श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागद्वारा आयोजित ‘दक्षिण एशियाका विविध सामाजिक-सांस्कृतिक एवं भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारहरूको अनुकूलन क्षमताको मूल्याङ्कन’ विषयक अनुसन्धानको नतिजा सार्वजनिक गर्ने कार्यक्रम (Final Dissemination Workshop) मा गर्नुभएको सम्बोधन

होटल मल्ल, लैनचौर, काठमाडौं ।
कार्यक्रमका सभाध्यक्ष,
राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष,
विभिन्न विश्वविद्यालयका कुलपति, उप–कुलपति एवं पदाधिकारीहरू,
अनुसन्धानमा सहकार्य गर्नुहुने नेपाल, चीन, भारत र बंगलादेशका विश्वविद्यालय तथा संस्थानका अनुसन्धानकर्ताहरू,
उपस्थित विद्वत् व्यक्तित्वहरू,
सञ्चारकर्मीहरू,
दिदिबहिनी तथा दाजुभाइहरू ।
त्रिभूवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागद्वारा नेपाल, चीन, भारत र बंगलादेशका प्रतिष्ठित पाँच विश्वविद्यालय तथा संस्थानहरूको सहकार्यमा सम्पन्न गरिएको ‘दक्षिण एसियाका विविध सामाजिक-सांस्कृतिक एवं भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारहरूको अनुकूलन क्षमताको मूल्याङ्कन’ विषयक वृहत् अनुसन्धानबाट प्राप्त नतिजाहरूलाई प्राज्ञिक वर्ग तथा सम्बद्ध पक्षहरू समक्ष पुऱ्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सहभागी भएर यस क्षेत्रका बौद्धिक व्यक्तित्वहरूसँग साक्षात्कार गर्ने अवसर प्रदान गर्नु भएकोमा म आयोजकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
जलवायु परिवर्तन आज एक प्रमुख विश्वव्यापी समस्याको रूपमा देखा परेको छ । यसबाट वातावरण तथा मानव जीवन दुवैमा दूरगामी प्रभाव परिरहेको छ । जलवायु परिवर्तनका लागि मुख्य कारकको रूपमा रहेको हरित गृह ग्यासको उत्सर्जनका लागि मुलत: विकसित तथा औद्योगिक राष्ट्रहरू जिम्मेवार रहेको भएतापनि हाम्रो देश नेपाल जलवायु परिवर्तनको नकारात्मक प्रभावको जोखिम उच्च रहेका विश्वका प्रमुख राष्ट्रहरूमध्येमा पर्दछ । त्यसैले, आज जलवायु परिवर्तनका कारण गम्भीर क्षति व्यहोरिरहेका नेपाल लगायत पर्वतीय मुलुकहरूका साथै टापु राष्ट्रहरू जलवायु न्यायका लागि एकजुट हुनुपर्ने परिस्थित उत्पन्न भएको छ ।
नेपालमा विगत केही दशकयता बाढी, पहिरो, डढेलो तथा खडेरी जस्ता जलवायुजन्य प्रकोपहरूका कारण ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ । जलवायु परिवर्तनका कारण जीवनको आहाराको रूपमा रहेको कृषि क्षेत्रले गम्भीर रूपमा नकारात्मक प्रभावको सामना गर्नु परिरहेको छ । साथै, हाम्रो सामाजिक–आर्थिक विकास, मानव स्वास्थ्य, जैविक विविधता, जलस्रोत, पर्यटन, ऊर्जा तथा पूर्वाधार विकासका क्षेत्रहरूमा समेत जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू सघन रूपमा देखा पर्दै गएका छन् ।
पृथ्वीमा तापमान वृद्धिका कारण हिउँ पग्लेर हाम्रा हिमालहरू कालापत्थरमा परिणत हुने, हिमतालहरू पग्लिने र विस्फोट हुने, पहाडी क्षेत्रमा बाढी–पहिरो र सुक्खा खडेरी तथा तराई मधेसमा बाढी तथा डुबानका घटनाहरू अस्वभाविक रूपमा देखिन थालेका छन् । साथै, पानीका स्रोतहरू सुक्ने, वन डढेलो लाग्ने तथा मानिस, पशुपंक्षी र बोटविरुवामा नयाँ रोगको प्रकोपमा वृद्धि जस्ता नकारात्मक असरहरू समेत देखा परिरहेका छन् ।
