सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले श्री टङ्गाल माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव (हीरक जयन्ती) तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

भीम भवन, टङ्गाल, काठमाडौँ ।
२०८२ साल जेष्ठ २० गते, मङ्गलबार ।
समारोहका सभाध्यक्ष,
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरू,
प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरू,
स्थानीय जनप्रतिनिधिहरू,
राष्ट्रसेवकहरू,
अभिभावकज्यूहरू,
प्यारा विद्यार्थी भाइबहिनीहरू,
सञ्चारकर्मीहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।
श्री टङ्गाल माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव (हीरक जयन्ती) तथा अभिभावक दिवसको यस ऐतिहासिक अवसरमा तपाइँहरूसँग भेटघाट एवं अन्तर्क्रिया गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । यस अवसरका लागि, सर्वप्रथम म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु ।
यस क्षेत्रका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले प्राथमिक विद्यालयको रूपमा वि.सं. २०२० सालमा स्थापना गरिएको यो विद्यालय, अनेकौँ चुनौतीहरू पार गर्दै आज कक्षा १२ सम्म अध्ययन-अध्यापन हुने एक प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ ।
६ दशकभन्दा लामो शैक्षिक यात्राको क्रममा यस विद्यालयले हजारौँ सक्षम, इमान्दार र अनुशासित जनशक्ति उत्पादन गरी मुलुकको समग्र विकास प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याएको छ । विद्यालयले हासिल गरेको यस गौरवपूर्ण उपलब्धिका लागि म विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र होइन, बरु यो समुन्नत राष्ट्र निर्माणको लागि महत्वपूर्ण आधार हो । कुनै पनि राष्ट्रको प्रगति र समृद्धि त्यस राष्ट्रको शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएको हुन्छ । अतः हाम्रो शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने शिक्षित व्यक्तिको उत्पादनमा सीमित रहनु हुँदैन; बरु परिवार, समाज र राष्ट्रप्रतिको गहिरो उत्तरदायित्व बोध भएका सक्षम, इमानदार, अनुशासित र जिम्मेवार नागरिक तयार पार्ने हुनु पर्दछ ।
सूचना तथा सञ्चार प्रविधि र यातायातको तीव्र विकासका कारण आजको विश्व एउटा साझा गाउँ जस्तै बन्न पुगेको छ । विश्वव्यापीकरणको यस प्रक्रियाले हाम्रा लागि एकातर्फ विभिन्न अवसरका ढोकाहरू खोलेको छ भने अर्कातर्फ केही चुनौतीहरू पनि थपिएका छन् । प्राप्त अवसरहरूको प्रभावकारी उपयोग गर्न र चुनौतीहरूको सामना गर्नका लागि हामीले हाम्रा बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम बनाउनु आवश्यक छ । यसका लागि, हामीले हाम्रो शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण पद्धति तथा समग्र शैक्षिक प्रणालीमा युगानुकूल सुधार गर्नु अपरिहार्य भइसकेको छ । शिक्षामा लगानी बढाएर शिक्षाको पवित्र मन्दिर विद्यालय तथा शैक्षिक केन्द्रहरूको पठन पाठनलाई कतैबाट कुनै पनि बहानामा अवरुद्ध पार्नु हुँदैन
श्रमशक्तिको आन्तरिक माग र अन्तर्राष्ट्रिय श्रमबजारको आवश्यकताअनुसार दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न राज्यले शैक्षिक संस्थाहरूसँग सहकार्य र समन्वय गर्दै अघि बढ्नु आवश्यक छ । शिक्षा प्रणालीले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी, जीवनोपयोगी सीप, सिर्जनशील सोच र समस्या समाधान गर्ने क्षमता विकास गराउँदै समाज तथा राष्ट्रप्रति उत्तरदायी नागरिकका रूपमा तयार पार्नु पर्दछ ।
आज हाम्रो सामु देखा परेका अनेकौँ चुनौतीहरूमध्ये युवाशक्तिको तीव्र विदेश पलायन पनि एक हो । गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा उनीहरू देशबाहिर जान बाध्य भइरहेका छन् र यससँगै नेपालको श्रम, सीप, मस्तिष्क र पूँजी समेत पलायन भइरहेको छ । मुलुकको यस्तो अवस्था बदल्न हामीले स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीका अवसरहरू सिर्जना गर्नु आवश्यक छ । यसो गर्न सकेको खण्डमा युवालाई स्वदेशमै अड्याउँन सकिन्छ र उनीहरूको जोश, जाँगर, श्रम, सिप र ज्ञानलाई मुलुकको विकासका लागि सदुपयोग गर्न सकिन्छ ।
यसैगरी, हाम्रो शिक्षा प्रणालीलाई प्रत्यक्ष रूपमा उत्पादनसँग जोड्न अत्यावश्यक छ । शिक्षालाई केवल प्रमाणपत्र प्राप्तिको माध्यमको रूपमा मात्र होइन, दक्षतापूर्वक उत्पादनमूलक कार्यमा संलग्न हुन सक्ने क्षमता विकास गर्ने प्रक्रियाका रूपमा बुझिनुपर्छ । ‘शिक्षा प्राप्त गर्नु भनेको कामबाट पन्छिनु होइन, बरु दक्ष श्रमद्वारा मूल्य सृजना गर्नु हो’ भन्ने चेतना विद्यार्थीमा विकास गरिनुपर्छ । त्यसका लागि श्रमको सम्मान गर्ने संस्कार र त्यसअनुरूप व्यवहार विकास गराउने शिक्षाको व्यवस्था गर्न आवश्यक छ ।
हाम्रो देश नेपाल प्राकृतिक स्रोतसाधन, जैविक विविधता र सांस्कृतिक सम्पदाले धनी छ । तर, ती स्रोत र सम्पदाको दिगो र वैज्ञानिक ढंगले उपयोग गर्न नसक्दा हामीले समृद्धिका थुप्रै अवसरहरू गुमाइरहेका छौं । यदि हामीले यी अमूल्य स्रोत र सम्पदाको समुचित सदुपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्यौं भने राष्ट्रलाई समृद्धिको दिशातर्फ प्रभावकारी रूपमा अग्रसर गराउन सकिन्छ । यस उद्देश्यका लागि गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, जिम्मेवार र उत्पादनमुखी जनशक्ति उत्पादन गर्नु अनिवार्य छ ।
शिक्षामा गरिने लगानी खर्च होइन, यो दीर्घकालीन रूपमा समृद्ध राष्ट्र र समुन्नत समाज निर्माणको लागि गरिने अमूल्य लगानी हो । जब राज्य, समाज र परिवार सबै मिलेर शिक्षालाई प्राथमिकतामा राख्छन्, त्यतिबेला मात्रै शैक्षिक रूपान्तरण सम्भव हुन्छ । तसर्थ, सामुदायिक विद्यालयहरूलाई थप सशक्त बनाउन सबै तहका सरकार, नीति निर्माता, स्थानीय समुदाय र सरोकारवालाहरू बिच समन्वय एवं सहकार्य आवश्यक छ ।
अन्तमा, यस विद्यालयलाई स्थापनाकालदेखि यहाँसम्म ल्याइपुर्याउन आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण सहयोग पुर्याउनुहुने विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय शिक्षाप्रेमी, समाजसेवी महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै, आगामी दिनहरूमा पनि यस विद्यालयले गुणस्तरीय तथा समाज रूपान्तरणमुखी शिक्षाको उदाहरणीय केन्द्रका रूपमा निरन्तर प्रगति गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।