सिटी प्यालेस, विराटनगर ।

कार्यक्रमका सभाध्यक्ष, 
राजनीतिक दलका नेताहरू, 
कोशी प्रदेशका मुख्यमन्त्री, 
कोशी प्रदेश सभाका सदस्यहरू,
विराटनगर महानगरपालिकाका नगर प्रमुख,
बौद्धिक व्यक्तित्वहरू, 
सञ्चारकर्मी मित्रहरू, 
दिदीबहिनी तथा दाजुभाइहरू ।  

आज यहाँ विगत दुई दशकभन्दा बढी समयदेखि विराटनगरबाट प्रकाशित हुँदै आएको उद्‍घोष दैनिकको २१औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस कार्यक्रमममा सहभागी भएर यहाँहरूसँग भेटघाट एवं विचार आदानप्रदान गर्न पाएकोमा मलाई असाध्य खुसी लागेको छ । यस अवसरमा, म उद्‌घोष दैनिकको व्यवस्थापन, पत्रकार, कर्मचारी एवं पाठकहरूलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

स्थानीय सञ्चार माध्यम कुनै एक समुदायको मात्र नभई सम्पूर्ण राष्ट्रको आँखाजस्तै हुन्छन् । यी माध्यमहरूले राष्ट्रिय वा अन्तर्राष्ट्रिय मिडियाबाट ओझेलमा परेका स्थानीय समस्या, जनजीवनका चुनौती, विकासका प्राथमिकता, भाषिक तथा सांस्कृतिक विविधता, परम्परा र मौलिक ज्ञानलाई उजागर गर्ने काम गर्दछन् । स्थानीय सञ्चार माध्यमले केवल सूचना प्रवाह मात्र गर्दैनन्, बरु समुदायलाई सचेत, शिक्षित र सशक्त बनाउन अग्रणी भूमिका निर्वाह गर्दछन् । यसका साथै, लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन पनि यसले महत्वपूर्ण योगदान पुर्‍याउँछ । त्यसैले, स्थानीय सञ्चार माध्यमको संरक्षण र सबलीकरण हाम्रो साझा जिम्मेवारी हो । स्थानीय आवाजलाई प्राथमिकता दिँदा मात्र राष्ट्रिय विकास दीर्घकालीन र सबल बन्न सक्छ ।

यस सन्दर्भमा, विराटनगरबाट प्रकाशित उद्‌घोष दैनिकले पनि विगत लामो समयदेखि एक जिम्मेवार सञ्चार माध्यमको रूपमा यस क्षेत्रका स्थानीय सरोकारका विषयहरूलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । यसले सरकार र नागरिकबीच प्रभावकारी सञ्चार पुलको रूपमा निर्वाह गरिरहेको भूमिका प्रशंसनीय रहेको छ । साथै,  सत्य, निष्पक्षता र जनताको पक्षमा कलम चलाउने यस सञ्चार संस्थाको मिहिनेतले हाम्रो समाज अझ सचेत, उत्तरदायी र प्रगतिशील बन्नेछ भन्नेमा म पूर्ण आशावादी छु । 

हाम्रो देश प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदामा सम्पन्न भए पनि ती स्रोतको दिगो सदुपयोग हुन नसक्दा गरिबी र बेरोजगारी अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । कृषिप्रधान मुलुक भए पनि खाद्यान्न र दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुन नसक्दा आयातमा अत्यधिक निर्भर रहनु परेको छ । जसले गर्दा हाम्रो व्यापार घाटा दिनानुदिन चुलिँदो छ । गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा युवाहरू विदेश जान बाध्य छन् भने उच्च प्राविधिक तथा शिक्षित जनशक्तिको समेत विदेश पलायन बढ्दो छ । यसरी उर्जाशील युवा तथा दक्ष जनशक्तिको निरन्तर विदेश पलायनलाई रोक्न नसके, राष्ट्रिय विकास, उद्योग, स्वास्थ्य, शिक्षा र प्रविधिको विकासमा ठूलो समस्या आउँन सक्दछ । 

हाम्रो राष्ट्रिय आय मुख्यत: स्वदेशी उत्पादन र करमा आधारित हुनु पर्नेमा, हाल वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण र आयातमा लगाइएको भन्सार शुल्कमा निर्भर रहेको छ । सीमित निर्यात पनि प्रायः विदेशी कच्चापदार्थमा आधारित मूल्य अभिवृद्धि गरिएका वस्तुमा केन्द्रित रहेको छ । त्यसैले, अब हामीसँग उपलब्ध स्रोतको सदुपयोग गर्दै स्वदेशी उत्पादन बढाउन, युवालाई स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारी उपलब्ध गराउन र राष्ट्रिय आयको आधार बलियो बनाउन कदम चाल्नुपर्छ । यसो गरे मात्र हामी दिगो विकास र समृद्धिको मार्गमा अघि बढ्न सक्दछौँ । 

नेपालको समग्र विकासको मार्गमा आज पनि विभिन्न चुनौती र अवरोधहरू रहेका छन्—जसमा राजनीतिक अस्थिरता, सुशासन र पारदर्शिताको कमी, भ्रष्टाचार, आर्थिक असमानता, सामाजिक पछौटेपन तथा ग्रामीण–शहरी विकासमा असन्तुलन मुख्य छन् । यी चुनौतीहरूले केवल राष्ट्रिय स्रोतको सदुपयोगमा बाधा पुर्‍याउने मात्र नभई, दिगो विकासका लक्ष्यहरू हासिल गर्न पनि कठिनाइ उत्पन्न गरिरहेका छन् ।

खासगरी, सुशासन र पारदर्शिताको अभाव तथा जनताप्रतिको कमजोर जवाफदेहिताले आज हाम्रो समाजमा गम्भीर नागरिक निराशा उत्पन्न गरेको छ । राज्यप्रतिको विश्वास दिनानुदिन कमजोर हुँदै गएको छ र असन्तोष क्रमशः बढ्दो छ । जबसम्म सुशासनलाई व्यवहारमा परिणत गर्न सकिँदैन, तबसम्म विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ ।

यस सन्दर्भमा सञ्चार माध्यमहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ । सञ्चार माध्यमहरूले तथ्यमा आधारित र निष्पक्ष जानकारीमार्फत जनतालाई सचेत बनाउने, नीति र कार्यक्रमको निगरानी गर्ने, भ्रष्टाचार तथा दुरुपयोगको उजागर गर्ने र पारदर्शिता प्रवर्द्धन गर्ने कार्य गर्न सक्छन् । साथै, यसले समाजमा समान अवसर र समविकासको आवश्यकतालाई प्राथमिकतामा राखेर बहस र संवादको वातावरण सिर्जना गर्न सक्दछ ।

संक्षेपमा भन्नुपर्दा, नेपालमा विकासका मार्गमा रहेका अवरोधलाई चिन्दै त्यसको समाधानका लागि जनचेतना र लोकतान्त्रिक मूल्य प्रवर्द्धन गर्ने काम सञ्चार माध्यमले गर्न सक्ने महत्वपूर्ण योगदान हो । यसरी सञ्चार माध्यमहरू राष्ट्र निर्माणको सहायक शक्ति बन्न सक्छन् ।

अन्त्यमा, उद्‌घोष दैनिकको २१औँ वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई तथा आगामी दिनहरूको सफलताको शुभकामना व्यक्त गर्दै, तपाईंहरू सबैको उज्ज्वल भविष्यको कामना गर्दछु ।

धन्यवाद ।

२०८२ भदौ २ गते सोमबार