सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले ‘गणेश रसिकः अभ्यर्थना ग्रन्थ विमोचन तथा अभिनन्दन समारोह’मा गर्नुभएको सम्बोधन

रुसी विज्ञान तथा सांस्कृति केन्द्र, काठमाडौँ ।
कार्यक्रमका सभाध्यक्ष,
कार्यक्रमका नायक गणेश रसिकज्यू,
माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पृथ्वी सुब्बा गुरुङज्यू,
भोजपुरे सेवा समाज, काठमाडौँका पदाधिकारीहरू,
जनप्रतिनिधिहरू,
विद्वत् एवं प्राज्ञिक व्यक्तित्वहरू,
सञ्चारकर्मीहरू,
दिदीबहिनी तथा दाजुभाइहरू !
शिक्षा, समाजसेवा तथा राजनीतिका साथै भाषा, साहित्य, कला तथा संस्कृतिको उर्वरभूमि हो— भोजपुर । यही उर्वरभूमि भोजपुरको छिनामखुमा जन्मिनुभएका वरिष्ठ लेखक, साहित्यकार, गीतकार, गायक तथा सङ्गीतकार श्री गणेश रसिकले साहित्य, कला तथा गीत–सङ्गीतका क्षेत्रमा दिनुभएको योगदान तथा उहाँको व्यक्तित्व तथा कृतित्वका बारेमा विभिन्न क्षेत्रमा ख्याति प्राप्त लेखक–साहित्यकारहरूका लेख–रचनालाई समेटेर ‘गणेश रसिक अभ्यर्थना ग्रन्थ’को प्रकाशन तथा ‘गणेश रसिक अभिनन्दन समारोह’को आयोजना गरेकोमा म भोजपुरे सेवा समाज, काठमाडौँलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यस अवसरमा, म आफ्ना सृजना एवम् कृतिहरूका माध्यमबाट समाज र राष्ट्रप्रति विशिष्ट योगदान पुर्याउँनु हुने ग्रन्थ नायक श्री गणेश रसिकप्रति सम्मान व्यक्त गर्दै उहाँलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।
श्री गणेश रसिकका जीवनका विविध पाटाहरू छन् । उहाँको साहित्यिक तथा साङ्गीतिक पाटो मुख्य हो भने सामाजिक पक्ष अर्को पाटो हो । जनबोली र प्रकृतिका सुसेलीहरूलाई टिपेर उहाँले रचना गर्नुभएका, सङ्गीत भरेर गाउनुभएका राष्ट्रिय भावनाले ओतप्रोत उहाँका गीत मलाई लाग्छ— देशका धड्कनहरू हुन् । राष्ट्र, राष्ट्रियता र आम मानिसका पक्षमा सिर्जित उहाँका धेरै सृजनाहरू रैथाने स्वादका छन्, सर्वप्रिय छन् र कालजयी छन् ।
श्री गणेश रसिक राष्ट्रका एक विशिष्ट मानव–सम्पदा हुनुहुन्छ । यस्ता विशिष्ट मानव–सम्पदाका बारेमा, उहाँले देश र समाजलाई दिनुभएका योगदानहरूका बारेमा चुनिएका लेखकहरूका लेख समावेश गरी अभ्यर्थना ग्रन्थ प्रकाशन हुनु अत्यन्त खुसीको कुरा हो । यस ग्रन्थले रसिकका जीवनका आरोह–अवरोहका साथै उहाँले समाज र राष्ट्रका लागि दिनुभएका योगदानका विविध पक्षहरूलाई आम पाठकहरूका बिचमा पुर्याउने छ भन्ने मैले अपेक्षा गरेको छु ।
यस्तो महत्वपूर्ण ग्रन्थ सम्पादन गर्नु हुने सम्पादकद्वय सुदर्शन श्रेष्ठ र शशी लुमुम्बुलाई म धन्यवाद दिन चाहन्छु । आजको यस विशेष समारोहमा सहभागी हुने अवसरका लागि म भोजपुरे सेवा समाज, काठमाडौँप्रति आभार प्रकट गर्दछु । साथै, श्री गणेश रसिकको सामूहिक अभिनिन्दनमा संलग्न सबै सङ्घ–संस्थाहरूलाई धन्यवाद दिन चाहन्छु ।
अन्तमा, शारीरिक अस्वस्थताका कारण हाल उपचाररत रहनुभएका श्री गणेश रसिकप्रति म उहाँको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु, आरोग्य र दीर्घायूको कामना गर्दछु । साथै, उहाँको उपचारमा आवश्यक सहयोगका लागि समेत म नेपाल सरकारको ध्यानाकर्षण गराउँन चाहन्छु ।
धन्यवाद ।
२०८१ साल असोज १४ गते सोमबार ।