सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले भक्तपुर विकास सहयोग संघको ३०औँ वार्षिक साधारण सभा एवं खोपृङ पत्रिकाको लोकार्पण कार्यक्रममा गर्नुभएको सम्बोधन

बुद्धनगर, काठमाडौँ ।
कार्यक्रमका सभाध्यक्ष,
वागमती प्रदेशका माननीय मन्त्री,
भक्तपुर विकास सहयोग संघका पदाधिकारीहरू,
उपस्थित प्रवुद्ध व्यक्तित्वहरू,
सञ्चारकर्मीहरू,
दिदीबहिनी तथा दाजुभाइहरू ।
नेपालको सुप्रसिद्ध धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सहर भक्तपुरको सम्पदा र संस्कृतिको संरक्षण, संवर्द्धनका साथै सामाजिक विकासका लागि क्रियाशील संस्था ‘भक्तपुर विकास सहयोग संघ’को ३०औँ साधारणसभाको सन्दर्भमा आयोजित यस कार्यक्रममा सहभागी हुने सुअवसर प्रदान गर्नुभएकोमा म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु । साथै, यस संस्थाको मुखपत्र ‘खोपृङ’ पत्रिकाको २६औँ अङ्क प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै प्रकाशन सफलताको कामना गर्दछु ।
काठमाडौं उपत्यकाका मल्लकालीन तीन ऐतिहासिक नगरहरूमध्ये संरक्षित सांस्कृतिक सम्पदा, शताब्दीऔँ पुराना उत्कृष्ट वास्तुकलाका साथै जीवन्त सामाजिक–सांस्कृतिक परम्पराहरू, अनुष्ठानहरू, वर्षैभरि मनाइने जात्रा र पर्वहरू आदिका कारण भक्तपुरलाई "जीवित संग्रहालय" का रूपमा समेत चिनिन्छ । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर सहरमा आजपर्यन्त जोगाएर राखिएका साँघुरा ढुङ्गाका गल्लीहरू, अत्यन्त सुन्दर र जटिल काष्ठकलाले सजिएका मन्दिरहरू, दरबार परिसर र चोकहरूले हाम्रो पुरानो तर समृद्ध सभ्यताको परिचय दिन्छन् ।
भक्तपुर सहर र यस वरपर रहेका नेपालको प्राचीनतम चाँगुनारायण मन्दिर, विश्व प्रसिद्ध ५५ झ्याले दरबार, सुनको ढोका, दत्तात्रय मन्दिर, न्यातपोल (पाँचतले) मन्दिर, लगायत हाम्रा पुर्खाको पौरखबाट सिर्जित अनगिन्ती सम्पदाका साथै कला, साहित्य, संस्कृति, शिक्षा, व्यापार–व्यवसाय र रहनसहनको हिसाबले भक्तपुर उन्नत सभ्यताको केन्द्रका रूपमा रहेको छ । यहाँका विद्वान, कलाप्रेमी, वास्तुकलाप्रेमी र काव्य मर्मज्ञ पूर्वजहरूकै कारण आज भक्तपुर कला–कृति र संस्कृतिको सहरको रूपमा स्थापित भएको छ ।
पूर्खाले हाम्रा लागि नासोको रूपमा छाडिदिएका ती सम्पदाहरूको संरक्षण र सम्बर्द्धन गर्नुका साथै भावी पुस्तालाई अक्षुण्ण रूपमा हस्तान्तरण गर्नु आज हाम्रो जिम्मेवारी रहेको छ । यो गहन जिम्मेवारी राज्य, सरकार, समुदाय र सम्पूर्ण नागरिकको काँधमा रहेको छ ।
यही सामुदायिक एवं नागरिक जिम्मेवारीलाई आत्मसात गरेर भक्तपुरका प्रवुद्ध व्यक्तित्वहरूद्वारा स्थापित एवं सञ्चालित भक्तपुर विकास सहयोग संघले सम्पदा संरक्षणका अतिरिक्त स्वास्थ्य, शिक्षा, संस्कृति, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा समेत रचनात्मक क्रियाकलापहरू सञ्चालन गरिरहेको थाहा पाउँदा मलाई खुसी लागेको छ ।
भक्तपुरमा रहेका मूर्त तथा अमूर्त सम्पदाहरूको अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक, संस्कृतिप्रेमी र अनुसन्धानकर्ताहरूको एउटा महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । यसबाट एकातिर यसको सांस्कृतिक धरोहरको प्रचार प्रसार भइरहेको छ भने अर्कोतिर स्थानीय समुदायको आय आर्जनमा समेत टेवा पुगिरहेको छ । यो हाम्रा लागि खुसीको विषय हो ।
भक्तपुरका मिहिनेती किसानले उत्पादन गरेका ताजा र स्वादिष्ट सागसब्जी तथा तरकारी काठमाडौँ उपत्यकाबासी जनताले उपभोग गर्न पाउँनु खुसीको विषय हो । यसबाट परिश्रमी किसानको जीविकोपार्जनमा मद्दत पुगेको छ भने केही मात्रामा भएपनि उपभोक्ताको माग पूरा भएको छ । साथै, यहाँको प्रसिद्ध दही ‘जुजुधौ’ले समेत भक्तपुरलाई स्वदेश तथा विदेशमा चिनाउन मद्दत पुर्याएको छ । भक्तपुरको खेती किसानीको यस प्रकारका असल अभ्यास र परम्पराबाट सिङ्गो उपत्यका र अन्य जिल्लाहरूले समेत अनुसरण गर्न सके तरकारी लगायत अन्य खाद्य पदार्थमा हामी आत्मनिर्भर बन्न सक्दछौँ भन्ने मलाई लागेको छ ।
यस क्षेत्रका कला, साहित्य, संस्कृति, ऐतिहासिक एवं पुरातात्विक सम्पदाहरूको संरक्षणका साथै सामाजिक, आर्थिक सवालहरूमा सम्बन्धित क्षेत्रका विषय विज्ञहरूद्वारा लेखिएका खोजमूलक लेखहरूको सङ्गालोको रूपमा विगत लामो समयदेखि नियमित रूपमा प्रकाशित हुँदै आएको खोपृङ पत्रिकाको २६औँ अङ्कको प्रकाशनबाट भक्तपुरका साथै समग्र नेपाली वाङ्मयको उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, भक्तपुर विकास सहयोग संघको ३०औँ साधारण सभाको पूर्ण सफलताको कामना गर्दछु । ‘खोपृङ सम्मान २०८१’ बाट आज सम्मानित हुनुभएका महानुभावहरूलाई हार्दिक बधाई दिँदै भक्तपुर विकास सहयोग संघको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।
२०८१ साल भाद्र ८ गते, शनिबार ।