सम्माननीय श्रीमती विद्यादेवी भण्डारी (पूर्व राष्ट्रपति)ले थुक्छे छोयलिङ्ग गुम्बा, धर्मचक्र महाविहारद्वारा आयोजित ‘थुक्छे छोयलिङ्ग गुम्बा शिलान्यास समारोह’मा गर्नुभएको सम्बोधन

लुम्बिनी, कपिलवस्तु ।
गुम्बा शिलान्यास समारोहका सभाध्यक्षज्यू,
लुम्बिनी प्रदेशका मुख्य मन्त्री,
प्रतिनिधिसभाका माननीय सदस्यहरू,
प्रदेश सभाका माननीय सदस्यहरू,
लुम्बिनी विकास कोषका उपाध्यक्ष,
राष्ट्रसेवकहरू,
सञ्चारकर्मीहरू,
एवं उपस्थित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा निर्माण हुन लागेको थुक्छे छोयलिङ्ग गुम्बाको शिलान्यास समारोहमा सहभागी भएर बौद्ध दर्शन तथा बौद्ध शिक्षासँग सम्बन्धित अग्रणी व्यक्तित्वहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने अवसर प्रदान गर्नु भएकोमा म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु ।
संसारका करोडौँ बौद्धमार्गीहरूले जीवनमा कम्तीमा एक पटक दर्शन गर्न चाहने यस पवित्र तीर्थस्थल लुम्बिनीको धार्मिक, सांस्कृतिक, आध्यात्मिक तथा ऐतिहासिक महत्व रहेको छ । यस पावन भूमिमा पाइला टेक्दा मलाई अनुपम आनन्द र गौरवको अनुभूति हुन्छ । सम्भवत: अरूलाई पनि यस्तै अनुभूति हुन्छ होला । यही कारणले लुम्बिनीको भ्रमण मेरो उच्च प्राथमिकतामा रहँदै आएको छ ।
नेपालमा अवस्थित यस अमूल्य विश्व सम्पदा क्षेत्रमा निर्माण गरिने थुक्छे छोयलिङ्ग गुम्बाले लुम्बिनीको धार्मिक तथा आध्यात्मिक गरिमा अभिवृद्धि हुनाको साथै यसबाट विभिन्न बौद्धमार्गी मुलुकहरू सहित विश्वभरिका पर्यटकहरूलाई आकर्षित गर्न समेत महत्वपूर्ण योगदान पुग्नेछ भन्ने मैले ठानेको छु ।
गौतम बुद्धको जन्म नेपालमा हुनु र विश्व सम्पदा सूचीमा सूचीकृत हुनु हामी नेपालीहरूका लागि अपार गौरवको विषय हो । ईशापूर्व ६२३ मा लुम्बिनीको पवित्र भूमिमा जन्मिएका बुद्धले समस्त मानवजातिलाई अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो । उहाँको शिक्षाले संसारभरका करोडौँ मानिसलाई प्रेरित गरिरहेको छ । तर आज पनि संसारका कतिपय विकसित र शक्तिशाली देशहरू बिच शस्त्रास्त्रको होडबाजीका कारण सर्वसाधारण नागरिक गोला बारुदको सिकार बन्नुपर्ने, हिंसाको डर र त्रासमा तनावपूर्ण जीवन जीउनु पर्ने अवस्थामै छन् । त्यसैले बुद्धका शान्ति र करूणाको सन्देश र शिक्षाको सान्दर्भिकता र महत्व आजको दिनमा अझ बढ्न गएको छ ।
बुद्धको जन्मस्थल लुम्बिनी क्रमिक रूपमा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र समेत बन्दै गएको छ, जसले नेपालको ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई विश्वमञ्चमा अझ मजबुत बनाएको छ । त्यसैले, यस महान् सम्पदाको संरक्षण, प्रवर्द्धन तथा प्रचार–प्रसार गर्नु हामी सम्पूर्ण नेपालीहरूको कर्तव्य हो । लुम्बिनी केवल बुद्धको जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गम स्थल पनि भएकाले यसलाई बौद्ध शिक्षा र बौद्ध दर्शनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गरिनु पर्दछ । विश्वभरिका बौद्धमार्गीहरूको आस्थाको केन्द्रको यस पवित्र भूमिमा अध्ययन, अनुसन्धान तथा आध्यात्मिक साधनाका लागि उत्कृष्ट संरचनाहरूको आवश्यकता छ ।
