नेकपा (एमाले) विज्ञान तथा प्रविधि विभाग, कोशी प्रदेशद्वारा आयोजित ‘प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी उद्घाटन समारोह’मा गरिएको सम्बोधन

देवी माध्यमिक विद्यालय, विर्तामोड, झापा
२०८२ साल जेठ २४ गते, शनिबार
समारोहका अध्यक्ष,
नेकपा (एमाले) कोशी प्रदेशका इन्चार्ज श्री शेरधन राई,
प्रतिनिधिसभाका माननीय सदस्य एल.पी. साँवा,
अनेमसंघका केन्द्रिय उपाध्यक्ष श्रीमती मेनुका काफ्ले पोखरेल,
कोशी प्रदेश नेकपा (एमाले) का नेतागण,
स्थानीय तहका जनप्रतिनिधिहरू,
मदन भण्डारी फाउण्डेशन, कोशी प्रदेशका पदाधिकारीहरू,
विज्ञान र प्रविधि क्षेत्रमा क्रियाशील विज्ञ तथा व्यवसायी महानुभावहरू,
विज्ञान र शिक्षामा समर्पित शिक्षक–शिक्षिकाहरू,
चेतना र जागरणका संवाहक विद्यार्थी भाइबहिनीहरू,
सञ्चारकर्मीहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।
कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी भई तपाईँहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने अवसर प्रदान गरेकोमा आयोजक नेकपा (एमाले) विज्ञान तथा प्रविधि विभाग, कोशी प्रदेश र मदन भण्डारी फाउण्डेशन कोशीप्रति आभार प्रकट गर्दछु । साथै, यस कोशी प्रदेशका सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागितामा सञ्चालित यस विज्ञान तथा प्रविधि प्रदर्शनीको भव्य सफलताको कामना गर्दछु ।
आजको युग ज्ञान, सूचना र प्रविधिको युग हो । विज्ञान र प्रविधिको तीव्र विकासले विश्वलाई अपूर्व गतिमा रूपान्तरण गर्दै लगेको छ । मानव जीवनको प्रत्येक पक्ष — शिक्षा, स्वास्थ्य, कृषि, यातायात, सञ्चार, उर्जा, वातावरण तथा सामाजिक संरचनाहरू — सबै क्षेत्रमा विज्ञान र प्रविधिको प्रभाव निर्णायक बन्दै गएको छ । यस्तो परिवर्तित समयमा हामीले भविष्यका जिम्मेवार नागरिक हाम्रा विद्यार्थीहरूलाई वैज्ञानिक सोच, अनुसन्धानमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्व स्तरमा प्रतिस्पर्धी बनाउनु हाम्रो दायित्व हो । मुलुकको जिम्मेवार राजनीतिक पार्टी, जसको अध्यक्ष यसै झापा जिल्लाका हुनुहुन्छ र अहिले प्रधानमन्त्री समेत हुनुहुन्छ, उहाँको जिल्लामा यस प्रकारको रचनात्मक कार्यक्रम आयोजना हुनु खुसीको विषय हो । विद्यार्थीहरूको चातुर्दिक विकासका निम्ति भविष्यमा समेत नेकपा (एमाले)बाट यस्तै रचनात्मक क्रियाकलापहरू आयोजना हुने विश्वास लिएको छु ।
हामीलाई थाहा छ, विज्ञान केवल प्रयोगशालामा सीमित रहने विषय होइन । बरु यो त मानिसको सोच, चिन्तन र विश्लेषणलाई सही निष्कर्षमा पुर्याउने प्रभावकारी प्रक्रिया हो । साथै, यो अन्धविश्वास एवं रुढीलाई समाप्त पारेर आधुनिक एवं वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्न बाटो देखाउने पद्धति हो, अनि नवीन सिर्जनाको निरन्तर यात्रा हो । यो यात्राको आरम्भ विद्यालय तहबाटै हुनुपर्छ । विद्यार्थीहरूमा प्रारम्भदेखि नै वैज्ञानिक सोचप्रति विश्वास एवं प्रविधिको प्रयोगप्रति रूचि जगाउन सकेमा उनीहरू देश र समाजका लागि सिर्जनशील, उत्तरदायी र दूरदर्शी नेतृत्वकर्ताका रूपमा विकास हुन सक्दछन् । यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई आफ्नो ज्ञान, सीप र कल्पनालाई प्रस्तुत गर्ने मञ्च प्रदान गर्दछन् । साथै, उनीहरूलाई अनुसन्धान गर्न, प्रयोग गर्न, सिक्न, प्रश्न गर्न र समाधान खोज्न उत्प्रेरित गर्छन् । त्यसैले शिक्षामा आर्थिक तथा भौतिक लगानी बढाएर प्राविधिक शिक्षालाई विस्तार गर्नका निम्ति परिवार, समुदाय, राज्य र निजी क्षेत्र समन्वयात्मक रूपमा क्रियाशील हुनु पर्दछ ।
