सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले नेपाल बाल संगठनद्वारा आयोजित ‘बालमन्दिरको संरक्षणमा रहेर विदा भएका व्यक्तित्वहरूको खोजी, भेटघाट, पुनर्ताजगी तथा पुनर्मिलन कार्यक्रम’मा गर्नुभएको सम्बोधन

बालमन्दिर, नक्साल ।
नेपाल बाल संगठनको अध्यक्ष लगायत समस्त बाल संगठन परिवार,
यहाँ उपस्थित हुनुभएका विशिष्ट महानुभावहरू,
बालमन्दिरको संरक्षणमा रही विदा हुनु भएका व्यक्तित्वहरू,
कार्यक्रममा सहभागी बालबालिकाहरू ।
बालबालिकाको क्षेत्रमा काम गर्ने नेपालकै सबभन्दा पुरानो संस्था नेपाल बाल संगठन अर्थात् बालमन्दिरले ‘बालमन्दिरको संरक्षणमा रहेर विदा भएका सन्ततीहरूको खोजी, भेटघाट, पुनर्ताजगी तथा पुनर्मिलन कार्यक्रम’ आयोजना गरेकोमा मलाई अत्यन्त खुसी लागेको छ । आफूद्वारा संरक्षकत्व प्रदान गरिएका सन्ततिहरूको खोजीनिती गरी उनीहरूसँगको सम्बन्धलाई पुनर्स्थापित गर्ने उद्देश्यले नेपाल बाल संगठनले सम्भवत: पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको हो । नेपाल बाल संगठनले गरेको यस सुखद् ऐतिहासिक पहलका लागि म संगठनको अध्यक्ष सहित पदाधिकारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
नेपाल बाल संगठनको स्थापनापछिका ६ दशकको अवधिमा मुलुकभरिका ठूलो सङ्ख्यामा बालबालिकाहरूले बालमन्दिरमा आश्रय पाएका छन् । बालमन्दिरको संरक्षणमा रही विदा भएपश्चात स्वदेश तथा विदेशमा छरिएर बसेका सन्ततिहरूमध्ये कैयौँले सामाजिक जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्न समेत सफल भएका छन् । तर हामीसँग बालमन्दिरबाट विदा भएका वा स्तरोन्नति भएर गएका सन्ततिहरूको यकिन तथ्याङ्क वा अभिलेख उपलब्ध नहुनु दु:खको कुरा हो । बालमन्दिरबाट भइरहेको यस पहलबाट स्वदेश तथा विदेशमा रहेका सन्ततिहरूको पुनर्मिलन हुनुका साथै उनीहरूले जीवनमा भोगेका सुख दु:खका साथै हासिल गरेका उपलब्धीहरू समेत आपसमा साझा गर्ने अवसर प्राप्त हुनेछ । यसका साथै, यस कार्यक्रमको माध्यमबाट पुनिर्मिलन भएका बाल मन्दिरबाट विदा भई विविध क्षेत्रमा सफल भएका सन्ततिहरूले बालमन्दिरका लागि सद्भभावना दूतको भूमिका समेत निभाउन सक्दछन् भन्ने मलाई लागेको छ ।
छ दशक अघि, आजभन्दा निकै फरक परिवेशमा अविभावकविहीन अवस्थामा रहेका बालबालिकाहरूलाई संरक्षण, पालनपोषण, स्वास्थ्य र शिक्षा निःशुल्क रूपले प्रदान गर्ने मूल उद्देश्यका साथ नेपाल बाल संगठनको स्थापना भएका हो । नेपाल बाल संगठन मुलुकका सबैजसो जिल्लामा शाखा स्थापना गरी जोखिम परिस्थितिमा रहेका बालबालिकाका लागि सेवा प्रदान गर्दै आएको एक अग्रणी संस्थाको रूपमा स्थापित भैसकेको छ । स्थापनाका सुरुवाती वर्षहरूमा बालमन्दिरसँग जग्गा जमीन लगायत उल्लेख्य मात्रामा अचल सम्पत्ति रहेको थियो । तर पछिल्ला दशकहरूमा तिनको उचित संरक्षण एवं व्यवस्थापन हुन नसक्दा र सरकारले समेत यसप्रति आवश्यक चासो नदिँदा हाल यस संस्थाले आर्थिक अभावको सामना गर्नु परिरहेको छ ।
बालबालिका जुनसुकै ठाउँमा, जस्तोसुकै परिवेशमा जन्मेहुर्के पनि उनीहरूको आधारभूत आवश्यकताहरू माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । तसर्थ, बालबालिकाप्रति राज्यको दायित्व तथा यस सम्बन्धमा राज्यले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयन गर्न नेपालको संविधानले बालबालिकाको अधिकारलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यसलाई आत्मसात गर्दै बालबालिकासम्बन्धी ऐन, २०७५ लगायत विभिन्न नीतिगत व्यवस्था गरी बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षण जस्ता विषयहरूमा उल्लेख्य कार्यहरू हुँदै आएका छन् ।
यस सन्दर्भमा, विविध कारणबाट अभिभावकत्वबाट बञ्चित बन्न पुगेका बालबालिकाका लागि विगत छ दशकदेखि संरक्षकत्व प्रदान गर्दै आएको महत्वपूर्ण संस्था नेपाल बाल संगठनको सञ्चालन एवं व्यवस्थापनका लागि आवश्यक भौतिक संरचनाका साथै आर्थिक एवं मानवीय स्रोतको उचित व्यवस्था गर्नका लागि समेत सरकारको विशेष ध्यान जानु आवश्यक छ ।
आजका बालबालिकाहरू भविष्यका जिम्मेवार नागरिक हुन् । बालबालिकाको सर्वाङ्गीण विकासमा नै राष्ट्रको सुखद् भविष्य निहित हुन्छ । तसर्थ, तिनै बालबालिकाको सर्वोपरि हित र अधिकारका लागि समर्पित नेपाल बाल संगठनले थालनी गरेको यो सुखद् सुरुवातका लागि म धन्यवाद दिन चाहन्छु ।
अन्तमा, परिस्थितिजन्य कारणबाट कुनै समय बालमन्दिरमा आश्रय लिनु भएका र यहाँबाट विदा भएपछि आफ्नो मेहेनत र पौरखबाट विभिन्न क्षेत्रमा सफलता हासिल गरी आज यस कार्यक्रममा सहभागी हुनुभएका व्यक्तित्वहरूलाई म हार्दिक बधाई दिदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।
२०८१ मङ्सिर २२ गते शनिबार ।