जोरपाटी, काठमाडौँ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरू,

मदन भण्डारी फाउण्डेशनका अध्यक्ष तथा पूर्व परराष्ट्र मन्त्री श्री महेन्द्रबहादुर पाण्डे,

प्रतिनिधि सभा सदस्य तथा पूर्व सदस्यहरू,

गोकर्णेश्वर नगरपालिका तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख तथा स्थानीय जनप्रातिनिधिहरू,

आज राष्ट्रिय बाल दिवस ! यस सन्दर्भमा मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रममा सहभागी भई तपाईहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । कार्यक्रममा मलाई सम्झेर निमन्त्रणा गर्नुभएकोमा म तपाईंहरूलाई हार्दिक धन्यवाद दिन्छु, कृतज्ञता व्यक्त गर्दछु । साथै, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, अभिभावक, विद्यार्थी लगायत समस्त विद्यालय परिवारलाई बाल दिवसको बधाई तथा शुभकामना दिन चाहन्छु ।

मदन भण्डारी मेमोरियल विद्यालयसँग मेरो भावना जोडिएको छ । सार्वजनिक शैक्षिक गुठीको रूपमा आजभन्दा १८ वर्ष पहिले स्थापना भएको यस विद्यालयले आफ्नो उद्देश्य अनुरुप सक्षम‚ इमान्दार एवं अनुशासित जनशक्ति उत्पादन गरी मुलुकको विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको छ भन्ने मलाई विश्वास छ । भर्खरै मैले थाहा पाएँ- २०७९ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा यस विद्यालयले उच्च जीपीए सहित शतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भयो । यसका लागि म विद्यालयका शिक्षक, विद्यार्थी एवं अभिभावकहरूलाई हार्दिक बधाई दिन चाहन्छु र भविष्यमा समेत तपाईंहरूले थप सफलता हासिल गर्दै जाने विश्‍वास व्यक्त गर्दछु ।

परीक्षाको सञ्चालन, सहभागिता र त्यसमा हासिल हुने सफलताको आफ्नो महत्व अवश्य पनि छ । तर, शिक्षाको वास्तविक अभिप्राय सबै परीक्षाहरू भन्दा माथि छ । एसईई वा हिजोका एसएलसी परीक्षामा प्राप्त गरिएका ग्रेड वा अंकभन्दा पनि वास्तविक जीवनको परीक्षामा हामीले प्रदर्शन गर्ने सीप, कौशल र आँटले हाम्रो शिक्षाको स्तर मापन गर्दछन् भन्ने यथार्थलाई हामीले भुल्नु हुँदैन । तसर्थ मेरो चाहना के छ भने यस विद्यालयका विद्यार्थीहरूले विभिन्न परीक्षामा राम्रो ग्रेड वा अंक त ल्याउनु नै पर्दछ, तर त्यसभन्दा पनि अगाडि बढेर जीवनका हरेक परीक्षामा उत्तीर्ण हुने दक्षताको जग पनि बसाल्नुपर्दछ । जननेता मदन भण्डारीले देख्नुभएको असल शिक्षाको सपना पनि त्यहि हो भन्ने मलाई लाग्दछ । उहाँको सुनामसँग जोडिएको यस विद्यालयले आफूलाई शिक्षा क्षेत्रको अग्रणी संस्थाका रूपमा विकास गर्न त्यसैअनुरुप कार्य गर्दै जाने विश्वास व्यक्त गर्दछु ।

व्यक्तिको सर्वाङ्गीण विकास गरी असल, योग्य, प्रतिस्पर्धी र उत्पादनशील जनशक्ति तयार गर्ने भएकाले शिक्षालाई मुलुकको विकासका निम्ति पूर्वाधारको पनि पूर्वाधार मान्ने गरिएको छ । राष्ट्रको विकास र समृद्धिका लागि उपलब्ध स्रोत र साधनहरूको दिगो उपयोग गर्न आवश्यक प्राविधिक, बौद्धिक र व्यवस्थापकीय क्षमताको विकास गर्नु शिक्षाको मूलभूत उद्देश्य हुनु पर्दछ । तसर्थ हाम्रो मुलुकमा उपलब्ध प्राकृतिक स्रोत, मानव स्रोत तथा सांस्कृतिक सम्पदाहरूमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्न आवश्यक पर्ने दक्ष मानव स्रोत विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधिहरू उन्मुख हुनुपर्दछ ।

