पूर्व राष्ट्रपति श्रीमती विद्यादवी भण्डारीज्यूले मदन भण्डारी फाउन्डेशनद्वारा प्रकाशित 'State, Society, and Development: PMPD Perspectives' जर्नलको चौथो अङ्क विमोचन तथा विमर्श कार्यक्रममा गर्नुभएको सम्बोधन

जर्नलका प्रधान सम्पादक श्री महेन्द्रबहादुर पाण्डे,
सम्पादन मण्डलका सदस्यहरू,
विद्वान लेखक तथा समीक्षकहरू,
मदन भण्डारी फाउन्डेशनका पदाधिकारीहरू,
विद्वत् एवं प्राज्ञिक व्यक्तित्वहरू,
सञ्चारकर्मीहरू,
उपस्थित दिदिबहिनी तथा दाजुभाइहरू ।
मदन भण्डारी फाउण्डेशनद्वारा प्रकाशित ‘State, Society, and Development: PMPD PerspectivesÚ जर्नलको चौथो अङ्कको विमोचन तथा विमर्श कार्यक्रममा सहभागी भई तपाईँहरूसँग विचार आदानप्रदान गर्ने अवसर पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । सीमित स्रोत र साधनका बीच पनि जर्नल प्रकाशनजस्तो चुनौतीपूर्ण बौद्धिक कार्यलाई चौथो अङ्कसम्म निरन्तरता दिन सफल भएकोमा म मदन भण्डारी फाउण्डेशनलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछु ।
जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक हुनुहुन्थ्यो । उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) नेपाली माटोमा विकसित मौलिक राजनीतिक अवधारणा हो । यसले संविधानको सर्वोच्चता, बहुलवादी समाज, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, विधिको शासन र राष्ट्रिय स्वाधीनतालाई लोकतान्त्रिक व्यवस्थाका आधारका रूपमा स्वीकार गर्दै सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादतर्फ अघि बढ्ने दृष्टिकोण प्रस्तुत गर्दछ । नेपाली समाजको ऐतिहासिक अनुभव, सामाजिक संरचना, सांस्कृतिक विविधता र लोकतान्त्रिक आकाङ्क्षाका आधारमा विकसित यस अवधारणाको अध्ययन नेपालको राजनीतिक सन्दर्भका लागि मात्र होइन, विश्वका अन्य विकासोन्मुख मुलुकहरूको तुलनात्मक अध्ययनका लागि पनि महत्त्वपूर्ण हुन सक्छ ।
कुनै पनि विचार, सिद्धान्त वा राजनीतिक दर्शन केवल भाषण, नारा वा राजनीतिक अभ्यासले मात्र दीर्घकालीन रूपमा स्थापित हुन सक्दैन । त्यसलाई अध्ययन, अनुसन्धान, विमर्श र प्राज्ञिक बहसका माध्यमबाट निरन्तर परिष्कृत र समृद्ध बनाउँदै लैजानुपर्छ । यस्ता विचार र राष्ट्रिय अनुभवले अन्तर्राष्ट्रिय बहसमा स्थान पाउनका लागि त्यसको व्यवस्थित दस्तावेजीकरण, अनुसन्धान र विश्व समुदायले बुझ्ने भाषामा प्रस्तुतीकरण आवश्यक हुन्छ । यही आवश्यकतालाई महसुस गर्दै मदन भण्डारी फाउण्डेशनले अङ्ग्रेजी भाषामा यो अनुसन्धानमूलक जर्नल निरन्तर प्रकाशन गरिरहेको छ भन्ने मेरो विश्वास छ । यस जर्नलले नेपालको मौलिक चिन्तन र राजनीतिक अनुभवलाई विश्वव्यापी बौद्धिक समुदायसँग जोड्ने महत्त्वपूर्ण माध्यम उपलब्ध गराएको छ ।
आज विश्वले लोकतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय, आर्थिक असमानता, दिगो विकास, जलवायु परिवर्तनबाट उत्पन्न सङ्कट, प्रविधिको बढ्दो प्रभाव, विभिन्न मुलुकमा भइरहेका हिंसात्मक द्वन्द्वबाट उत्पन्न मानवीय सङ्कट तथा विश्व शक्ति सन्तुलनमा देखिएका नयाँ चुनौतीजस्ता जटिल समस्याहरूको सामना गरिरहेको छ । यस्ता विषयमा नेपालजस्ता मुलुकका अनुभव र वैकल्पिक दृष्टिकोण पनि अन्तर्राष्ट्रिय बहसको हिस्सा बन्न आवश्यक छ। यस जर्नलले त्यस्ता बहसलाई समृद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दछु।
आज विश्वविद्यालयहरू, अनुसन्धान संस्थाहरू, नीतिनिर्माता, विद्यार्थी तथा अन्तर्राष्ट्रिय विद्वानहरूबिच नेपालको राजनीतिक अनुभवप्रति रुचि बढ्दै गएको छ । यस्तो अवस्थामा यस प्रकारका जर्नलहरूले विश्वसनीय सन्दर्भ सामग्रीका रूपमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । यस जर्नलले नेपालको लोकतान्त्रिक अभ्यास, राजनीतिक रूपान्तरण र विकाससम्बन्धी बहसलाई अन्तर्राष्ट्रिय शैक्षिक तथा नीतिगत छलफलसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दछु ।
जननेता मदन भण्डारीले नेपाली समाजको यथार्थ र विशिष्टताका आधारमा विचार निर्माण गर्नुपर्ने तथा त्यसलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकतामा सधैँ जोड दिनुभएको थियो । उहाँको यही मौलिक चिन्तनलाई अध्ययन, अनुसन्धान र बौद्धिक विमर्शमार्फत निरन्तर अघि बढाउनु हामी सबैको साझा दायित्व हो । कुनै पनि विचारलाई समयानुकूल परिस्कृत गर्दै पुस्तान्तरण गर्ने सबैभन्दा प्रभावकारी माध्यम अध्ययन, अनुसन्धान र प्रकाशन नै हो ।
जर्नलको यस अङ्कमा प्रकाशित लेखहरूले जनताको बहुदलीय जनवाद (जबज)का सैद्धान्तिक, राजनीतिक, आर्थिक तथा समसामयिक आयामहरूको बहुआयामिक विश्लेषण प्रस्तुत गरेका छन् । डिजिटल युगमा जबजको सान्दर्भिकता, लोकतन्त्र, मानवअधिकार, समाजवाद, मार्क्सवादको समकालीन व्याख्या, विप्रेषण र विकास, परराष्ट्र नीति तथा बदलिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशमा जबजका अवसर र चुनौतीजस्ता विषयहरूमा केन्द्रित यी लेखहरूले जबजमाथि गम्भीर बौद्धिक विमर्शलाई थप समृद्ध बनाउने विश्वास लिइएको छु ।
अन्त्यमा, यस जर्नलको प्रकाशनमा संलग्न सम्पादक मण्डल, लेखकहरू, समीक्षकहरू, अनुसन्धानकर्ताहरू तथा मदन भण्डारी फाउण्डेशनका सम्पूर्ण पदाधिकारी एवं सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा पनि यस जर्नलले गुणस्तरीय अनुसन्धान, अन्तर्राष्ट्रिय संवाद र जनताको बहुदलीय जनवादसम्बन्धी गम्भीर बौद्धिक बहसलाई अझ समृद्ध बनाउँदै जाने विश्वास व्यक्त गर्दछु ।
चौथो अङ्कको सफल प्रकाशनका लागि पुनः हार्दिक बधाई तथा आगामी अङ्कहरूको निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८३ साउन ३ गते, आइतबार ।