मे २६, २०२५

बेइजिङ, चीन

सर्वप्रथम, चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग (IDCPC) लाई यो महत्वपूर्ण संवाद कार्यक्रम आयोजना गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, हामीलाई एकै मञ्चमा उभ्याएर हाम्रो साझा भविष्य निर्माणका विषयमा विचार आदान–प्रदान गर्ने अवसर उपलब्ध गराएकोमा आयोजकको सराहना गर्दछु ।

वर्तमान समयमा विश्वमा राजनीतिक, आर्थिक, प्राविधिक र पर्यावरणीय दृष्टिले तीव्र गतिमा परिवर्तन भइरहेको समयमा हामी यहाँ उपस्थित भएका छौँ । एकातिर विज्ञान तथा प्रविधि र नवप्रवर्तनले मानव जीवनमा अकल्पनीय परिवर्तन ल्याइरहेको छ भने अर्कोतिर असमानता, द्वन्द्व, शक्ति संघर्ष र विश्वव्यापी ध्रुवीकरणको चुनौतीले हाम्रो साझा भविष्यमा गम्भीर असर पार्ने खतरा छ । महामहिम राष्ट्रपति सी चिनफिङको “एउटै डुङ्गामा बसेर सँगै अघि बढ्नुपर्छ” भन्ने भनाई गहिरो अन्तरदृष्टियुक्त मार्गदर्शन हो जसले साझा र उज्ज्वल भविष्य भएको मानव समुदाय निर्माणतर्फको हाम्रो संकल्पलाई सुदृढ बनाउँछ ।

नेपाल र चीन बीचको सम्बन्ध प्राचिन इतिहास, साझा संस्कृति, पारस्परिक विश्वास, आपसी सम्मान र समान विकास दृष्टिकोणमा आधारित छ । यी सम्बन्धहरू राजनीतिक, आर्थिक र कूटनीतिक फाँटमा मात्र सीमित छैनन्, यसमा जनस्तरको भावनात्मक निकटता र आपसी सहयोग र मित्रताको परम्परागत अभ्यास जोडिएको छ ।

हामीले चीनको सार्वभौमिकता र ‘एक चीन’ सिद्धान्तको निरन्तर समर्थन गर्दै आएका छौं । सामाजिक आर्थिक हितमा सहकार्य र साझा समृद्धिको आधारमा हाम्रो मित्रता बलियो र विश्वसनीय हुँदै आएको छ । नेपाल र चीन दुबैले विकास र समृद्धिका लागि साझेदारीलाई रणनीतिक तहमा पुर्‍याएका छन् । यो साझेदारी अझ सुदृढ बन्दै जाने विश्वास लिएको छु ।

नेपालको वर्तमान यात्रा लोकतान्त्रिक गणतन्त्रको स्थायित्व, शान्तिपूर्ण सामाजिक रूपान्तरण र आर्थिक समृद्धितर्फ अग्रसर छ । यो मार्ग सरल छैन; यसले दीर्घकालीन सङ्घर्ष, स्पष्ट दृष्टिकोण, जनसहभागिता र नीतिगत प्रतिबद्धता माग गर्दछ ।

यस यात्रामा, चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक र समसामयिक अनुभव हाम्रा लागि मूल्यवान र मार्गदर्शक बनेको छ ।

‘चिनियाँ विशेषतासहितको समाजवाद’ले चीनलाई आर्थिक, सामाजिक, सांस्कृतिक र  प्राविधिक क्षेत्रमा अभूतपूर्व सफलतामा पुर्‍याएको छ । नयाँ युगका लागि सी चिनफिङ विचारधाराको आलोकमा चीनले जनवादी गणतन्त्र स्थापना भएको शतवार्षिकी सम्ममा चीनलाई आधुनिक समाजवाद र सांस्कृतिक रूपले उन्नत राष्ट्र निर्माण गर्ने प्रयासले सार्थकता पाउनेमा हामी विश्वस्त छौँ ।

