तुन्ह्वाङ, गान्सु, चीन

मे ३०, २०२५

जनगणतन्त्र चीनका महामहिम उप–राष्ट्रपति श्री हान ज्हेंगज्यू,

जनगणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसका उपाध्यक्ष एवं चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघ (CFAIU) का अध्यक्ष श्री जी विंगशुआनज्यू ,

IDCPC का प्रमुख लिउँ जिंचाओज्यू,

CPC गान्सु प्रान्तको सचीव एवं गान्सु प्रान्तको जनकांग्रेसका अध्यक्ष हु चंगशेंगज्यू,

गान्सु प्रान्तको जनसरकारका प्रमुखज्यू,

विशिष्ट प्रतिनिधिहरू,

भद्रमहिला तथा सज्जनवृन्द,

नमस्कार, हार्दिक अभिवादन !

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालको तर्फबाट म चीन सरकार, चिनियाँ जनता र यहाँ यस सुन्दर गान्सु प्रान्तको तुन्ह्वाङ शहरमा भेला हुनुभएका सम्पूर्ण मित्रहरूलाई शुभकामना र बधाइ लिएर आएको छु । चीन सरकार र चिनियाँ जनताले देखाउनुभएको आत्मीयता र आतिथ्यले मलाई गहिरो रूपमा छोएको छ, जसका लागि म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु । मैले यस गान्सु प्रान्तको ऐतिहासिक, सुन्दर एवं पयर्टकीय नगरी तुन्ह्वाङको अवलोकन भ्रमण गर्ने अवसर पाएँ  । यसको प्रबन्ध मिलाउने सबैलाई धन्यवाद दिन चाहन्छु

उत्तर र दक्षिण सिल्क मार्गका शाखाहरूको संगम विन्दुको रूपमा रहेको तुन्ह्वाङ सहरको ऐतिहासिक महत्वलाई हेर्दा सभ्यताहरूसम्बन्धी संवाद कार्यक्रमको आयोजना गर्न यो सहर उत्तम स्थल हो । म चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघ (CFAIU) लाई यसको उद्देश्यप्रति समर्पित भई चीन र विश्वका अन्य देशहरू बिच समझदारी, सद्भाव र मित्रता प्रवर्द्धन गर्ने कार्यको प्रशंसा गर्दछु ।

विशिष्ट अतिथिज्यूहरू,

संसार विभिन्न संस्कृतिहरूको सुन्दर बगैँचा हो— एउटा सांस्कृतिक संगम जहाँ विविध जातीय समूह, भाषा र संस्कृति सहअस्तित्वमा छन् । विश्व शान्ति, स्थिरता र सद्भाव सुनिश्चित गर्नको लागि विभिन्न संस्कृति र सभ्यताहरू बिच समझदारी बढाउनु अत्यन्त आवश्यक छ । राजनीतिक, सुरक्षात्मक, आर्थिक, वैचारिक, जातीय र सांस्कृतिक कारणहरू बोकेका विभिन्न प्रकारका द्वन्द्वहरूले संसारलाई ग्रसित बनाएको आजको विश्व सन्दर्भमा यो अझ महत्वपूर्ण बनेको छ ।

हामीले सबै संस्कृतिहरू एकअर्काको संस्कृति र मर्यादालाई सम्मान गर्दै सद्भावमा बाँच्न सकुन् भन्ने प्रयास गर्नुपर्छ, जसबाट सांस्कृतिक कारणले उत्पन्न हुने द्वन्द्व र तनावबाट मुक्त हुन सकियोस् । द्वन्द्वका अन्य रूपहरू पनि छन् । राज्य र समाजहरूले ती द्वन्द्वहरू समाधान गर्न सम्बन्धित समाजका सांस्कृतिक र सभ्यतागत पक्षहरूलाई ध्यानमा राखेर समाधान खोज्नुपर्छ ।

विशिष्ट अतिथिज्यूहरू,

महामहिम राष्ट्रपति सी चिनफिङको दूरदर्शी दृष्टिकोण र अग्रगामी पहलबाट, बेल्ट एण्ड रोड इनिसिएटिभ (बी.आर.आई.) ले विश्वव्यापी सम्पर्क र आर्थिक सहयोगलाई प्रवर्द्धन गरेर प्राचीन सिल्क रोडलाई पुनर्जीवित, विस्तार र नवीकृत गर्ने लक्ष्य राखेको छ । एसिया, अफ्रिका र युरोपभर सडक, रेल, बन्दरगाहा, पाइपलाइन र डिजिटल पूर्वाधार विस्तार गर्नु यस पहलका मुख्य पक्ष हुन् ।

