सातदोबाटो, ललितपुर ।

कार्यक्रमका सभाध्यक्ष,

माननीय सांसदहरू,

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष,

वातावरणविद्हरू,

सञ्चारकर्मी मित्रहरू,                                                      

उपस्थित सम्पूर्ण महानुभावहरू ।

जलवायु परिवर्तन, यसबाट वातावरण तथा मानव जीवनमा पर्ने प्रभाव र सञ्चारकर्मीहरूको दायित्व जस्तो अत्यन्त सामयिक विषयमा मेची महाकाली मिडिया सोसाइटीले राष्ट्रिय प्रकृति संरक्षणक कोषको सहकार्यमा कार्यशाला गोष्टीको आयोजना गरेकोमा म आयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

जलवायु परिवर्तन आज एक प्रमुख विश्वव्यापी समस्याको रूपमा देखा परेको छ । यसबाट वातावरण तथा मानव जीवन दुवैमा दूरगामी प्रभाव परिरहेको छ । यसबाट हाम्रो सामाजिक–आर्थिक विकास, जैविक विविधता, कृषि तथा पर्यटन विकास आदि क्षेत्रमा समेत नकारात्मक असर पर्दै गएको छ । जलवायु परिवर्तनका लागि मुख्य कारकका रूपमा रहेको हरित गृह ग्यासको उत्सर्जनका लागि मुलत: धनी तथा अद्योगिक राष्ट्रहरू जिम्मेवार रहेको भएतापनि नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विश्वका प्रमुख राष्ट्रहरूमध्येमा पर्दछ । पछिल्ला वर्षहरूमा विरलै पानी पर्ने नेपालका हिमाली जिल्लाहरूमा अस्वभाविक रूपमा बाढी आउनुलाई वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण उत्पन्न खतराको सङ्केतका रूपमा लिएका छन् । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा भएको भारी वर्षाको कारण भएको भौतिक क्षतिका साथै उच्च पहाडी भेक स्थित मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजार ध्वस्त भएको घटनालाई हामीले यसैको उदाहरणका रूपमा लिन सक्दछौँ ।

जलवायु परिवर्तनका कारण हिउँ पग्लेर हाम्रा हिमालहरू कालापत्थरमा परिणत हुने, हिमतालहरू पग्लिने र विस्फोट हुने, पहाडी क्षेत्रमा बाढी–पहिरो र सुक्खा खडेरी तथा तराई मधेसमा बाढी तथा डुबानका घटनाहरू अस्वभाविक रूपमा देखिन थालेको छन् । साथै, पानीका स्रोतहरू सुक्ने, वन डढेलो लाग्ने तथा नयाँ रोगको प्रकोपमा वृद्धि जस्ता नकारात्मक असरहरू समेत देखा परिरहेका छन् ।

यसैगरी, जलवायु परिवर्तनजन्य लामो खडेरी तथा सुख्खा मौसमका कारण हरेक साल बढिरहेको डढेलोबाट एकातर्फ वायु प्रदुषणमा वृद्धि भइरहेको छ भने अर्कातर्फ, वन्यजन्तु, बोटबिरुवा, जडीबुटी र काठ–दाउरा लगायतका जैविक तथा पर्यावरणीय क्षति मात्र बढिरहेको छैन, हरेक वर्ष डढेलो र आगलागीका कारण ठूलो मात्रामा मानवीय क्षति समेत भइरहेको छ । तसर्थ, डढेलोको कारण ठूलो मात्रामा हुने धनजनको क्षति कम गर्न, जैविक विविधताको हानिनोक्सानी रोक्न र वातावरण प्रदूषण कम गर्न डढेलो नियन्त्रण गर्नु अपरिहार्य छ । यसका लागि म हरेक व्यक्ति, समुदाय, तीनै तहका सरकार र सम्बद्ध सबैमा डढेलो नियन्त्रणको लागि आवश्यक उपाय अवलम्बन गर्न आग्रह गर्न चाहन्छु ।

जलवायु परिवर्तनको कुरा गर्दा, यसबाट सहरी क्षेत्र पनि धेरै नै प्रभावित बनेको छ । तसर्थ, हाम्रा सहरी क्षेत्रमा हरियाली क्षेत्रको विस्तार गर्न अति आवश्यक छ । हरियालीले केवल सहरको सौन्दर्य मात्र वृद्धि गर्दैन, बरु यसले पर्यावरणीय सन्तुलनलाई पनि मजबुत पार्दछ । सहरका खुला क्षेत्र, पार्क र हरित क्षेत्रमा लगानी बढाउँदा त्यसले हावा सफा राख्न, तापक्रम नियन्त्रण गर्न र सहरी जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने मेरो बुझाइ रहेको छ ।

