सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ग्रामीण विकास टुकी संघद्वारा आयोजित प्रदर्शनी कार्यक्रममा गर्नुभएको सम्बोधन

नेपाल पर्यटन बोर्ड, प्रदर्शनी मार्ग, काठमाडौँ ।
आजको यस समारोहका सभाध्यक्ष,
विशिष्ट अतिथि— पूर्वमन्त्री एवं प्राज्ञिक व्यक्तित्वहरू
भोजपुर जिल्लाका जनप्रतिनिधिहरू
सिर्जनशील साहित्यकार, पत्रकारहरू,
विभिन्न सामाजिक तथा साहित्यिक सङ्घसंस्थाका प्रतिनिधिहरू
आयोजक संस्थाका पदाधिकारीहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू !
भोजपुरका अग्रज पुस्ताका कवि स्वर्गीय शिवकुमार शर्मा पराजुलीको काव्यकृति ‘कविता कोकिल’ को लोकार्पण समारोहमा उपस्थित हुनुभएका यहाँहरू सबैप्रति हार्दिक अभिवादन गर्दछु । नेपाल वाङ्मय फाउन्डेसनले भोजपुर नपा सेवा समाज, काठमाडौँसँगको सहकार्यमा आजको यो कार्यक्रम आयोजना गरेकोमा यसका लागि म दुवै संस्थाहरूलाई धन्यवाद दिन चाहन्छु ।
कवि शिवकुमार पराजुली शास्त्रीय छन्दमा कविता लेख्ने कवि हुनुहुन्थ्यो । उहाँका कवितामा नैतिक चेतना, देशभक्ति, सामाजिक सुधार, आत्मिक परिष्कार, श्रमप्रतिको आस्था एवं मानवतावादी चिन्तनको सहज अभिव्यक्ति पाइन्छ । उहाँले कविता लेखनका साथसाथै शिक्षण पेशामा रहेर राष्ट्रको सेवा गर्नुभएको थियो ।
उहाँ दिवङ्गत हुनुभएको धेरै लामो समयपछि उहाँका विद्यार्थीहरू मिलेर गुरु दक्षिणास्वरुप यो पुस्तक प्रकाशित गरिदिनुभएको कुरा थाहा पाएर मलाई अत्यन्त खुसी लागेको छ । मलाई लाग्छ— यस कार्यले एउटा महत्वपूर्ण साङ्केतिक अर्थ बोकेको छ । यसले एकातिर गुरु र शिष्य बीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने दृष्टान्त प्रस्तुत गरेको छ भने अर्कातिर इतिहासको गर्भमा ओझेल परेका प्रतिभाहरूको योगदानलाई जोगाएर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने जमर्को पनि गरेको छ । अग्रज पुस्ताको ज्ञान र अनुभवले भावी पुस्तालाई पनि प्रेरणा प्रदान गर्नेछ भन्ने मेरो विश्वास रहेको छ ।
नेपाल वाङ्मय फाउन्डेसन नेपालको बहुभाषिक वाङ्मयको समावेशी अनुसन्धानमा क्रियाशील रहँदै आएको सामाजिक संस्था हो । यस संस्थाले ‘सबैको हृदय जोड्ने पुल बनाऔँ’ भन्ने मूल नाराका साथ नेपालका सबै जातजाति र भाषिक समुदायको बौद्धिक सम्पदाको खोजी तथा अभिलेखीकरण गर्दै आएको छ । यस संस्थाले आफ्नो प्रारम्भिक कार्ययोजनाअनुरुप विश्वशान्ति, सद्भाव र भाइचाराको कामनासहित संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९५ देशका राष्ट्रिय गानहरूलाई नेपाली भाषामा अनुवाद गरेर ‘विश्वका राष्ट्रिय गान’ शीर्षकमा महत्वपूर्ण पुस्तक प्रकाशित गरिसकेको कुरा थाहा पाउँदा म निकै हर्षित छु । यस्ता कार्यबाट नेपाली पाठकहरूमा पनि देशभक्ति र राष्ट्रियताको मूल्य र महत्व बुझ्न सघाउ पुर्याउने कुरामा म विश्वस्त छु । यस संस्थाले आगामी दिनमा पनि आफ्नो उद्देश्य र कार्ययोजनालाई सही ढङ्गले सम्पन्न गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
त्यसैगरी, भोजपुर नपा सेवा समाज काठमाडौँ नामक संस्थाले पनि कवि शिवकुमार शर्मा पराजुलीले लामो समय अध्यापन गर्नुभएको भोजपुरको पोखरेस्थित श्री सरस्वती आधारभूत विद्यालयमा गुरुकै नाममा अक्षय कोष स्थापना गर्न लागेको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ । यस किसिमका कार्यले समाजमा सकारात्मक प्रेरणा र ऊर्जा थप्नेछ । उक्त संस्थालाई पनि म धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु ।
आज यहाँ विशेष गरी भोजपुरका विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको छ । अन्य स्थानबाट पनि सामाजिक, साहित्यिक क्षेत्रका महानुभावहरूको उपस्थिति रहेको छ । भोजपुर म आफू जन्मे–हुर्केको मेरो माइती जिल्ला पनि हो । भोजपुरसँग सम्बन्धित मेरा अनेकौँ संस्मरणहरू रहेका छन् । भोजपुर सदरमुकामको विद्योदय माध्यमिक विद्यालयमा म अध्ययनरत रहेको समयमा म कवि शिवकुमार पराजुलीकै गाउँ पोखरेमा डेरा लिएर बसेको थिएँ । उहाँले लेख्नु भएको काव्यकृतिको लोकार्पण कार्यक्रममा सहभागी भइरहँदा आज मेरो किशोरावस्थाका ती सुन्दर पलहरूको स्मृति ताजा भएर आएको छ ।
भोजपुर जिल्ला भौतिक पूर्वाधार विकासको दृष्टिकोणबाट तुलनात्मक रूपमा केही पछाडि परेको भएता पनि समाजसुधार, शिक्षा, राजनीति, प्रशासनका साथै कला, साहित्य र सङ्गीतको क्षेत्रमा मुलुकका लागि यो जिल्लाले विशिष्ट योगदान पुर्याएको छ । शिक्षासेवी एवं समाजसुधारक बाला गुरु षडानन्द अधिकारी, धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता योगमाया न्यौपाने, २००७ सालका क्रान्तिनायक रामप्रसाद राई तथा नारदमुनि थुलुङको नाम सबै भोजपुरेहरूले गर्व गर्ने ऐतिहासिक नामहरू हुन् । भोजपुरको माटोमा जन्मिनुभएका कैयन् अग्रज व्यक्तित्व एवं प्रतिभाहरूले वर्तमानमा समेत कला, साहित्य, सङ्गीत, राजनीति, कूटनीति, शिक्षा लगायत विविध क्षेत्रहरूमा सिङ्गो मुलुकलाई नै नेतृत्व प्रदान गरिहनु भएको छ ।
अन्त्यमा, भोजपुरको सर्वाङ्गीण विकास निर्माणका साथै त्यहाँको बौद्धिक सम्पदा र इतिहासको जगेर्ना गर्न यहाँहरू सबैजना निरन्तर क्रियाशील रहनुहुनेछ भन्ने विश्वास लिएको छु । साथै, भोजपुर जिल्लाले इतिहासमा निर्माण गरेको गौरवगाथालाई वर्तमानमा कायम राख्दै भविष्यमा यसलाई थप उचाइमा पुर्याउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गरौँ भन्ने आग्रह गर्न चाहन्छु ।
धन्यवाद ।
२०८१ साल जेठ २१ गते सोमबार ।