­नेपाल प्रज्ञा प्रतिष्ठान, लेखनाथ हल, काठमाडौँ   ।

कार्यक्रमका सभाध्यक्ष,
लेखक तथा विश्लेषक श्री महेन्द्रप्रकाश सिवाकोटी,
मधुवन प्रकाशनका प्रतिनिधि,
लेखक, साहित्यकार, पत्रकार तथा बुद्धिजीवीहरू,
उपस्थित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू   ।

आज लेखक तथा विश्लेषक श्री महेन्द्रप्रकाश सिवाकोटीद्वारा लिखित दुई पुस्तक ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ को लोकार्पण कार्यक्रममा सहभागी भई यहाँहरूसँग भेटघाट गर्न पाउँदा खुसी लागेको छ । यस अवसरमा दुवै पुस्तकका लागि लेखक सिवकोटीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै, यस कार्यक्रममा सहभागी भई पुस्तक लोकार्पण गर्ने अवसर प्रदान गरेकोमा मधुवन प्रकाशनलाई धन्यवाद दिन चाहन्छु ।

लोकतन्त्रलाई हामीले प्रायः अधिकारसँग जोडेर बुझ्ने गर्छौं  । तर लोकतन्त्र अधिकारको मात्र व्यवस्था होइन, अधिकार र कर्तव्यबीचको सन्तुलन पनि हो  । नागरिकले आफ्ना अधिकारबारे सचेत हुनुपर्छ, तर त्यससँगै आफ्नो कर्तव्य र जिम्मेवारीबारे पनि उत्तिकै सचेत हुनुपर्छ । राज्यबाट सेवा र सुविधा माग्ने अधिकारसँगै सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, कानुनको पालना गर्ने, अरूको अधिकार र स्वतन्त्रताको सम्मान गर्ने र समाजप्रति जिम्मेवार बन्ने कर्तव्य पनि नागरिकको हुन्छ ।

त्यसैगरी, मुलुकको विकासका लागि सरकार, राजनीतिक दल वा नीति निर्माताहरू मात्र जिम्मेवार भएर पुग्दैन । समाजका हरेक पक्ष, हरेक समुदाय र प्रत्येक नागरिकको पनि विकासमा आफ्नो भूमिका र जिम्मेवारी हुन्छ । नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन, इमानदारी र सामाजिक जिम्मेवारी पनि विकासका महत्वपूर्ण आधार हुन् ।

यस अर्थमा नागरिक शिक्षा लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्ने महत्वपूर्ण आधार हो । यसले नागरिकमा आलोचनात्मक चेतना, सामाजिक उत्तरदायित्व, सहिष्णुता र लोकतान्त्रिक मूल्यप्रतिको सम्मान विकास गर्नुपर्छ । नागरिकले राज्यबाट आफ्ना अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वाभाविक हो। तर राज्य र समाजप्रतिको आफ्नो भूमिका तथा जिम्मेवारी पनि उत्तिकै बुझ्न आवश्यक छ ।

यसका लागि हाम्रो शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता छ । शिक्षालाई परीक्षामा प्राप्त अङ्क र प्रमाणपत्रमा मात्र सीमित नराखी विवेकशील, सिर्जनशील, नैतिक र जिम्मेवार नागरिक निर्माण गर्ने माध्यमका रूपमा विकास गर्नुपर्छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणालीलाई जीवनोपयोगी ज्ञान, वैज्ञानिक दृष्टिकोण, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नुपर्छ ।

शिक्षा प्रणालीको सुधारसँगै पठन संस्कृतिको विकास पनि उत्तिकै आवश्यक छ । पुस्तक अध्ययनले ज्ञान विस्तार गर्नुका साथै मानिसलाई स्वतन्त्र रूपमा सोच्न, तर्क गर्न र आफ्नो धारणा निर्माण गर्न सक्षम बनाउँछ । विशेषगरी युवा पुस्तामा अध्ययनको बानी विकास गर्न विद्यालयमा पुस्तकालयको प्रभावकारी उपयोग, समुदायमा पठन संस्कृतिको प्रवर्द्धन र गुणस्तरीय पुस्तकको सहज उपलब्धतामा ध्यान दिनुपर्छ । पुस्तक पढ्ने र पढेका विषयमा छलफल गर्ने संस्कृतिले सचेत नागरिक र ज्ञानमा आधारित समाज निर्माण गर्न सहयोग पुर्‍याउँछ ।

नेपालमा कृषि, जलस्रोत, पर्यटन, उद्योग, जडीबुटी र प्रविधिलगायतका क्षेत्रमा विकासका प्रशस्त सम्भावना छन् । तर ती सम्भावनालाई उपलब्धिमा बदल्न दूरदर्शी नीति, सुशासन, सक्षम संस्थाहरू र नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ ।

त्यसैले राजनीतिक चेतना, नागरिक शिक्षा र देश विकासलाई एकअर्काका परिपूरकका रूपमा बुझ्नुपर्छ । सचेत नागरिकले लोकतान्त्रिक संस्थालाई उत्तरदायी बनाउन, सार्वजनिक जीवनमा पारदर्शिता कायम गर्न र विकासका प्राथमिकताबारे रचनात्मक बहस गर्न योगदान दिन सक्छन् । विशेषगरी युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र परिवर्तनप्रतिको आकाङ्क्षालाई सकारात्मक दिशामा अघि बढाउन शिक्षा, पठन संस्कृति र लोकतान्त्रिक संस्कारको महत्वपूर्ण भूमिका हुन्छ ।

मलाई आशा छ, ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ विद्यार्थी, शिक्षक, राजनीतिकर्मी, नीति निर्माता, नागरिक समाज तथा आम पाठकका लागि उपयोगी सन्दर्भ सामग्री बन्नेछन् । यी पुस्तकले देश विकास, लोकतन्त्र, नागरिक जिम्मेवारी र सामाजिक रूपान्तरणका विषयमा थप अध्ययन र रचनात्मक बहसलाई प्रेरित गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्दछु ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको पीडाबाट तङ्ग्रिन नपाउँदै गोरखाको चुमनुव्री गाउँपालिकामा पहिरोले बूढीगण्डकी नदी थुनिएर फुट्दा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । सम्पर्कविहीन नागरिकहरूको शीघ्र खोजी तथा उद्धार गर्न र प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित बसोबास तथा आवश्यक उपचारको व्यवस्था मिलाउन सरकारका सम्बन्धित निकायहरूलाई आग्रह गर्दछु ।

हिमाली क्षेत्रमा दोहोरिइरहेका यस्ता विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएका छन् । विपद्पछिको उद्धार र राहतसँगै भविष्यमा हुन सक्ने क्षति न्यूनीकरणका लागि वातावरण संरक्षण र सुरक्षित तथा पर्यावरणमैत्री पूर्वाधार निर्माणमा पनि दीर्घकालीन ध्यान दिन आवश्यक छ । यसका लागि तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य र समन्वय अपरिहार्य छ ।

अन्त्यमा, नजिकै आइरहेको नेपालीहरूका महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद!

२०८३ असोज २६ गते सोमबार