अप्पन विराटगढ परोपकार समाज, मोरङद्वारा आयोजित ‘१३औं अन्तर्राष्ट्रिय जितीया पर्व समारोह २०८१’ मा गर्नुभएको सम्बोधन

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्राङ्गण, विराटनगर ।
१३औं अन्तर्राष्ट्रिय जितीया पर्व समारोहका सभाध्यक्ष,
अप्पन विराटगढ परोपकार समाज, मोरङका पदाधिकारीहरू,
विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू,
विद्वत वर्ग,
सञ्चारकार्मीहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।
अप्पन विराटगढ परोपकार समाज, मोरङले म आफूले अध्ययन गरेको यस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना गरेको ‘१३औं अन्तर्राष्ट्रिय जितीया पर्व समारोह’ मा सहभागी भई नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मैथिल तथा थारु समुदायका महिला दिदीबहिनीहरूसँग जितीया पर्वको शुभकामना आदानप्रदान गर्ने अवसर पाएकोमा मलाई अत्यन्त खुसी लागेको छ । यसका लागि म आयोजकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यस अवसरमा, म स्वदेश तथा विदेशमा रहनु भएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालको तराई क्षेत्रमा जितीयालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्त्वपूर्ण चाडका रूपमा लिइन्छ । प्रत्येक वर्ष आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म तीन दिन हर्षोल्लासका साथ मनाइने जितिया पर्वमा मधेशी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।
यस महान लोकपर्व जितीयाको सन्दर्भमा समृद्ध मिथिला सभ्यता र संस्कृतिलाई जीवित राख्न, मैथिली भाषा-संस्कृति सँगसँगै लोककला, लोक परम्परालाई अक्षुण्ण राख्ने पवित्र उद्देश्यका साथ अप्पन विराटगढ परोपकार समाज, मोरङले विगत १३ वर्ष (२०६९ साल) देखि निरन्तर रूपमा ‘अन्तर्राष्ट्रिय जितीया पर्व समारोह’को आयोजना गर्दै आएको कुरा प्रशंसनीय छ । अन्तर्राष्ट्रिय जितीया पर्व समारोहको अवसरमा नेपाल र भारतका ख्यातिप्राप्त मैथिली कलाकारहरूद्वारा गीत, संगीत, नृत्य र झाँकी प्रस्तुति, मिथिला चित्रकला प्रदर्शनी, विभिन्न सामाजिक अभियन्ताहरूलाई सम्मानका साथै जितीया पर्वको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे संस्कृतिविद्हरूद्वारा गरिने विमर्श लगायत रचनात्मक क्रियाकलापका माध्यमबाट मधेशी समुदायको भाषा, साहित्य एवं संस्कृतिको संरक्षण, सम्वर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने मैले विश्वास लिएको छु ।
भौगोलिक‚ सामाजिक र सांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा मनाइने यस्ता सांस्कृतिक पर्वहरूले परिवार र समुदायका सदस्यहरूको बीचमा आपसी प्रेम‚ विश्वास‚ सद्भाव र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भूगोलका संपूर्ण नेपालीहरूका बीचमा समेत परस्पर सद्भाव‚ सहिष्णुता‚ समझदारी र ऐक्यवद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।
नेपालको समग्र इतिहासमा मिथिला क्षेत्रको विशिष्ट स्थान छ । जनक सभ्यताद्वारा अनुप्राणित यो क्षेत्र प्राचिन कालदेखि नै तपोभूमिको रूपमा रहँदै आएको छ । यो भूमि प्राचीन ऋषिहरूको ज्ञान विवेचना र मीमांसाको थलो हो । अष्टावक्र, याज्ञवल्क्य, गार्गी र मैत्रेयी जस्ता विद्वान विदुषीहरूले यसै भूमिमा साधना गरेका हुन् ।
प्रसिद्ध मैथिली साहित्यकार विद्यापति समेतको योगदानले नेपालको मौलिक वाङ्मयलाई समृद्ध तुल्याएको छ । तथापि, जनकनन्दिनी सीताको जन्मस्थल समेत रहेको यस भूमिमा आजसम्म पनि जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षाले सिर्जित गरिबीको समस्या हुनु हाम्रो लागि चुनौति बनेको छ । अझैपनि बालविवाह, अनमेल विवाह, दहेज र तिलक प्रथा तथा बोक्सीप्रथा जस्ता विकृति विसंगति हुनु दुःखको विषय हो । यसको अन्त्य गर्न इतिहासबाट प्रेरणा लिँदै वर्तमानमा हामीले प्रयास गर्नुपर्दछ ।
हाम्रो मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता चाड पर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार समेत गर्दै जानु पर्दछ भन्ने मलाई लागेको छ । खासगरी, २४ देखि ३६ घण्टासम्म निर्जला व्रत बस्दा महिलाहरूले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा विशेष सावधानी अपनाउनु आवश्यक देखिन्छ ।
आजको यस कार्यक्रममा विभिन्न विधामा सहभागी हुनु भएका प्रतिभाशाली कलाकार, सांस्कृतिक विमर्शमा महत्वपूर्ण विचार व्यक्त गर्नुहुने विद्वत वर्ग, कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान गर्नुहुने सञ्चारकर्मी तथा सामाजिक–सांस्कृतिक अभियन्ताहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, आज सम्मानित हुनु भएका महानुभावहरूलाई म हार्दिक बधाई दिन चाहन्छु ।
अन्तमा‚ जितीया पर्वको अवसरमा पुन: सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै अप्पन विराटगढ परोपकार समाज, मोरङको उत्तरोत्तर प्रगतिको समेत कामना गर्दछु ।
धन्यवाद
२०८१ साल असोज ३ गते बिहिवार ।