सम्मानीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले कल्प इम्पावर विमेन नेपालद्वारा आयोजित ‘शी लिड्स आइकन’ दोस्रो संस्करण अन्तरगत ‘अवार्ड तथा महिला जनप्रतिनिधिहरूको उत्सव २०८२’ मा गर्नुभएको सम्बोधन

अनुपम फुडल्याण्ड, बत्तिसपुतली, काठमाडौँ ।
आयोजक संस्था कल्प इम्पावर विमेन नेपालका अध्यक्ष,
विशिष्ट अतिथिहरू,
विभिन्न तहका महिला जनप्रतिनिधिहरू,
सञ्चारकर्मीहरू,
दिदीबहिनी तथा दाजुभाइहरू ।
कल्प इम्पावर विमेन नेपालद्वारा आयोजित ‘शी लिड्स आइकन’ दोस्रो संस्करणअन्तर्गत ‘अवार्ड तथा महिला जनप्रतिनिधिहरूको उत्सव–२०८२’ मा सहभागी भई यहाँहरू सबैसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएकोमा मलाई ज्यादै खुसी लागेको छ । यस महत्वपूर्ण कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा दिएकोमा म आयोजक संस्थाप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ।
जागरुक एवं उत्साही युवा महिलाहरूको पहलमा स्थापित ‘कल्प इम्पावर विमेन नेपाल’ले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूको योगदान, नेतृत्व क्षमता र उपलब्धिलाई उजागर गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिरहेको तथ्य अत्यन्त प्रशंसनीय छ । यस्ता प्रयासहरूले राजनीतिमा रुचि राख्ने अन्य महिलाहरूलाई समेत सक्रिय सहभागिताको लागि प्रेरणा प्रदान गर्दछन् भन्ने कुरामा म विश्वस्त छु । साथै, यस संस्थाले महिला स्वास्थ्य—विशेषगरी सर्भाइकल क्यान्सरसम्बन्धी सचेतना र महिला उद्यमशीलताको प्रवर्द्धनमा पुर्याउँदै आएको योगदान समेत उल्लेखनीय छ ।
हामी सबैलाई थाहा छ, लोकतान्त्रिक शासनव्यवस्थाको आधारभूत र जनसम्पर्कमा सबैभन्दा नजिक रहेको तह स्थानीय सरकार हो । यही तहबाट नागरिकको दैनन्दिन जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने निर्णयहरू गरिन्छन्, सेवा प्रदान गरिन्छ र विकासका गतिविधिहरू अघि बढाइन्छ । त्यसैले, स्थानीय तहका जनप्रतिनिधिहरू भनेका केवल निर्वाचित प्रतिनिधि मात्र होइन, स्थानीय शासनको मूल स्तम्भ एवं जनताको भरोसाको केन्द्र हुनुहुन्छ ।
नेपालको संविधानले राज्यका सबै तहमा कम्तीमा एक-तिहाइ महिला सहभागिता सुनिश्चित गरेपछि नेपालको राजनीतिक क्षेत्रमा महिलाको प्रवेश र नेतृत्व अभूतपूर्व रूपमा विस्तार भएको छ । एक समय सामाजिक मान्यता र परम्परागत भूमिकाका कारण घरभित्र सीमित रहन बाध्य नेपाली महिला आज नीति–निर्माणको अग्रभूमिमा उभिन सफल भएका छन् । यो परिवर्तन नेपालले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको महत्वपूर्ण उपलब्धि हो ।
हामी गर्वका साथ भन्न सक्छौँ—नेपालले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशदेखि प्रदेश प्रमुख, मुख्यमन्त्री र स्थानीय तहका प्रमुख–उपप्रमुखसम्म महिलाको नेतृत्व देखेको छ । महिलालाई अवसर दिइएपछि उनीहरूले कुनै पनि जिम्मेवारी अत्यन्त सफलतापूर्वक निर्वाह गर्न सक्ने कुरा यी उपलब्धिहरूले प्रमाणित गरिदिएका छन् ।
समावेशी लोकतन्त्रमा राज्यका निकायहरूमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनु यात्रा मात्र हो, गन्तव्य होइन। अब समावेशीताको यस यात्रालाई अझ अघि बढाउने जिम्मेवारी हामी सबैको सामूहिक दायित्व बनेको छ । हाम्रो मूल लक्ष्य भनेको—सक्रिय, परिणाममुखी र जनमुखी नेतृत्वको विकास गर्नु हो ।
