सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले गणेश पण्डित स्मृति केन्द्रद्वारा आयोजित पूर्व सांसद, शिक्षाप्रेमी एवं वरिष्ठ समाजसेवी श्री गणेश पण्डितको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा गर्नुभएको सम्बोधन

सिद्धिचरण हल, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान
यस कार्यक्रमका सभाध्यक्ष,
गणेश पण्डित स्मृति केन्द्रका पदाधिकारीहरू,
विभिन्न राजनीतिक दलका शीर्ष एवं वरिष्ट नेताज्यूहरू,
उपस्थित वौद्धिक व्यक्तित्वहरू,
सञ्चारकर्मी मित्रहरू,
दिदीबहिनी तथा दाजुभाइहरू ।
पूर्व सांसद, शिक्षाप्रेमी तथा समाजसेवी स्वर्गीय गणेश पण्डितले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलन, शैक्षिक विकास एवं नेपाली समाजको सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि गर्नुभएका योगदानहरूको अभिलेखीकरण गर्नुका साथै उहाँको जीवनका विविध आयामहरूका बारेमा आम पाठकहरूलाई जानकारी दिने उद्देश्यले ‘गणेश पण्डित स्मृति ग्रन्थ’ नामक पुस्तक प्रकाशन गरेकोमा म गणेश पण्डित स्मृति केन्द्रलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यस पुस्तकका माध्यमबाट जनता र राष्ट्रको हित र समुन्नतिका लागि आजीवन क्रियाशील रहनुभएका स्वर्गीय गणेश पण्डितको जीवनका सकारात्मक आयामहरूबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा प्राप्त गर्नेछन् भन्ने मैले ठानेको छु । यस अवसरमा, म स्वर्गीय गणेश पण्डितप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
नुवाकोट जिल्लामा वामपन्थी राजनीतिको जग बसाउँने अग्रणी नेताहरूमध्ये गणेश पण्डित एक प्रमुख व्यक्ति हुनुहुन्थ्यो । तथापि, विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलनका साथै निरङ्कुशता अन्त्य र लोकतन्त्रको पुनर्स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा आफ्नो स्थानबाट खेल्नुभएको नेतृत्वदायी भूमिकाका कारण राष्ट्रिय राजनीतिमा समेत गणेश पण्डित एक स्थापित व्यक्तित्व हुनुहुन्थ्यो ।
२० र ३० को दशक नेपाली राजनीतिक इतिहासमा निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाले लोकतन्त्र तथा सामाजिक परिवर्तनका पक्षपातीहरूमाथि चरम दमनको अभियान चलाएको अवधिको रूपमा रहेको थियो । त्यस अवधिमा, पञ्चायती शाषकहरूद्वारा राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएकाले दलका धेरै नेता तथा कार्यकर्ताहरूलाई जेल तथा हिरासतमा बन्दी बनाइएको थियो भने कैयन नेताहरू निर्वासनमा जान बाध्य भएका थिए । प्रतिबन्धित दलका नेता कार्यकर्ताको ठूलो पङ्तिलाई भूमिगत रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्न बाध्य पारिएको थियो ।
