पर्यटन बोर्डको सभाकक्ष, प्रदर्शनी मार्ग, काठमाडौँ ।

पुरस्कार वितरण समारोहका सभाध्यक्ष,

जीवन विकास समाजका पदाधिकारीहरू,

पुरस्कार छनौट समितिका सदस्यहरू,

सञ्चारकर्मी मित्रहरू,

उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।

जीवन विकास समाज, मोरङद्वारा आयोजित ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार २०८१’ वितरण समारोहमा सहभागी भई सामाजिक सेवा तथा शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । नेपालले अन्तर्राष्ट्रिय रूपमा प्रतिबद्धता जनाएको दिगो विकास लक्ष्य हासिल गर्नका लागि योगदान पुर्‍याउन गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले यस प्रकारको पुरस्कार स्थापना गरेकोमा म जीवन विकास समाज र यसका सञ्चालकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

विगत तीन दशकदेखि भूमिहीन, सीमान्तकृत तथा पिछडिएका समुदायको सामाजिक–आर्थिक सशक्तीकरण र जीविकोपार्जन सुधारका क्षेत्रमा, खासगरी नेपालका पूर्वी जिल्लाहरूमा क्रियाशील जीवन विकास समाजले आफ्ना उत्कृष्ट कार्यका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समेत प्राप्त गर्दै आएको छ । यस संस्थाले शिक्षाको गुणस्तर सुधारका लागि उत्कृष्ट कार्य गरे वापत सन् २०१७ मा ‘द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्ट’ द्वारा प्रदान गरिएको ‘एजीफन्ड अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको थियो । सो पुरस्कार वापत प्राप्त भएको तीन लाख अमेरिकी डलर बराबरको राशिमा यस संस्थाले आन्तरिक स्रोतबाट त्यत्ति नै रकम थपेर  छ करोड रुपैयाँको अक्षय कोष स्थापना गरी उक्त कोषबाट नेपालमा गुणस्तरीय शिक्षामा टेवा पुराउने सामुदायिक विद्यालय, संघ–संस्था र पत्रकारहरूलाई ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार’ प्रदान गर्दै आएको छ ।

म राष्ट्रपति रहेकै समयमा, यो पुरस्कार पहिलो पटक २०७९ साल जेठ २५ गते राष्ट्रपति भवन, शीतल निवासमा प्रदान गरिएको कुरा यहाँ म स्मरण गर्न चाहन्छु । आज, दोस्रो चरणको पुरस्कार वितरण समारोहमा समेत पुनः सहभागी हुन पाउँदा म अत्यन्त हर्षित भएको छु । एक गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय पुरस्कारवापत प्राप्त रकमबाट यस प्रकारको पुरस्कार स्थापना गरी दिगो विकास लक्ष्य हासिल गर्न गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा पुर्‍याएको योगदान सराहनीय छ ।

नेपालले दिगो विकास लक्ष्य अन्तर्गत लक्ष्य नम्बर ४ "गुणस्तरीय शिक्षा" मा विशेष प्रतिबद्धता जाहेर गरेको छ । यस लक्ष्यअनुसार सबै नागरिकलाई समावेशी, समान र जीवनोपयोगी शिक्षामा पहुँच सुनिश्चित गर्दै गुणस्तरीय सिकाइका अवसरहरू प्रदान गर्ने उद्देश्य राखिएको छ । तसर्थ, गुणस्तरीय शिक्षाका बारेमा नेपालले जाहेर गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच समन्वयात्मक सहकार्य अत्यावश्यक छ ।

यसका लागि, संघीय सरकारले शिक्षा नीति निर्माण, पाठ्यक्रम सुधार, शिक्षक व्यवस्थापन तथा स्रोत परिचालनमा ध्यान दिनुपर्छ भने प्रदेश सरकारले क्षेत्रगत आवश्यकताअनुसार शैक्षिक कार्यक्रमहरूको कार्यान्वयन र अनुगमन गर्नु पर्दछ । स्थानीय तहले विद्यालय व्यवस्थापन, भौतिक पूर्वाधार सुधार, शिक्षामा समावेशिता र प्रविधिको पहुँच विस्तारमा विशेष ध्यान दिनुपर्दछ भने गैरसरकारी संस्थाहरूले शिक्षामा नवप्रवर्तन, सीपमूलक कार्यक्रम, छात्रवृत्ति र सामुदायिक सहभागिता प्रवर्द्धनमा सहयोग गर्न सक्दछन् । यसैगरी, निजी क्षेत्रले प्रविधिमैत्री शिक्षा, व्यवसायिक तथा प्राविधिक शिक्षा, विद्यालय पूर्वाधार विकास तथा अनुसन्धानमा लगानी गरी शिक्षाको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

गुणस्तरीय शिक्षा राष्ट्रको समृद्धिको आधारशिला हो । मुलुकको आन्तरिक आवश्यकताहरू पूरा गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादनका लागि व्यवहारिक, प्राविधिक र नवप्रवर्तनात्मक शिक्षा आवश्यक हुन्छ ।

यसैगरी, हामीले मुलुकमा उपलब्ध प्राकृतिक स्रोत र साधनको दिगो उपयोग गर्दै स्वदेशी उत्पादनमा वृद्धि तथा रोजगारीका अवसर सिर्जना गरी देशको अर्थतन्त्रलाई सबल र सुदृढ बनाउनु आवश्यक छ । यसको लागि प्रभावकारी व्यवस्थापन क्षमता भएका दक्ष जनशक्तिको आवश्यकता हुन्छ । नवीन सोच, आधुनिक प्रविधिको प्रयोग र व्यावसायिक दक्षता भएका जनशक्तिले मात्र उत्पादनशीलता वृद्धि गर्दै दिगो आर्थिक विकासलाई सुनिश्चित गर्न सक्छ । त्यसैले, शिक्षा प्रणालीलाई समयानुकूल सुधार गर्दै स्रोत व्यवस्थापन र उद्यमशीलता प्रवर्द्धन गर्न शिक्षालाई उत्पादनसँग जोड्नै पर्दछ ।

अन्तमा, आजको यस कार्यक्रममा पुरस्कृत हुने सामुदायिक विद्यालयहरू तथा पत्रकार मित्रहरूलाई हार्दिक बधाई दिँदै उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।  

धन्यवाद ।

२०८१ साल चैत्र १२ गते ।