जलवायु परिवर्तनका कारण हाम्रा रैथाने बाली र कृषि प्रणाली समेत प्रभावित भएको छ । हाम्रो परम्परागत कृषि प्रणालीले जलवायु अनुकूलनका लागि दिगो उपायहरू समेटेको छ ।  रैथाने बालीहरू स्थानीय पर्यावरणसँग अनुकूल भएकोले तीनले प्रतिकूल परिस्थितिमा पनि राम्रो उत्पादन दिन सक्दछन् । यसै कुरालाई मध्यनजर गर्दै हालै नेपालमा राष्ट्रिय प्रकृति संरक्षण कोषले गण्डकी जलाधार क्षेत्रमा यस्तै किसिमका जलवायु अनुकूलन कार्यक्रम लागु गरेको छ । यसलाई एकदमै सराहनीय कार्यको रूपमा लिन सकिन्छ ।

यस सन्दर्भमा, भूमि, पानी, वनस्पति र जैविक  विविधता लगायत  प्रकृति र प्राकृतिक स्रोतहरूको संरक्षण एवं व्यवस्थापन गर्ने समान उद्देश्य बोकेका संस्थाहरू – राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले जलवायु अनुकुलन तथा वातावरण संरक्षणको क्षेत्रमा आपसी समन्वयमा काम गर्नु पर्दछ भन्ने मलाई लागेको छ ।

जलवायु परिवर्तनका कारण उत्पन्न वातावरणीय समस्याहरूलाई सम्बोधन गर्नका लागि कुवा, ईनार, पोखरी, नदी, ताल लगायतका पानीका स्रोतहरूको संरक्षण, जमीनमुनिको पानीको दिगो सदुपयोग र पुनर्भरण, जैविक खेतीका साथै कृषि वन प्रणालीको प्रवर्द्धन गर्नु पर्दछ । एउटै जमिनमा एकीकृत रूपमा रुख विरुवा, अन्नबालीका साथै पशुपालन गरिने कृषि वन प्रणालीबाट खाद्यान्न, फलफूलका साथै काठ, दाउरा, मल र घाँसको उत्पादनबाट किसानहरूले बहुपक्षीय फाइदा लिन सक्दछन् । साथै यसबाट जैविक विविधतामा सुधार गर्न,  माटोको उर्वराशक्तिमा वृद्धि गर्न तथा जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण गर्न समेत सहयोग पुग्दछ । तसर्थ, जलवायु, हावापानी, भू–बनोट आदिलाई विचार गरी तराई, पहाड र उच्च–पहाडी क्षेत्रका लागि बेग्ला बेग्लै कृषि–वन प्रणालीको विकास गर्न सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

यसरी नै, पेट्रोलियम लगायतका जीवाश्म इन्धनको प्रयोगमा कौटौती गर्नका लागि नवीकरणीय उर्जामा आधारित विद्युतीय चुलो एवं विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नु पर्दछ । साथै, जैविक विविधताको संरक्षणका लागि विषादि एवं करेण्ट प्रयोग गरी माछा मार्ने कार्यमा रोक, जानाजान डढेलो लगाउँने प्रवित्तिमाथि रोक, प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा न्यूनीकरण गरिनु पर्दछ ।

जलवायु परिवर्तनले विश्वव्यापी सङ्कटको स्वरूप ग्रहण गरिरहेको परिवेशमा दिगो पारिस्थितिकीय प्रणालीको संरक्षण गर्दै प्रकृति र मानव बीच सहअस्तित्व कायम राख्न आज नागरिक समाज, निजी क्षेत्र र सबै तहका सरकारहरू जिम्मेवार बन्न जरुरी छ । जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरूका बारेमा जनचेतना अभिवृद्धि गर्न तथा जलवायु अनुकूलनका लागि ल्याइने कार्यक्रमहरू तल्लो तहसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ ।  यसरी नै, जलवायु अनुकुलन तथा वातावरण संरक्षणका लागि विभिन्न स्तरमा गरिएका काम, असल अभ्यास र सफलताको कथा प्रस्तुत गरेर सञ्चार माध्यमले जनचेतना अभिवृद्धि गर्न सक्दछ ।

अन्त्यमा, यस महत्वपूर्ण कार्यक्रममा सहभागी भएर यहाँहरूसमक्ष आफ्ना केही भनाइहरू राख्ने मौका दिनुभएकोमा आयोजकहरूलाई म हार्दिक धन्यवाद दिँदै कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु ।

धन्यवाद ।

२०८१ जेठ ३१ गते बिहीबार ।