काठमाडौँ, नेपाल ।

कार्यक्रमका सभाध्यक्ष,

उपस्थित हुनुभएका कमरेडहरू,

पुस्तक सम्पादन मण्डलका सदस्यहरू,

सहभागी युवाहरू,

सञ्चारकर्मीहरू,

उपस्थित दिदिबहिनी तथा दाजुभाइहरू ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित “मिडियामा मदन भण्डारी : पुस्तक विमर्श तथा युवा बहस कार्यक्रम”मा सहभागी हुन पाउँदा म अत्यन्त हर्षित छु । तत्कालीन समयमा विभिन्न समसामयिक विषयहरूमा आमसञ्चार माध्यममार्फत सार्वजनिक भएका जननेता मदन भण्डारीका विचार, दृष्टिकोण तथा विश्लेषणहरू समेटिएको यस महत्वपूर्ण दस्तावेजमाथि युवा पुस्ताको दृष्टिबाट विचार–विमर्श गरिने यस कार्यक्रममा सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा म आयोजकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

आज हामीले विमर्श गरिरहेको “मिडियामा मदन भण्डारी” केवल एउटा पुस्तक मात्र होइन; यो नेपालको लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको विकासक्रम र वैचारिक रूपान्तरणलाई उजागर गर्ने एक महत्त्वपूर्ण दस्तावेज हो । यसले एक नेताले आफ्नो समयका चुनौतीहरूलाई कसरी आत्मसात् गर्नुभयो, तिनको कसरी विश्लेषण र व्याख्या गर्नुभयो तथा तिनको समाधानका उपायहरू जनतासमक्ष कसरी प्रस्तुत गर्नुभयो भन्ने कुराको जीवन्त अभिलेख प्रदान गर्दछ ।

जननेता मदन भण्डारी सामान्य राजनीतिक नेता मात्र नभई विचार निर्माण गर्ने नेता हुनुहुन्थ्यो । उहाँ राजनीतिक आन्दोलनलाई सुदृढ सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक एवं विचारक हुनुहुन्थ्यो । जनताको आकाङ्क्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता हुनुहुन्थ्यो । साथै, उहाँ सञ्चारको शक्ति, जनमतको महत्व तथा विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री राजनीतिज्ञका रूपमा सुपरिचित हुनुहुन्थ्यो ।

यस पुस्तकको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने, यसले मदन भण्डारीका विचारहरूलाई दोस्रो व्यक्तिको व्याख्या मार्फत होइन, उहाँको आफ्नै अभिव्यक्ति, अन्तर्वार्ता, संवाद र पत्रकार सम्मेलनमार्फत प्रस्तुत गरेको छ । यस अर्थमा, यो पुस्तक विचारको महत्वपूर्ण स्रोत पनि हो । तसर्थ, इतिहासका विद्यार्थी, राजनीतिक कार्यकर्ता, पत्रकार तथा अनुसन्धानकर्ताका लागि यो पुस्तक गहकिलो सन्दर्भ सामग्रीको रूपमा रहेको छ भन्ने मैले ठानेको छु ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि नेपाल नयाँ राजनीतिक युगमा प्रवेश गरिरहेको थियो । निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भइसकेको थियो, तर नयाँ लोकतान्त्रिक व्यवस्थाको स्वरूप, संविधानको चरित्र, राज्यको संरचना तथा राजनीतिक शक्तिहरूको भूमिकासम्बन्धी बहस जारी थियो । त्यही संक्रमणकालीन परिवेशमा मदन भण्डारीले पत्रकारहरूसँग गरेका संवादहरू आज पनि अत्यन्तै सान्दर्भिक देखिन्छन् ।

पुस्तकले जननेताको अर्को विशिष्ट पक्षलाई पनि उजागर गरेको छ, त्यो हो, उहाँको असाधारण सञ्चार क्षमता । राजनीति केवल विचार निर्माणको विषय मात्र होइन, विचारलाई जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउने कला पनि हो । मदन भण्डारी यस कलामा अत्यन्तै दक्ष हुनुहुन्थ्यो ।

