विर्तामोड, झापा

२०८२ साल जेठ २५ गते, आइतबार ।

कार्यक्रमका अध्यक्ष,

नारी सञ्चार गृह, झापाका पदाधिकारीहरू,

सामाजिक, राजनीतिक एवं बौद्धिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू,

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू,

उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।

झापा जिल्लाका महिला पत्रकारहरुको साझा संस्था ‘नारी सञ्चार गृह, झापा’द्वारा आयोजित ‘अक्षय कोष घोषणा, पुस्तक विमोचन तथा दाता सम्मान कार्यक्रम’मा सहभागी भई तपाईँहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नुभएकोमा कार्यक्रमको आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु ।

झापा जिल्लामा क्रियाशील महिला पत्रकारहरूको व्यावसायिक उन्नयनका लागि क्षमता एवं तथा दक्षता अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ नारी सञ्चार गृह, झापाको स्थापना भएको हो । तथापि, यस संस्थाले समाजका विभिन्न क्षेत्रमा अघि बढ्न चाहने महिलाहरूलाई प्रोत्साहित गर्ने, समाज रूपान्तरणमा योगदान पुर्‍याइरहनुभएका महिलाहरूको अभिलेखीकरण, बालबालिकामुखी सचेतनामूलक कार्यक्रम तथा सार्वजनिक सरोकारका विषयहरूमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गर्दै आएको जानकारी पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।

महिला पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्न आवश्यक स्रोत तथा अवसरहरूमा सहज पहुँच सुनिश्चित नगरी संस्थाको घोषित लक्ष्य तथा उद्देश्यहरू प्राप्त गर्नु चुनौतीपूर्ण रहन्छ । यस सन्दर्भमा, तपाईँहरूले आफ्नै पहलमा स्थापना गर्नुभएको अक्षय कोषमा हालसम्म रु. ५० लाख संकलन भइसकेको कुरा उत्साहप्रद रहेको छ ।  उक्त कोषलाई आगामी दिनमा रु. एक करोडसम्म विस्तार गर्ने तपाईंहरूको दृढ संकल्पको पूर्ण सफलता कामना गर्दै, म यो प्रयासप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।

यसैगरी, संस्थाले हालसम्म हासिल गरेका उपलब्धीहरू, पत्रकारितामा महिलाहरूको अवस्था, अभ्यास, अनुभूति, दृष्टिकोण लगायतका विषयवस्तु समेटिएको पुस्तक समेत प्रकाशन गरेकोमा हार्दिक बधाई दिदै प्रकाशन सफलताको कामना गर्न चाहन्छु ।

जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलासँग सम्बन्धित विषयहरू सञ्चार माध्यममा प्रभावकारी रूपमा उठाउनका लागि महिला पत्रकारहरूको भूमिका विशेष रूपमा महत्त्वपूर्ण रहन्छ । उनीहरूले यस्ता मुद्दाहरूलाई आफैंले प्रत्यक्ष रूपमा अनुभव गरेका, नजिकबाट देखेका वा जीवनका विभिन्न चरणमा भोगेका कारण उनीहरूद्वारा तयार गरिने सामग्रीमा थप संवेदनशीलता, आत्मपहिचान र यथार्थता समेटिएको हुन्छ ।

यौन हिंसा, लैङ्गिक भेदभाव, प्रजनन अधिकार, घरेलु हिंसाजस्ता संवेदनशील विषयहरूमा सूचनाका महिला स्रोतहरूले महिला पत्रकारप्रति बढी विश्वास गर्ने हुनाले यस्ता विषयहरूलाई अझ जीवन्त, सत्यपरक र न्यायसंगत रूपमा प्रस्तुत गर्ने परिवेश निर्माण गर्दछ । साथै, महिला पत्रकारहरूको उपस्थिति स्वयं सञ्चार माध्यममा लैङ्गिक सन्तुलन कायम गर्ने अभ्यास हो, जसले समावेशी तथा उत्तरदायी पत्रकारिता विकासमा योगदान पुर्‍याउँदछ ।

पछिल्ला वर्षहरूमा राज्यको चौथो अङ्गको रूपमा लिइने आम सञ्चार क्षेत्रमा महिला सहभागिता क्रमश: विस्तार हुँदै आएको भएता पनि, संख्यात्मक दृष्टिले उनीहरूको प्रतिनिधित्व अझै न्यून रहेको छ । यसमा पनि सञ्चार माध्यमको नेतृत्व तहमा त यो संख्या ज्यादै न्यून  रहेको छ । यसले के देखाउँछ भने, समाचार सम्पादन, निर्णय तथा नीति निर्माणको तहमा महिलाहरूको पहुँच र भूमिका ज्यादै सीमित रहेको छ ।

यसका साथै, कार्यस्थलमा विद्यमान लैंगिक असमानता, यौन दुर्व्यवहार, पारिश्रमिकमा भेदभाव तथा पेशागत अवसरहरूमा असमान पहुँचजस्ता समस्याहरू अझै व्याप्त छन् । विशेषगरी रात्रीकालीन ड्युटी वा संवेदनशील जिम्मेवारीहरूमा महिला पत्रकारहरूलाई सहभागी हुन वञ्चित गरिनुका साथै सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत चरित्र हत्या, धम्की तथा दुर्व्यवहारको सिकार बनाइनु अत्यन्तै चिन्ताजनक विषय हुन् ।

यस्तो चुनौतीपूर्ण परिवेशका बाबजुद पनि महिला पत्रकारहरूले देखाएको पेशागत दृढता, आत्मबल र सामाजिक परिवर्तनप्रतिको लगाव र प्रतिवद्धता प्रशंसनीय छ । नारी सञ्चार गृह, झापा लगायतका संस्थाहरूले महिला पत्रकारहरूको पेशागत उन्नयनका लागि देखाएको सक्रियता र केही सञ्चार संस्थाहरूले लैंगिक समानताको दृष्टिले ल्याएका नीति र अभ्यासहरू सकारात्मक संकेत हुन् । तथापि, ती प्रयासहरूको प्रभावकारिता अझ सशक्त बनाइनु आवश्यक छ ।

महिला पत्रकारहरू पनि नेपाली समाजकै अविभाज्य अङ्ग भएको हुनाले उनीहरूले भोगिरहेका समस्या पनि आम नेपाली महिलाहरूले सामना गरिरहेका संरचनागत असमानता, अवसरको अभाव र लैङ्गिक पूर्वाग्रहकै विस्तारित स्वरूप हुन् । त्यसैले, महिला पत्रकारहरूका समस्याहरूलाई अलग रूपमा नभई नेपाली महिलाहरूको समग्र अनुभवको एउटा हिस्साका रूपमा बुझ्न जरुरी छ । ती समस्याहरूको समाधान पनि एकीकृत र समग्र सामाजिक दृष्टिकोणबाट खोजिनु आवश्यक छ । यस सन्दर्भमा, नारी सञ्चार गृह, झापाले सञ्चालन गरिरहेको विविध सामाजिक क्रियाकलापहरू यिनै समग्र यथार्थप्रतिको संवेदनशील दृष्टिकोणबाट अभिप्रेरित रहेको मैले बुझेको छु ।

अन्तमा, तपाईँहरूका रचनात्मक पहलहरू आगामी दिनहरूमा अझ बढी प्रभावकारी र सशक्त बन्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । साथै, आज सम्मानित हुनु भएका विशिष्ट व्यक्तित्वहरूलाई हार्दिक बधाई दिँदै उहाँहरूको निरन्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।