यस सन्दर्भमा, म यहाँ केही अपेक्षाहरू राख्न चाहन्छु—
पहिलो, महिला जनप्रतिनिधिको भूमिका कुनै एक विषयमा सीमित हुन हुँदैन । महिला नेतृहरू केवल महिला अधिकार वा लैङ्गिक मुद्दामा मात्र केन्द्रित हुनुपर्ने पुरानो सोच तोडिनुपर्छ । स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, आर्थिक विकास, वातावरण व्यवस्थापनदेखि विपद् तयारीसम्म—हरेक क्षेत्रमा महिलाको नेतृत्व समान रूपले सक्षम र प्रभावकारी हुनुपर्दछ ।
दोस्रो, स्थानीय तहको सेवा नागरिकले प्रत्यक्ष अनुभव गर्ने क्षेत्र हो । त्यसैले पारदर्शिता, समयमै सेवा, न्यायपूर्ण निर्णय र सुशासन—यी कुरामा सबैले विशेष ध्यान दिनुपर्छ । नेतृत्वप्रति जनताको विश्वास यिनै आधारमा निर्माण हुन्छ ।
तेस्रो, समुदायसँग निरन्तर संवाद नेतृत्वको केन्द्रबिन्दु हो । योजनाहरू केवल कागजी रूपमा होइन, जनताको वास्तविक आवश्यकता र सक्रिय सहभागितामा बन्नुपर्छ । विशेषगरी विपन्न, सीमान्तकृत समूह, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका र युवाको आवाज योजनामा समेटिनु अत्यन्त आवश्यक छ ।
चौथो, महिला जनप्रतिनिधिहरूबिच सहकार्य र निरन्तर क्षमता अभिवृद्धि अनिवार्य छ । नीति–ज्ञान, बजेट व्यवस्थापन, प्राविधिक सीप, सूचना प्रविधिको प्रयोग, यी सबै क्षेत्रमा परस्पर सिकाइ र सामूहिक प्रयासले नेतृत्वलाई अझ सशक्त बनाउँछ ।
पाँचौँ, स्थानीय तहले सामाजिक तथा आर्थिक विकासका कार्यक्रमहरू सञ्चालन गर्दा निजी क्षेत्र, नागरिक समाज, सामुदायिक संस्था, युवा समूह र स्थानीय उद्यमीहरूसँग समन्वय र साझेदारी आवश्यक हुन्छ ।
निजी क्षेत्रको दक्षता र लगानी, नागरिक समाजको पहूँच र समुदायसँगको सम्बन्ध तथा स्थानीय सरकारको अधिकार र जिम्मेवारी, यी तीनै पक्ष मिलेर काम गरे मात्र दिगो विकास सम्भव हुन्छ । यस प्रकारको सहकार्यले विकासका कार्यक्रमहरू छिटो, प्रभावकारी र दिगो बन्छन् ।
केही समय पहिले ‘जेनेरशन जेड’ पुस्ताले सुशासनको प्रबन्ध र भ्रष्टाचारको निवारणको माग राखी गरेको आन्दोलनपछि मुलुक आज नयाँ राजनीतिक परिवेशमा प्रवेश गरेको छ । अन्तरिम सरकार गठन भइकन नयाँ जनादेशका लागि आगामी फागुन २१ गते आम निर्वाचन गर्ने कार्यतालिका समेत सार्वजनिक भइसकेको छ । तसर्थ, चुनावलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित तवरले सम्पन्न गर्ने वातावरण बनाउन सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट सक्रिय बन्न म हार्दिक आह्वान गर्दछु । निष्पक्ष चुनावले नै समाजका सबै नागरिकको भावनालाई प्रतिविम्वत गर्ने भएकाले यसको भव्य सफलताको लागि सम्बद्ध सबै रचनात्मक ढङ्गले सक्रिय बन्नु पर्दछ ।
अन्त्यमा, ‘शी लिड्स आइकन–२०८२’ अन्तर्गत आज सम्मानित हुनुभएका सबै महिला जनप्रतिनिधिहरूलाई म हार्दिक बधाई दिन चाहन्छु । तपाईंहरूको उपलब्धि केवल व्यक्तिगत सफलता होइन, स्थानीय तहमा महिला नेतृत्वको पहिचान समेत हो । यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा म कल्प इम्पावर विमेन नेपाललाई पुन: धन्यवाद दिन चाहन्छु ।
सबैलाई धन्यवाद ।