पत्रकारहरूले सोधेका कठिन, संवेदनशील तथा विवादास्पद प्रश्नहरूको जवाफ उहाँले संयमता, तार्किकता र आत्मविश्वासका साथ दिनुभएको छ । उहाँको शैली आक्रामक नभई दृढ र सन्तुलित थियो । उहाँको अभिव्यक्तिमा जटिल सिद्धान्तहरूलाई समेत सरल र सहज भाषामा प्रस्तुत गर्ने क्षमता झल्किन्थ्यो । उहाँले सञ्चारमाध्यमलाई आलोचक वा प्रश्नकर्ताको रूपमा होइन, बरु जनमत निर्माण, सार्वजनिक बहसको प्रवर्द्धन तथा जनतासँग निरन्तर संवाद कायम गर्ने महत्वपूर्ण माध्यम र लोकतान्त्रिक प्रक्रियाको अभिन्न साझेदारका रूपमा हेर्नुभयो ।

आज सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र द्रुत सूचना प्रवाहको युगमा सञ्चारको स्वरूप परिवर्तन भएको छ । तर माध्यम जुनसुकै भएता पनि सत्य, तर्क, शालीनता र वैचारिक स्पष्टताको महत्व अझ पनि उत्तिकै रहेको छ । यस अर्थमा “मिडियामा मदन भण्डारी” वर्तमान पुस्ताका राजनीतिज्ञ, पत्रकार र सञ्चारकर्मीका लागि पनि एउटा महत्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्दछ ।

सूचना तथा सञ्चार प्रविधिमा आएको अभूतपूर्व परिवर्तनको यस युगमा म युवा पुस्तासमक्ष विशेष अनुरोध गर्न चाहन्छु कि, हामीले आफ्ना विचार, दृष्टिकोण र कार्यक्रमहरूलाई प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउन नवीन सूचना तथा सञ्चार प्रविधिका साधनहरूको अधिकतम उपयोग गर्नुपर्छ । साथै, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधुनिक विज्ञान र प्रविधिका उपलब्धिहरूलाई सकारात्मक र सिर्जनात्मक रूपमा आत्मसात् गर्दै त्यसको उपयोगमा दक्षता हासिल गर्नु आजको पुस्ताको महत्वपूर्ण दायित्व हो ।

यो पुस्तकले हामीलाई विगतका घटनाक्रम र विचारहरूको स्मरण गराउने मात्र होइन, भविष्यको दिशा पहिचान गर्न आवश्यक वैचारिक आधार पनि प्रदान गर्दछ । आज विश्व समुदाय र नेपाल दुवै जटिल तथा बहुआयामिक चुनौतीहरूको सामना गरिरहेका छन् । लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सार्वजनिक उत्तरदायित्व र जवाफदेहिता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू पुनः राष्ट्रिय बहसका प्रमुख विषय बनेका छन् । यस्तो अवस्थामा जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समयानुकूल तिनको थप विकास र प्रयोग गर्नु पनि युवा पुस्ताको महत्वपूर्ण दायित्व हुन आउँछ ।

लामो समय भूमिगत राजनीतिमा सक्रिय रहनुभएका जननेता मदन भण्डारीको खुला राजनीतिक जीवन अपेक्षाकृत छोटो रहे पनि उहाँले छोड्नुभएको वैचारिक प्रभाव र राजनीतिक योगदान दीर्घकालीन तथा प्रभावशाली रहिआएको छ । उहाँले देखाउनु भएको बाटो, स्थापित गर्नुभएको वैचारिक आधार तथा लोकतान्त्रिक संस्कृतिप्रतिको अटल प्रतिबद्धता नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पत्तिका रूपमा रहेका छन् ।

“मिडियामा मदन भण्डारी” पुस्तकको प्रकाशन र यसमाथिको युवा केन्द्रित विमर्शले जननेताको विचारलाई नयाँ पुस्तासम्म पुर्‍याउने, इतिहासलाई अभिलेखीकरण गर्ने तथा लोकतान्त्रिक बहसलाई समृद्ध बनाउने महत्वपूर्ण कार्य गरेको छ भन्ने मलाई लागेको छ ।

अन्त्यमा, आजको यस महत्वपूर्ण कार्यक्रमको आयोजना तथा व्यवस्थापनका लागि जननेता मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिप्रति हार्दिक आभार प्रकट गर्दछु । साथै, पुस्तकमाथिको विमर्शलाई सार्थक र जीवन्त बनाउने उत्साही युवा सहभागीहरू तथा यस महत्वपूर्ण कृतिका प्रकाशक मदन भण्डारी फाउण्डेशनप्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

धन्यवाद ।

२०८३ जेठ ९ गते, शनिबार ।