विरलै पानी पर्ने नेपालका हिमाली जिल्लाहरूमा पछिल्ला वर्षहरूमा अस्वभाविक रूपमा बाढी आउनुलाई वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण उत्पन्न खतराको सङ्केतका रूपमा लिएका छन् । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा भएको भारी वर्षा, मेलम्ची, इन्द्रावती खोला र हालै सोलुखुम्बुको थामेमा आएको भीषण बाढीका कारण भएको ठूलो भौतिक क्षतिलाई हामीले यसैको उदाहरणका रूपमा लिन सक्दछौँ ।
जलवायु परिवर्तनले हाम्रो समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई समेत थप फराकिलो बनाइदिएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, सुख्खा खडेरी र डढेलो जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ ।
जलवायु परिवर्तनका नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्न अनुकूलन क्षमता वृद्धि गर्नका लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता पर्दछ । यस प्रकारका अनुसन्धानबाट जलवायु अनुकूलन क्षमतामा प्रभाव पार्ने प्रमुख कारक तत्वहरूको पहिचान गर्दै सोही अनुरुप अनुकूलनका दिगो र प्रभावकारी उपायहरूको अवलम्बन गर्न सघाउ पुग्दछ । यस सन्दर्भमा, जनसङ्ख्याको ठूलो हिस्साले कृषिलाई जीविकोपार्जनको प्रमुख माध्यमका रूपमा अवलम्बन गर्दै आएका नेपाल, भारत, बंगलादेश जस्ता दक्षिण एसियाली मुलुकका साथै चीनमा समेत गरिएको यस अनुसन्धानका निचोडहरू यस क्षेत्रका किसानहरूलाई जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतिहरूको सामना गर्न सक्षम बनाउनका लागि उपयोगी हुनेछन् भन्ने मलाई लागेको छ ।
नेपालमा जलवायु परिवर्तनका लागि किसानहरूको अनुकूलन क्षमतामा प्रभाव पार्ने कारक तत्वहरूको बारेमा सीमित अध्ययन भएको सन्दर्भमा ‘नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती र उपायहरू तथा नीतिगत सवाल’ शीर्षकमा तयार पारिएको अध्ययनका निचोडहरू जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकुलनसम्बन्धी नीति, रणनीति तथा कार्यक्रमहरूको तर्जुमा र तिनको कार्यान्वयनमा सहयोगी हुने मैले ठानेको छु । यस अनुसन्धानबाट प्राप्त तथ्यहरूको आधारमा नीतिगत सुधारहरू गर्दै जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकुलनसम्बन्धी विभिन्न तहका योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध निकायहरू र ज्ञान उत्पादन केन्द्रका रूपमा रहेका विश्वविद्यालयहरूको बिचमा आपसी समन्वय र सहयोगको आवश्यकता छ भन्ने मलाई लाग्दछ ।
त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रिय विभागले आफ्नो पहल र नेतृत्वमा यस प्रकारको समय सान्दर्भिक अनुसन्धान सम्पन्न गरेकोमा म विभागका प्रमुख सहित अनुसन्धान टोलीका प्रमुख प्रा.डा. प्रेम सागर चापागाइँ र अनुसन्धान टोलीका सदस्यहरूलाई हार्दिक बधाई दिन चाहन्छु । साथै, यस अनुसन्धानका लागि सहयोग प्रदान गर्ने एलायन्स अफ इन्टरनेसनल साइन्स अर्गनाइजेसन्स् (ANSO), बेइजिङ, चीनका साथै अनुसन्धानमा सहकार्य गर्ने चीन, भारत र बंगलादेशका विश्वविद्यालय तथा संस्थानका अनुसन्धाताहरूलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा, यस महत्वपूर्ण कार्यक्रममा सहभागी भएर यहाँहरूसमक्ष आफ्ना केही भनाइहरू राख्ने मौका दिनुभएकोमा आयोजकहरूलाई फेरि पनि धन्यवाद दिँदै कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु ।
धन्यवाद ।
२०८१ मङ्सिर २० गते विहीबार ।