एकातिर हाम्रा सामु विश्व श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्ने बौद्धिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने चुनौति रहेको छ भने अर्कातिर परिवार, समाज र राष्ट्रप्रति जिम्मेवारीको बोध भएका इमान्दार, अनुशासित,  नैतिकवान र श्रमको सम्मान गर्ने देशभक्त नागरिक तयार पार्ने शिक्षाको खाँचो रहेको छ ।

आज यहाँ उपस्थित विद्यार्थी भाइबहिनीहरू/ छोराछोरीहरूको अनुहारमा म मुलुकको भविष्यको सपना देखिरहेको छु । तपाईंहरू जस्तै आज विद्यालय जाने लाखौँ बालबालिकाको बीचबाट नै भोलि हाम्रो देशको नेतृत्व गर्ने वैज्ञानिक, डाक्टर, इन्जिनियर, शिक्षक, खेलाडी, नेताहरू अगाडि आउने हो । तसर्थ, देशप्रतिको माया, चन्द्र सूर्य अंकित झण्डाप्रतिको गौरवबोध तथा कुनै पनि शक्तिसँग कहिल्यै नझुकेको हाम्रो स्वाधीन इतिहासबाट प्रेरणा लिंदै मुलुकको उन्नतिको सपना सबैका आँखामा हुनुपर्दछ । हाम्रो शिक्षाले, विद्यालयहरूले र शिक्षक-शिक्षिका मित्रहरूले भाइबहिनिहरूलाई त्यो जीवनदृष्टि दिन सक्नुपर्दछ ।

यसका अतिरिक्त, व्यावहारिक जीवनमा शिक्षाको सम्बन्ध रोजगारी र आय आर्जनसँग प्रत्यक्ष रूपले गाँसिएको हुन्छ । हाल विद्यालय तहको अध्ययन पूरा गरेका विद्यार्थीहरूको ठूलो सङ्ख्या उच्च शिक्षा हासिल गर्ने तहसम्म नपुग्नु, उच्च अध्ययन गरिरहेकाहरूले समेत बिचैमा अध्ययन छाड्नुपर्ने अवस्था आउँनु र उच्च शिक्षा हासिल गरेका जनशक्तिले योग्यताअनुरुप रोजगारीको अवसर नपाउनु विडम्बनाको विषय हो । यसैगरी, गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा उत्पादनशील युवा जनशक्ति विदेश पलायन हुने बढ्दो प्रवृत्ति चिन्ताजनक रहेको छ । यसलाई न्यूनीकरण गर्नका लागि हामीले युवा विद्यार्थीहरूका लागि स्वदेशमै गुणस्तरीय शिक्षा एवं रोजगारीका अवसरहरू सिर्जना गर्नु पर्दछ । साथै, हाम्रो शैक्षिक पाठ्यक्रमलाई उत्पादन र रोजगारीसँग जोड्नै पर्दछ । अनि, विदेशका प्रतिष्ठित शैक्षिक संस्थाहरूमा अध्ययन गरेका नेपाली नागरिकहरूको ज्ञान र सीपलाई स्वदेशको विकासमा परिचालित गर्ने दृष्टिकोण, योजना र कार्यक्रम समेत आवश्यक पर्दछ ।

बहुमूल्य प्राकृतिक स्रोतले भरिपूर्ण हाम्रो देशमा कृषि, जडीबुटी, उर्जा र पर्यटनको क्षेत्रमा विकासका प्रचुर सम्भावनाहरू छन् । तर हाम्रो शिक्षा प्रणाली उत्पादनसँग जोडिन सकेको छैन । कृषि प्रधान भनिएको हाम्रो देशको शिक्षालाई कृषिसँग मात्र जोड्न सक्ने हो भने पनि हामीलाई अन्न, फलफूल, सागपात, माछा मासु लगायत कृषिजन्य वस्तुमा समेत परनिर्भर बन्नुपर्ने थिएन । हाम्रो शिक्षाको चिन्तनमा यी विषयहरू कुनै न रूपले प्रतिविम्बित हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।

अन्त्यमा, यस विद्यालयलाई स्थापनाकालदेखि यहाँसम्म ल्याइपुर्‍याउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू‚ प्रधानाध्यापक‚ शिक्षक वर्ग‚ अभिभावक तथा विद्यार्थीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।

यस विद्यालयलाई एक उत्कृष्ट नमूना विद्यालयको रूपमा विकास गर्न तपाईँहरू सफल हुनुहुनेछ भन्ने आशा एवं विश्‍वासका साथ सम्पूर्ण विद्यालय परिवारप्रति म पुन: बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०८० भदौ २९ गते बिहीबार ।