मदननगर, बल्खु, काठमाडौँ ।

३३औँ मदन–आश्रित स्मृति दिवस समारोहका अध्यक्ष,

पार्टीका नेता तथा कार्यकर्ताहरू,

सञ्चारकर्मीहरू,

दिदिबहिनी तथा दाजुभाइहरू ।

३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनका दूरदर्शी नेता, जनताको बहुदलीय जनवाद (जबज)का प्रवर्तक जननेता मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रितप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँहरूको स्मृति नेपाली राजनीति, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सदैव सम्मानका साथ जीवित रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई केवल संगठनात्मक उचाइमा मात्र होइन, वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्‍याउनुभएको थियो । उहाँहरूले राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय हो, जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई अझ गहिरोसँग स्थापित गर्नुभयो । आज हामीले गौरवका साथ स्मरण गर्ने नेकपा (एमाले)ले मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गरेको “जनताको बहुदलीय जनवाद” नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो । यसलाई हामीले नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगको रूपमा आत्मसात गरेका छौँ । यसले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

जबजको मूल मर्म भनेको जनताको मत, जनताको अधिकार र जनतामाथिको अटुट विश्वास हो । बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक अभ्यास, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउने यसको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ ।

यसैगरी, जीवराज आश्रितले पार्टी संगठन निर्माण, कार्यकर्ता प्रशिक्षण, अनुशासन र वैचारिक प्रतिबद्धताको विकासमा पुर्‍याउनुभएको योगदान अत्यन्त महत्वपूर्ण छ । उहाँहरूको यही समर्पण, सादगीपन, संगठनप्रतिको निष्ठा र जनतासँगको सम्बन्ध राजनीतिक कार्यकर्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछन् ।

विगतका उपलब्धिहरूसँगै वर्तमानका चुनौतीहरूप्रति पनि हामी गम्भीर हुन आवश्यक छ । सिद्धान्त र व्यवहारबीच देखिएका असन्तुलनका कारण  समाजमा प्रश्नहरू उठ्ने गरेका छन् । जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो । यदि पार्टी र जनताबीच दूरी बढ्छ भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ । त्यसैले हामीले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ । राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढङ्गले क्रियाशील हुनै पर्दछ । आज मदन–आश्रितको स्मृतिको अवसरमा हामीले आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न प्रेरणा लिनु पर्छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्छ । कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्छ, जनताको दुःख–सुखमा सहभागी हुनुपर्छ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हुनुपर्छ ।

म विशेष रूपमा युवापुस्ताप्रति केही कुरा भन्न चाहन्छु । युवा शक्ति राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना हो । शिक्षा, प्रविधि, उद्यमशीलता, उत्पादन र नवप्रवर्तनसँग युवालाई प्रभावकारी रूपमा जोड्न सकियो भने नेपालले विकास, रोजगारी र समृद्धिको नयाँ ढोका खोल्न सक्छ । त्यसैले युवामा आशा, आत्मविश्वास र स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नु आजको प्रमुख आवश्यकता हो । त्यसैले अब हाम्र क्रियाकलापहरूलाई युवा पुस्तामा केन्द्रित गरिनु आवश्यक छ ।

जननेता मदन भण्डारी र जीवराज आश्रितले देख्नुभएको समतामूलक, समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी छ । उहाँहरूप्रति सच्चा श्रद्धाञ्जली भनेको उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्नु हो । त्यसैले, यो स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा होइन वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिन म सबैमा आग्रह गर्दछु । जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि हामी सबै एकताबद्ध भएर अघि बढौं ।

अन्त्यमा, जननेता मदन भण्डारी र जीवराज आश्रितप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको विचार र आदर्शले राष्ट्रलाई सही दिशातर्फ डो¥याइरहोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०८३ जेठ ३ गते आइतबार