साथै, चीनले ‘नयाँ युगको समाजवाद’ को दृष्टिकोण अघि सारेको छ, जसले राष्ट्रिय पुनर्जागरण, सामाजिक स्थायित्व, नवप्रवर्तन, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, आत्मनिर्भरता र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई सन्तुलित ढङ्गले अघि बढाएको छ । असमानता र भेदभावलाई समाप्त पार्न ठूलो योगदान गरेको छ । यी सबै पक्षहरू विकासोन्मुख राष्ट्रहरूका लागि प्रेरणाको स्रोत बनेका छन् ।

नेकपा (एमाले)ले आफ्नै विशिष्ट परिस्थितिमा सामाजिक–आर्थिक परिवर्तनको मार्ग तय गर्दै आएको छ । जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्तले समाजवाद निर्माण गर्ने मौलिक अवधारणा प्रस्तुत गरेको छ । यस अवसरमा म नेकपा (एमाले)का तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीले चीनको औपचारिक भ्रमण गरेर चिनीयाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई सुदृढ तुल्याउन खेल्नु भएको योगदानको स्मरण गर्न चाहन्छु । राष्ट्रिय राजनीतिलाई अनुकूल बनाउँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा गठन भएको वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने साझा राष्ट्रिय अभिभारा पूरा गर्न अग्रसर भइरहेको छ ।

विकासका लागि व्यक्तिगत, सामूहिक र राष्ट्रिय क्षमता बढाउनु पर्दछ भन्ने हाम्रो दृढ विश्वास छ । नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्बन्ध केवल कूटनीतिक औपचारिकता होइन, यो विचार, व्यवहार, रणनीति र नीति निर्माणको सघन सहकार्य हो । विगत केही दशकहरूमा हामीबीच भएको उच्चस्तरीय भ्रमण, प्रशिक्षण, कार्यशाला, नीति संवाद र पार्टी–पार्टी सम्बन्धले दुवै पक्षलाई दरिलो वैचारिक परिपक्वता र संगठनात्मक अनुभव प्रदान गरेको छ ।

आज हामी क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिको गहिरो अध्ययन र साझेदारीको अभ्यासमार्फत एकअर्काबाट सिक्ने, सुधार्ने र सशक्त बन्ने प्रक्रियामा छौं । हामी सधैं चीनसँगको सम्बन्धलाई ‘साझा भविष्य निर्माणको साझेदारी’ को रूपमा हेर्छौं– जहाँ दुवै पक्ष बराबरी, पारदर्शिता, दीर्घकालीन मित्रता र परस्पर लाभमा आधारित रहन्छन् । चीनियाँ कम्युनिष्ट पार्टीले छिमेकी देशहरूका बारेमा शान्तिपूर्ण, सुरक्षित, समृद्ध, सुन्दर र मैत्रीपूर्ण घर निर्माण गर्ने साझा दृष्टिकोण प्रस्ताव गरेकोमा म त्यसको सराहना गर्दछु ।

एसिया विविध सभ्यता र संस्कृतिसहित धर्तिको एक तिहाइ भू–भाग ओगटेको र विश्वको दुई तिहाइ जनसङ्ख्या बसोबास गर्ने सुन्दर महादेश हो । त्यसैले एसियाको शान्ति र समृद्धिले विश्वकै शान्ति र समृद्धिका लागि महत्वपूर्ण योगदान गर्दछ । चीनले साझा भविष्यको आदर्श तथा शान्ति, सहयोग, खुलापन र समावेशीताको एसियाली मूल्यहरू पालना गर्ने सिद्धान्तद्वारा निर्देशित राम्रो भविष्यको लागि छिमेकी देशहरूसँग काम गर्ने लक्ष्य राखेको छ । यी प्रस्तावहरू छिमेकी राष्ट्रका मुख्य चासोहरूसँग मिल्दाजुल्दा छन् र यिनले एसियाको विकासको लागि मार्गचित्र कोर्नेछन् ।

