस्ता जीवनी उपयोगी स्रोत बन्न सक्छन् ।

राजनीतिक इतिहासलाई केवल घटनाहरूको सूचीका रूपमा नभई मानिसका अनुभव, संघर्ष र निर्णयसँग जोडेर बुझ्ने प्रयास यस पुस्तकको महत्वपूर्ण पक्ष हो । यसले एक व्यक्तिको राजनीतिक जीवनसँगै एउटा पुस्ताको राजनीतिक अनुभव र सामाजिक–राजनीतिक यात्राका महत्वपूर्ण पक्षलाई समेत समेट्ने प्रयास गरेको छ ।

आज नयाँ पुस्तामा राजनीति र सार्वजनिक जीवनप्रति चासोसँगै विभिन्न प्रश्न र असन्तुष्टि पनि देखिन्छ । राजनीति केवल पद प्राप्त गर्ने माध्यम होइन, समाज र राष्ट्रप्रतिको जिम्मेवारी  हो भन्ने कुरा सार्वजनिक जीवनमा सक्रिय व्यक्तिका अनुभव र यात्राबाट बुझ्न सकिन्छ । यस दृष्टिले यस्ता जीवनीले नयाँ पुस्तालाई राजनीति र सार्वजनिक जीवनका जिम्मेवारी बुझ्न उपयोगी सन्दर्भ दिन सक्छन् ।

त्यसैगरी, नयाँ र पुरानो पुस्ताबीचको संवाद आजको महत्वपूर्ण आवश्यकता हो । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकअर्काका विकल्प होइनन् । अनुभव र ऊर्जाबीचको उचित संयोजनबाट नै राजनीतिक तथा सामाजिक जीवनलाई थप गतिशील र समावेशी बनाउन सकिन्छ ।

मलाई विश्वास छ, ‘आनन्दप्रसाद पोखरेल: विचार, संघर्ष र नेतृत्व’ पुस्तक दोलखाको राजनीतिक इतिहास, नेपालको लोकतान्त्रिक तथा वाम आन्दोलन, विकासका प्रयास र समकालीन राजनीतिकका विविध पक्षको बारेमा बुझ्न चाहने पाठक, विद्यार्थी, अनुसन्धानकर्ता तथा नयाँ पुस्ताका लागि उपयोगी सन्दर्भ सामग्री बन्नेछ ।

अन्त्यमा, यो कृतिका प्रकाशक श्रीमती मिठु पोखरेल, लेखक गोविन्दप्रसाद दुलाललगायत प्रकाशन कार्यमा संलग्न सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिन चाहन्छु । पुस्तकका नायक आनन्दप्रसाद पोखरेललाई स्वस्थ, सक्रिय र सिर्जनशील जीवनका लागि शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।