यहाँ स्थापना भएको लुम्बिनी बौद्ध विश्व विद्यालयलाई थप साधन स्रोतले सम्पन्न बनाउँदै लुम्बिनीलाई बौद्ध शिक्षा र दर्शनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न सकियो भने यसले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै विश्वभर शान्ति र अध्यात्मको सन्देश फैलाउन समेत महत्वपूर्ण भूमिका खेल्नेछ । साथै, यस प्रतिष्ठित प्राज्ञिक केन्द्रबाट उत्पादित विद्वान विदुषीहरूले बुद्धका सन्देशलाई विश्वभर फैलाएर शान्तिदूतको भूमिका समेत निर्वाह गर्न सक्दछन् । यसैले, अन्तर्राष्ट्रिय दातृ राष्ट्र, धार्मिक संघसंस्था, संघीय तथा प्रदेश सरकार एवं स्थानीय तहको सहकार्यमा लुम्बिनीलाई अध्ययन, अनुसन्धान तथा साधनाका लागि विश्वस्तरीय केन्द्रका रूपमा विकास गर्न विशेष ध्यान दिनु आवश्यक छ । यसका लागि लुम्बिनी विकास कोषले तयार पारेको गुरु योजनाको कार्यान्वयन गरेर यहाँको पूरातात्विक, सांस्कृतिक पक्षको संवर्द्धन र पर्यटन प्रवर्द्धनमा योगदान गर्न अब ढिलाई गर्नु हुँदैन । यस प्रकारको बौद्ध गुम्बा तथा विहार जस्ता संरचनाहरूको विस्तारले लुम्बिनीको धार्मिक, शैक्षिक, एवं आध्यात्मिक गरिमा अभिवृद्धिमा थप योगदान पुर्याउने मैले आशा लिएको छु ।
यसैगरी, लुम्बिनी प्रदेशको भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सुचारु गर्नका लागि आवश्यक पूर्वाधार विकासका साथै नीतिगत, व्यवस्थापकीय तथा प्राविधिक सुधारका लागि यथाशीघ्र पहल गर्न म सम्बद्ध पक्षको ध्यान आकर्षित गर्न चाहन्छु । यो विमान स्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन तथा व्यापारिक केन्द्रको रूपमा विकास गर्न सकिन्छ ।
यसका साथै, लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामसहित समावेश गरेर निर्माण गरिने भनिएको 'बुद्ध सर्किट' का साथै स्वयम्भूनाथ र बौद्धनाथ जस्ता नेपालका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई समेत जोड्ने धार्मिक, सांस्कृतिक तथा पर्यटकीय मार्गको रूपमा राष्ट्रिय बौद्ध सर्किट समेत निर्माण गरिनु आवश्यक छ । यस सर्किटले बौद्ध धर्मावलम्बीहरूको आस्थालाई प्रवर्द्धन गर्दै नेपाललाई बौद्ध तीर्थयात्राको केन्द्रका रूपमा स्थापित गर्न योगदान पुर्याउनेछ । साथै, यसले सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीय अर्थतन्त्रको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ ।
सम्पूर्ण मानव जातिको साझा धरोहर एवं युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको द्रूत विकासका लागि नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाभित्र समेटी गुरुयोजना कार्यान्वयनलाई तीव्रता दिइरहेको छ । साथै, अन्तर्राष्ट्रिय दातृ राष्ट्र, संघ–संस्थाहरूको सहकार्यमा कपिलवस्तु, देवदह र रामग्राम क्षेत्रको पुरातात्त्विक उत्खनन, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयबासीहरूलाई प्रत्यक्ष लाभ पुर्याउने दिशामा समेत नेपाल सरकार प्रयत्नशील रहेको छ । यस महत्वपूर्ण अभियानमा स्थानीय समुदाय तथा सरोकारवालाहरूको समेत सहयोग आवश्यक हुन्छ । त्यसैले, म यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई राष्ट्रको यस अभियानमा हातेमालो गर्न विशेष आग्रह गर्दछु ।
अन्त्यमा, यस पवित्र बौद्ध गुम्बाको शिलान्यास सफलतापूर्वक सम्पन्न भएकोमा प्रमुख गुरु तथा थुक्छे छोयलिङ्ग मोनास्ट्री गुम्बा, धर्मचक्र महाविहार परिवारलाई हार्दिक बधाई दिँदै यो परियोजना समयमै पूरा होस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।
२०८१ चैत्र १५ गते, शुक्रबार ।