महामहिम राष्ट्रपति सी चिनफिङले “जब एसिया राम्रो हुन्छ, सम्पूर्ण विश्वलाई फाइदा हुन्छ” भनेर समेत जोड दिँदै आउनु भएको छ । यो अभिव्यक्तिले छिमेकी राष्ट्रहरूसँग साझा भविष्य भएको समुदाय निर्माण गर्ने चीनको दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ ।

हामी सबैले मिलेर एसियालाई विश्व शान्तिको प्रवक्ता, विकासको इन्जिन र आपसी सहयोगको केन्द्र बनाउने लक्ष्यसहित लचिलोपन, बुद्धिमत्ता र क्षमताको परिचय दिनु आवश्यक छ । हामी विभिन्न मुलुकहरू भिन्न भिन्न हौँ तर साझा भविष्यका लागि अभिन्न हौँ । यसबाट हामीले मार्गदर्शन लिइरहनु पर्दछ । हाम्रो विश्वास छ कि, एसियाली मुलुकहरूबीचको सहकार्य एउटा असल प्रारम्भ हो । यसले एसियाको पुनर्जारणलाई उजागर गरेको छ । त्यसैले, यो संवाद कार्यक्रम केवल एउटा बैठक होइन, बरु यो भविष्य निर्माण प्रक्रियाको महत्वपूर्ण थालनी हो । हामी चाहन्छौं, यस्ता संवादहरू विषयगत र नियमित बनून्– जहाँ नीति समन्वय, वैचारिक बहस, अनुभव साझेदारी र क्षेत्रीय पहलहरूको समीक्षा गर्न सकियोस् । यसले हामीलाई राष्ट्रियस्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमासमेत जिम्मेवार र प्रभावकारी राजनीतिक शक्ति बनाउँछ ।

हामीले भविष्यमा तीनवटा महत्वपूर्ण आयाममा सहकार्यलाई अघि बढाउन सक्नेछौँ:

पहिलो, नीति संवादको संस्थागत संरचना विकास गर्नु आवश्यक छ । पार्टी–पार्टीबीच उच्चस्तरीय नीति संवाद मात्र होइन, विषयगत कार्यसमूहहरू– जस्तै नवप्रवर्तन, हरित विकास, राजनीतिक प्रशिक्षण आदिमा आधारित सहकार्यले व्यवहारिक साझेदारीलाई बल दिन्छ ।

दोस्रो, युवापुस्ताका नेता र कार्यकर्ताबीच अन्तरक्रिया बढाउनु जरुरी छ । आजका युवा भोलिका निर्णायक नेतृत्वकर्ता हुन् । यदि हामीले उनीहरूलाई विचार, कार्यपद्धति र अन्तर्राष्ट्रिय दृष्टिकोणमा सशक्त बनाउन सक्यौं भने दीर्घकालीन दृष्टिमा हाम्रो सम्बन्ध अझ प्रगाढ र दिगो हुन्छ ।

तेस्रो, क्षेत्रीय शान्ति र स्थायित्वमा राजनीतिक दलहरूको योगदानलाई औपचारिक रूपमा स्थापित गर्नु पर्दछ । द्वन्द्वको समाधान तथा दिगो शान्तिको स्थापना, राजनीतिक स्थायित्व, जलवायु संकटको समाधान, आप्रवासनजस्ता विषयहरूमा दलहरूको भूमिका सशक्त र स्पष्ट हुनुपर्छ ।

यो सम्मेलन, यस्ता विषयमा साझा दृष्टिकोण र कार्ययोजना तर्जुमा गर्ने प्रस्थान विन्दु बन्न सक्दछ भन्ने मलाई लागेको छ ।

अन्तमा, म पुनः चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद दिन चाहन्छु, जसले यस्तो दूरदर्शी विषयमा संवाद आयोजना गरेर हाम्रो साझेदारीलाई थप उचाइमा पुर्‍याएको छ ।

नेपाल–चीन मित्रता अमर रहोस् ।

साझा भविष्य निर्माणको हाम्रो संकल्प सफल रहोस् ।

धन्यवाद  ।