नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौं  ।

कार्यक्रमका सभाध्यक्ष,

कानुन शताब्दीपुरूष– कृष्णप्रसाद भण्डारी,

विद्वत्‌जन, प्राज्ञ एवं इतिहासप्रेमी महानुभावहरू,

ज्ञानमणि नेपालका परिवारका सदस्यहरू,

सञ्चारकर्मीहरू,

दिदीबहिनी तथा दाजुभाइहरू  ।

आज नेपाली इतिहास, भाषा, संस्कृति र बौद्धिक परम्पराका एक विशिष्ट साधक इतिहासकार ज्ञानमणि नेपालको स्मृतिमा प्रकाशित “इतिहास पुरुष: ज्ञानमणि नेपाल स्मृतिग्रन्थ”को लोकार्पण समारोहमा उपस्थित हुन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । यस महत्वपूर्ण अवसरका लागि वैयाकरण नेपाल स्मृति प्रतिष्ठान परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

स्मृति दिवसको अवसरमा नेपाली साहित्यका माध्यमिककालीन कवि वैयाकरण नेपालको नाममा, उहाँका नाति इतिहासविद् ज्ञानमणि नेपालको अध्यक्षता तथा संरक्षकत्वमा स्थापित संस्था ‘वैयाकरण नेपाल स्मृति प्रतिष्ठान’द्वारा यो स्मृतिग्रन्थ प्रकाशन गरिएकोमा प्रतिष्ठानप्रति हार्दिक बधाई व्यक्त गर्दछु ।

भोजपुरको गौरवशाली भूमिमा जन्मिनुभएका ज्ञानमणि नेपाल नेपाली इतिहास–अनुसन्धानका क्षेत्रमा राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित एक निष्ठावान् प्राज्ञ हुनुहुन्थ्यो । इतिहासको अन्वेषण, अनुसन्धान, लेखन र प्रकाशनका अतिरिक्त नेपाली संस्कृति तथा भाषा–साहित्यका क्षेत्रमा पनि लेखन, सम्पादन र समीक्षामार्फत उहाँले राष्ट्रलाई पुर्‍याउनुभएको योगदान विशेष र महत्त्वपूर्ण रहेको छ ।

ज्ञानमणि नेपाल नेपाली इतिहास अनुसन्धानको क्षेत्रमा अत्यन्त सम्मानित र विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले जीवनभर सत्य, प्रमाण र मौलिक अनुसन्धानलाई आफ्नो अध्ययनको आधार बनाउनुभयो । नेपाली इतिहासलाई किंवदन्ती, अनुमान र पूर्वाग्रहबाट मुक्त गरी अभिलेख, शिलालेख, ताम्रपत्र, वंशावली तथा पुरातात्त्विक स्रोतका आधारमा व्याख्या गर्ने परम्परालाई उहाँले सशक्त रूपमा अगाडि बढाउनुभयो । यही कारण उहाँलाई नेपाली इतिहासका निर्भीक तथा प्रमाणमुखी इतिहासकारका रूपमा सम्मान गरिन्छ ।

ज्ञानमणि नेपाल केवल इतिहासकार मात्र होइन, राष्ट्रिय चेतनाका संवाहक पनि हुनुहुन्थ्यो । उहाँले नेपाली समाजलाई आफ्नो मौलिक इतिहास, संस्कृति र सभ्यताप्रति सचेत गराउने महत्त्वपूर्ण कार्य गर्नुभयो । इतिहास केवल विगतको कथा नभई राष्ट्रको पहिचान, आत्मसम्मान र भविष्य निर्माणको आधार हो भन्ने दृष्टिकोण उहाँका लेखन र अनुसन्धानमा स्पष्ट देखिन्छ ।

उहाँ प्रसिद्ध विद्वान् नयराज पन्तको गुरुकुलीय परम्पराबाट दीक्षित हुनुहुन्थ्यो । नयराज पन्तले स्थापना गर्नुभएको अनुसन्धानमुखी बौद्धिक परम्परालाई उहाँले अत्यन्त निष्ठाका साथ अगाडि बढाउनुभयो । प्रमाणमा आधारित इतिहास लेखन, सत्यप्रतिको प्रतिबद्धता तथा अनुसन्धानशील दृष्टिकोण उहाँका जीवनका मूल विशेषता थिए ।

उहाँका नेपाल निरुक्त, नेपाल निरुपण, नेपालको माध्यमिक कालको इतिहास, नेपाल र चीन–तिब्बत सम्बन्ध: समीक्षात्मक इतिहास लगायतका कृतिहरू नेपाली इतिहास अध्ययनका महत्वपूर्ण आधारग्रन्थ बनेका छन् । विशेष गरी “नेपाल” शब्दको उत्पत्तिका साथै भीमसेन थापा र जङ्गबहादुर राणाको भूमिकाको बारेमा उहाँले प्रस्तुत गर्नुभएको अनुसन्धानमूलक दृष्टिकोणले नेपाली इतिहास अध्ययनमा नयाँ बहस र चिन्तनको ढोका खोलेको छ ।

इतिहासकार ज्ञानमणि नेपालले सत्यलाई निर्भीकतापूर्वक प्रस्तुत गर्नुभएको थियो । स्थापित मान्यतासँग असहमति भए पनि प्रमाणले पुष्टि गरेका विषयमा उहाँ कहिल्यै डगमगाउनुभएन । यही बौद्धिक साहस र निष्ठाले उहाँलाई विशिष्ट इतिहास पुरुषका रूपमा स्थापित गरेको हो ।

आजको विश्वमा आफ्नो इतिहास, भाषा, संस्कृति र सभ्यतालाई जोगाउन सक्ने राष्ट्र मात्र आत्मविश्वासी र सबल बन्न सक्छ । त्यसैले आजीवन नेपालको इतिहास अन्वेषणमा समर्पित ज्ञानमणि नेपालजस्ता विद्वान्‌हरूको योगदानलाई आमजनता र नयाँ पुस्तासम्म पुर्‍याउनु हामी सबैको साझा दायित्व हो । इतिहासप्रतिको रुचि, अनुसन्धानशीलता र राष्ट्रिय चेतनालाई सुदृढ बनाउन यस्ता स्मृतिग्रन्थहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास मैले लिएको छु ।

यस अवसरमा, म दिवंगत इतिहास अन्वेषक ज्ञानमणि नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँका कृति, विचार र अनुसन्धानहरूले नेपाली इतिहास अध्ययन र अनुसन्धानको क्षेत्रमा दीर्घकालसम्म मार्गदर्शन गरिरहनेछन् भन्ने विश्वास व्यक्त गर्दछु ।

अन्त्यमा, “इतिहास पुरुष: ज्ञानमणि नेपाल स्मृतिग्रन्थ” प्रकाशन तथा आजको यस कार्यक्रमको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०८३ साल जेठ १ गते, शुक्रबार