विराटनगर, मोरङ ।

कार्यक्रमका आयोजक तथा स्ववियू ‍अध्यक्ष,

विराटनगर महानगरपालिका प्रमुख श्री नागेश कोइराला,

स्थानीय जनप्रतिनिधिहरू,

यस क्याम्पसका पूर्व विद्यार्थीहरू,

क्याम्पस प्रमुख,

प्राध्यापकहरू,

विद्यार्थीहरू,

सञ्चारकर्मीहरू,                                                    

उपस्थित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू ।

  • कोशी प्रदेशको राजधानी तथा औद्योगिक नगरी विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको यस कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु ।
  • पूर्वी नेपालमा शैक्षिक चेतना विस्तार एवं राजनीतिक जागरणमा अग्रणी भूमिका खेल्ने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी एवं स्वतन्त्र विद्यार्थी यूनियनको पूर्व पदाधिकारीको रूपमा आफूलाई पाउँदा गौरवको अनुभव भइरहेको छ ।
  • आज मलाई २०३८–४० सालतिर यस क्याम्पसमा अध्ययनरत रहँदा स्ववियूको पदाधिकारीको रूपमा काम गर्दाका उर्जाशील दिनहरूको स्मरण भइरहेको छ ।
  • मेरा विद्यार्थी जीवनका सहपाठीहरूको सम्झना आइरहेको छ । साथै, अहिले म यस क्याम्पसमा मलाई पढाउनु हुने गुरुहरूलाई सम्झिरहेको छु । म उहाँहरूप्रति सम्मान व्यक्त गर्दछु ।
  • मेरा राजनीतिक जीवनका सुरुआती दिनहरूमा निरङ्कुशताको अन्त्य र लोकतन्त्रको स्थापनाका  साथै सामाजिक न्याय र लैङ्गिक समानताको पक्षमा अविचलित रूपमा क्रियाशील रहन उत्प्रेरणा प्रदान गर्नुहुने अग्रज राजनीतिक व्यक्तित्वहरूप्रति पनि सम्मानभाव व्यक्त गर्दछु  ।
  • करिब पाँच वर्ष पहिले म राष्ट्रपति रहेको समयमा पनि आफूले अध्ययन गरेको यस क्याम्पसमा आयोजित एक कार्यक्रममा सहभागी हुन पाएको कुराको स्मरण भएको छ ।
  • त्रिभुवन विश्वविद्यालयभन्दा पहिले विराटनगरमा स्थापना भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको इतिहास गौरवपूर्ण रहेको छ ।
  • २०१२ साल साउन १६ गते ‘मोरङ इन्टरमिडियट कलेज’को नामबाट स्थापित यो क्याम्पस पूर्वी नेपालको प्रमुख शैक्षिक एवं प्राज्ञिक केन्द्रको रूपमा रहेको छ ।
  • पूर्व प्रधानमन्त्रीहरू मातृकाप्रसाद कोइराला, बीपी कोइराला, गिरिजा प्रसाद कोइराला र मनमोहन अधिकारी लगायत अग्रज नेताहरूको संरक्षकत्व प्राप्त गरेको यस क्याम्पसले मुलुकका लागि सक्षम राजनीतिक नेता, कुशल प्रशासक, दक्ष व्यवस्थापक र युवा वैज्ञानिकहरू उत्पादन गरी मुलुकको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।
  • मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा समेत यस क्याम्पसमा अध्ययन अध्यापन गर्ने शिक्षक र विद्यार्थीहरूको महत्वपूर्ण योगदान रहेको छ ।
  • यस अवसरमा, २०३८ साल मंसिर ९ गते प्रतिक्रियावादीहरूद्वारा मारिनुभएका यही क्याम्पसमा अध्ययनरत तत्कालिन विद्यार्थी नेता फणिन्द्र तिम्सिनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
  • मैले मेरो राजनीतिक जीवनमा राष्ट्र प्रमुखलगायत राष्ट्रको लागि विभिन्न जिम्मेवारीहरू निर्वाह गर्ने जुन अवसरहरू प्राप्त गरेकोछु, यसका निम्ति मलाई योग्य र सक्षम बनाउन यस क्याम्पसमा अध्ययन गरेको शैक्षिक पृष्ठभूमि, सोही समयमा निर्माण भएको मेरो राजनीतिक र सामाजिक सम्पर्क एवं सञ्जालको समेत विशेष योगदान रहेको छ । तसर्थ, व्यक्तिगत रूपमा समेत यस क्याम्पससँग मेरो निकट भावनात्मक सम्बन्ध रहेको छ ।
  • नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँग झण्डै सात दशक अगाडिदेखि जारी लोकतन्त्र र राजनीतिक अधिकार प्राप्तिका लागि  गरिने आन्दोलनको चरणलाई पार गरी आज हामी आर्थिक समृद्धितर्फको यात्रातर्फ उन्मुख रहेका छौँ ।
  • अबको हाम्रो मूल अभिष्ट र गन्तव्य भनेको जनताको जीवनस्तरमा सुधार गर्दै हाम्रो संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नु नै हो ।
  • यसका लागि हामीले मुलुकमा उपलब्ध प्राकृतिक स्रोत र साधनहरूको दिगो उपयोग गर्दै उद्योग र उद्यमशीलताको विकासमार्फत् स्वदेशी उत्पादन वृद्धि गर्नु पर्दछ । कृषिको आधुनिकीकरणसहित स्वदेशी उत्पादनको वृद्धिद्वारा आयात प्रतिस्थापन गरी चुलिँदो व्यापार घाटालाई न्यूनीकरण गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु पर्दछ । 
  • यी सबै प्रयोजनका निम्ति आवश्यक ज्ञान, सिप र व्यावस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रा शैक्षिक संस्थाहरूको विशेष ध्यान जानु पर्दछ ।
  • कोशी प्रदेशको प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा रहेको यस क्याम्पसले पनि यस जिम्मेवारीलाई गम्भिरताका साथ पूरा गर्नेछ भन्ने मलाई विश्वास रहेको छ ।
  • यसैगरी, यस क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनले पनि विद्यार्थीहरूको हक हित र कल्याणका अतिरिक्त क्याम्पसको संस्थागत विकास एवं शैक्षिक र प्राज्ञिक उन्नयनका लागि क्याम्पस प्रशासनसँग हातेमालो गर्दै रचनात्मक भूमिका खेल्दै आएकोछ भन्ने मैले विश्वास लिएको छु ।
  • अन्तमा, आज सम्मानित हुनु भएका ‘दोश्रो राष्ट्रिय डोरी तान प्रतियोगिता’का स्वर्ण पदक विजेता खेलाडीहरू तथा पुरस्कृत हुनु भएका वार्षिक खेलकुद कार्यक्रमका विजेताहरुलाई हार्दिक बधाई दिन चाहन्छु । साथै, यस क्याम्पसमा अध्ययन गर्न आउनुभएका नवागन्तुक विद्यार्थीहरूलाई पनि उहाँहरूको उज्ज्वल शैक्षिक भविष्यको कामना गर्दछु ।  

धन्यवाद ।

२०८० चैत्र  १६ गते, शुक्रबार ।