विज्ञान र प्रविधिको विकास केवल आर्थिक समृद्धिको माध्यम होइन; यो सामाजिक न्याय, दिगो विकास र सशक्तीकरणको पनि आधार हो । हामीले आफ्ना बालबालिकालाई केवल पाठ्यक्रमको सीमित परिधिभित्र राखेर होइन, वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने, नवप्रवर्तन गर्न सक्ने र सामाजिक परिवर्तनमा भूमिका खेल्न सक्ने तहमा विकास गर्नु पर्दछ । यही सोंच र प्रयत्नको मूर्तरूप हो — कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी । यस प्रदर्शनीमा सहभागिता जनाएका विद्यालयहरू, शिक्षकहरू र विद्यार्थीहरू सबैलाई म हार्दिक बधाई ज्ञापन गर्दछु ।
यसका साथै, यस विज्ञान र प्रविधि प्रदर्शनी तथा प्रतियोगितासँगसँगै सञ्चालन गरिने विभिन्न विषयमा हुने छलफल, अन्तर्क्रिया तथा रचनात्मक क्रियाकलापहरूबाट विद्यार्थी, शिक्षक, अभिभावक, राजनीतिक नेता, नीति निर्माता तथा व्यवसायीहरू समेत लाभान्वित हुन सक्ने मैले विश्वास लिएको छु ।
अबको हाम्रो प्रमुख गन्तव्य भनेको जनताको जीवनस्तरमा प्रत्यक्ष र सकारात्मक परिवर्तन अनुभूत गराउने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु र संविधानमा परिकल्पना गरिएको समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्नु हो । राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य छ । त्यसैले राज्यको तर्फबाट विज्ञान, प्रविधि र गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ तथा विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक छ । विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरूमा पर्याप्त साधनस्रोतसहितका प्रयोगशाला, दक्ष शिक्षक तथा प्राविधिक जनशक्तिको व्यवस्था गर्नु राज्यको पनि दायित्व बन्न जान्छ ।
हामीसँग मुलुकको समृद्धिका लागि चाहिने अत्यन्तै उपयोगी प्राकृतिक स्रोत, साधन र सम्पदाहरू प्रचुर रूपमा उपलब्ध छन् । तिनको दिगो र अधिकतम उपयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धिका साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधीन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्न सकिन्छ । यस प्रयोजनका लागि आवश्यक दक्ष, सक्षम एवं सिर्जनशील प्राविधिक जनशक्ति उत्पादन गर्नु अत्यावश्यक छ । त्यसैले, अब हाम्रो शिक्षा प्रणालीको मूल लक्ष्य अनुसन्धान, प्रयोग, आविष्कार, प्रविधि र सिजनामार्फत राष्ट्रिय विकासमा योगदान पुर्याउने जनशक्ति निर्माणमा केन्द्रित हुनुपर्दछ ।
अन्त्यमा, म विज्ञान तथा प्रविधि विभाग, नेकपा (एमाले) कोशी प्रदेशलाई यो सराहनीय पहलका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, प्रदर्शनीमा सहभागी विद्यार्थीहरूलाई विज्ञान र प्रविधिको दुनियाँमा अझ अघि बढ्न, खोज र नवप्रवर्तनमा समर्पित हुन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
साथै, आजको दिन हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व निर्जला एकादशी (तुलसीको दल राख्ने दिन) तथा मुस्लिम समुदायको एक प्रमुख चाड बकर इद (इद–उल–अज्हा) एकैपटक परेकाले म सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरूमा यी दुवै पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।