कार्यक्रमका सभाध्यक्ष,

विष्णुमाया पुस्तकालयका पदाधिकारीहरू,

कमल कोइरालाज्यूका परिवारजन,

विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू,

सञ्चारकर्मीहरू,

उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।

वरिष्ठ वामपन्थी नेता, अग्रज लेखक तथा पूर्वराजदूत कमल कोइरालाको स्मृतिमा प्रकाशित “कमल कोइराला स्मृतिग्रन्थ, २०८२” को लोकार्पण कार्यक्रममा सहभागी भई उहाँका बारेमा आफ्ना केही विचार राख्ने अवसर प्रदान गर्नु भएकोमा म विष्णुमाया पुस्तकालय, विराटनगरलाई धन्यवाद दिन चाहन्छु ।

समाज र राष्ट्रका लागि उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूको स्मृतिमा पुस्तक प्रकाशनका साथै विचार–विमर्श कार्यक्रमहरू आयोजना हुनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य पक्ष हो । यस अवसरमा म दिवंगत कमल कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।

कमल कोइराला नेपाली राजनीतिक वृत्तका एक बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको परिवारका प्रायः सबै अग्रजहरू फरक राजनीतिक धारको अग्रस्थानमा रही राजनीतिक गतिविधिमा सक्रिय रहँदा पनि उहाँले आफ्नै वैचारिक मार्ग रोज्नुभयो । कम्युनिष्ट विचारधारालाई आत्मसात गर्दै उहाँले जीवनपर्यन्त राष्ट्रियता, सार्वभौमिकता, सामाजिक न्याय र समानताको पक्षमा दृढतापूर्वक उभिएर कलम चलाउनुभयो र संघर्षको कठीन बाटो अँगाल्नुभयो ।

कमल कोइरालाको जीवनशैली अत्यन्त सरल, सादगीपूर्ण र मिलनसार थियो । पद, प्रतिष्ठा वा विलासिताभन्दा टाढा रही उहाँले आफ्नो सम्पूर्ण जीवन लेखन र राजनीतिक अभियानका माध्यमबाट राष्ट्र र जनताको सेवामा समर्पित गर्नुभयो । उहाँको यही संघर्षशील र सादगीपूर्ण जीवनशैली सबैका लागि प्रेरणाको स्रोत बनेको छ र सधैं बनिरहनेछ ।

आफ्नो राजनीतिक यात्राका क्रममा उहाँ नेपाली कम्युनिस्ट आन्दोलनसँग सक्रिय रूपमा जोडिनुभयो । पदमा हुँदा होस् वा नहुँदा, उहाँले आफूलाई सधैं एक कम्युनिस्ट योद्धाका रूपमा स्थापित गर्दै अरूलाई पनि आफ्नो कर्तव्यपथमा अग्रसर हुन निरन्तर प्रेरित गरिरहनुभयो । यस क्रममा उहाँ नेकपा (एमाले) को तर्फबाट संसदीय राजनीतिमा समेत सहभागी हुनुभयो । वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनमा उहाँ मोरङ जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो ।

राजनीतिसँगै उहाँ एक सक्षम लेखक, पत्रकार तथा विचारक पनि हुनुहुन्थ्यो । जीवनभर अध्ययन, पत्रपत्रिकामा नियमित स्तम्भ लेखन तथा सामाजिक बहसमा सक्रिय रहनु उहाँको बौद्धिक व्यक्तित्वको द्योतक हो । त्यसैगरी, उहाँले कूटनीतिक क्षेत्रमा समेत योगदान दिँदै दक्षिण कोरियाका लागि राजदूतको रूपमा देशको प्रतिनिधित्व गर्नुभयो । नेपाल र कोरिया बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

समग्रमा भन्नुपर्दा, गैरवामपन्थी राजनीतिक धारको नेतृत्व गर्ने परिवारमा जन्मिएर वामपन्थी विचारधारा अँगाल्दै वकिल, लेखक, पत्रकार र कूटनीतिज्ञका रूपमा बहुआयामिक योगदान पुर्‍याउनु भएका कमल कोइराला एक विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो ।

उमेरले मभन्दा निकै अग्रज भए तापनि उहाँमा रहेको सक्रियता, ऊर्जाशील व्यक्तित्व र संघर्षको अग्रमोर्चामा उभिने प्रवृत्ति मोरङ जिल्लामा भएका विभिन्न आन्दोलनका क्रममा मैले देखेको छु र त्यो अनुभव मेरो स्मृतिमा अहिले पनि ताजै छ ।

आज प्रकाशित यो स्मृतिग्रन्थ उहाँका विचार, संघर्ष र योगदानलाई दस्तावेजीकरण गर्ने एक महत्वपूर्ण प्रयास हो । यस्ता कृतिहरूले केवल इतिहासलाई सुरक्षित राख्दैनन्, नयाँ पुस्तालाई प्रेरणा दिने कार्य पनि गर्दछन् भन्ने मेरो विश्वास छ ।

अन्त्यमा, यस महत्वपूर्ण प्रकाशन कार्यका लागि विष्णुमाया पुस्तकालयप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै, पुस्तकालयले भविष्यमा पनि यस्ता सत्कर्महरू निरन्तर रूपमा अगाडि बढाउँदै जाओस् भन्ने कामना सहित यसको उत्तरोत्तर प्रगतिको शुभेच्छा व्यक्त गर्दछु ।

धन्यवाद ।

२०८२ चैत १९ गते, काठमाडौँ ।