यस प्रकारको उकुसमुकुसको राजनीतिक परिवेशमा काठमाडौँका विभिन्न कलेजहरूमा अध्ययनरत युवा विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थी यूनियन स्थापनाको लागि सुरु गरेको आन्दोलनमार्फत गणेश पण्डित वामपन्थी राजनीतितर्फ उन्मुख हुनुभएको थियो । विद्यार्थी आन्दोलनमा लागेवापत् उहाँलाई पञ्चायती सरकारले उपत्यका प्रवेश निषेध गरेपछि उहाँ आफ्नो गृह जिल्ला नुवाकोटमा रही शिक्षण पेशामा संलग्न हुनुभयो । शिक्षण पेशामा रहँदा समेत उहाँले शिक्षकहरूको पेशागत हक, हित र अधिकारको पक्षमा अनवरत रूपमा क्रियाशील हुनुभयो । शिक्षक आन्दोलनको नेतृत्व गर्दै जाँदा उहाँले नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु पर्ने परिवेश बन्यो र यो गहन जिम्मेवारी उहाँले सफलतापूर्वक निर्वाह गर्नुभएको थियो ।
सुरुमा तत्कालिन नेकपा (चौथो महाधिवेशन)मा सम्बद्ध भई वामपन्थी राजनीतिमा होमिनु भएका गणेश पण्डित २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलनको तर्फबाट सक्रिय रूपमा सहभागी हुनु भएको थियो । २०४७ सालमा तत्कालिन नेकपा (मार्क्सवादी) हुँदै नेकपा (एमाले)मा समाहित हुनुभएका स्वर्गीय पण्डितले प्रजातन्त्रको पुनर्स्थापनापछि २०४८ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नुवाकोट जिल्लाबाट नेकपा (एमाले)को तर्फबाट विजयी भई संसदमा समेत प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।
२००३ साल श्रावण ३० गतेका दिन नुवाकोटको शिखरबेँसीमा जन्मनुभएका गणेश पण्डित पछिल्लो समयमा धार्मिक–सांस्कृतिक सम्पदाहरूको संरक्षण एवं प्रवर्द्धनमा विशेष लगावका साथ क्रियाशील भइरहेकै अवस्थामा २०७५ साल फागुन २१ गते उहाँको असामयिक निधन भएको थियो ।
कुनै पनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदानको घनत्वलाई समय र सन्दर्भअनुसार मापन एवं मूल्याङ्कन गरिनु पर्दछ । गणेश पण्डितको मूल्याङ्कन पनि यही कोणबाट गरिनु पर्दछ भन्ने मलाई लाग्दछ । २०१७ सालदेखि २०४६ साल सम्म लादिएको निरङ्कुश पञ्चायती तानाशाही शासनको कहालीलाग्दो अवधिमा आफ्नो प्राणलाई हत्केलामा राखेर व्यवस्थाको विपक्षमा उहाँ जनपक्षीय राजनीतिमा होमिनु भएको थियो । व्यक्तिगत लाभका अनेकौँ अवसरहरूलाई वेवास्ता गर्दै जिल्लाको शैक्षिक उन्नयनका लागि समर्पित हुनुभएका स्वर्गीय पण्डितले पञ्चायती कालरात्रीको अवधिमा अनेक यातना, हण्डर र जेलनेल भोग्नुपर्दा समेत राजनीतिका कष्टपूर्ण यात्रामा निरन्तर सक्रिय रहनुभएको थियो । यसरी, अफ्ठ्यारो परिस्थितिमा समेत निर्भयका साथ देश र जनताको पक्षमा निरन्तर क्रियाशील भइरहने उहाँको क्रान्तिकारी उत्साहबाट तुलनात्मक रूपमा खुला लोकतान्त्रिक परिवेशमा राजनीतिमा आवद्ध नेता तथा कार्यकर्ताले गहन शिक्षा लिनु पर्दछ भन्ने मलाई लाग्दछ ।
जेहोस्, जनस्तरबाट स्थापित ‘गणेश पण्डित स्मृति केन्द्र’ले यस स्मृति ग्रन्थको प्रकाशन गरेर राष्ट्र र जनताका लागि लागि स्वर्गीय पण्डितले दिनुभएको योगदानलाई जनसमक्ष ल्याउँने र उहाँको स्मृतिलाई चीरस्थायी बनाउँने अत्यन्त सराहनीय काम गरेको छ । गणेश पण्डित स्मृति ग्रन्थको विमोचन कार्यक्रममा सहभागी भएर यहाँहरू समक्ष आफ्ना केही कुराहरू राख्ने अवसर प्रदान गर्नुभएकोमा आयोजकहरूलाई धन्यवाद दिँदै म गणेश पण्डित स्मृति केन्द्रको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।
२०८१ भाद्र १ गते, शनिबार ।