बी.आर.आई.ले सहभागी देशहरू बीच पारस्परिक समझदारी र सहयोगलाई बढावा दिने माध्यमको रूपमा सांस्कृतिक आदानप्रदानमा विशेष जोड दिएको कुरा पनि उल्लेखनीय छ । नेपालले पनि ऐतिहासिक रूपमा चीन र भारत बीचको सांस्कृतिक तथा व्यापारिक माध्यमको रूपमा महत्वपूर्ण भूमिका खेलेको थियो, जुन सिल्क रोड आदानप्रदानमा प्रमुख सहभागी थिए ।

विशिष्ट अतिथिज्यूहरू,

सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको सैद्धान्तिक सहमती बमोजिम दुबै राष्ट्रले सन् २०१७ मा एक फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेपछि नेपाल औपचारिक रूपमा बी.आर.आई.मा आबद्ध भएको हो । गत डिसेम्बर सन् २०२४ मा नेपालका प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा नेपाल र चीनले पुनः बी.आर.आई. सहयोग फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् ।

बी.आर.आई. अन्तर्गत हिमालय सीमापार बहु–आयामिक सम्पर्क सञ्जाल र विकास साझेदारी एवं साझा भविष्यको अवधारणा प्रमुख अङ्गको रूपमा रहेका छन्  ।  महामहिम राष्ट्रपति सी चिनफिङले भन्नु भए जस्तै बी.आर.आई परियोजना अन्तरगत नेपाल र चीन बीच भएका समझदारीहरुले भूपरिवेष्ठित राष्ट्र नेपाललाई भूजडित राष्ट्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो विकास नेपाल–चीन सम्बन्धमा एउटा कोशेढुङ्गाको रूपमा रहेको छ ।

विशिष्ट सहभागीहरू,

नेपाल–चीन सम्बन्धको सन्दर्भमा, म सन् २०१९ को अक्टोबरमा महामहिम राष्ट्रपति सीको ऐतिहासिक नेपाल भ्रमणलाई स्मरण गर्न चाहन्छु । सो समयमा नेपालको राष्ट्राध्यक्षको रूपमा मैले उहाँलाई स्वागत गर्ने अवसर पाएको थिएँ । त्यो भ्रमण लगभग २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण थियो । भ्रमणका क्रममा, हाम्रा दुई मुलुकहरू विकास र समृद्धिका लागि नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमा रूपान्तरण गर्न सहमत भएका थिए ।

त्यसैगरी, म सन् २०१९ को अप्रिलमा आफूले गरेको चीन भ्रमणको समेत स्मरण गर्न चाहन्छु, जहाँ मैले महामहिम राष्ट्रपति सीसँग महत्वपूर्ण भेटघाट गर्नुका साथै अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरमलाई सम्बोधन गर्ने अवसर समेत प्राप्त गरेको थिएँ । यिनै पृष्ठभूमिमा म अहिले चीनमा छु र यस महत्वपूर्ण मञ्चमा सहभागी भएको छु ।

विश्वका प्राचीनतम सभ्यताहरूमध्ये एकका रूपमा, चीनले अगुवाइ गरेको ‘विश्व सभ्यता पहल’ ले मानव सभ्यताहरूलाई एकीकृत गर्ने, विभिन्न संस्कृति र सभ्यताहरूबीच उन्नत समझदारी निर्माण गर्ने, आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोग प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । म के कुरामा जोड दिन चाहन्छु भने, अन्य संस्कृतिहरूको सम्मान गर्नु भनेको खुलापन र साझेदारीको लागि बाटो सिर्जना गर्नु र फरक सांस्कृतिक पृष्ठभूमि भएका मानिसहरूले सामना गर्ने कठिनाइहरूको महसुस गर्नु पनि हो ।

आज पनि मानवजातिको उल्लेख्य हिस्सा भयावह गरीबीको चक्रबाट बाहिर निस्कन संघर्ष गरिरहेको छ । गान्सु प्रान्त जनसरकार र चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघ (CFAIU) को यो कार्यले यी कठिनाइबाट विश्व समुदायलाई सहज बातावरण निर्माण हुने छ ।

यस्तो महत्वपूर्ण फोरम आयोजना गरेर चीनले ‘विश्व सभ्यता पहल’ कार्यान्वयनमा देखाएको अग्रसरता सराहना गर्दै यसको सफलताका कामना गदर्छु ।

धन्यवाद ।