सम्माननीय पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ नामक पुस्तकको लोकार्पण समारोहमा गर्नुभएको सम्बोधन

राष्ट्रिय सभागृह, काठमाडौँ
२०८१ साल फागुन १९ गते
सम्मानीय प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष श्री केपी शर्मा ओली,
माननीय उपप्रधानमन्त्री,
माननीय मन्त्रीहरू,
राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू,
माननीय सांसदहरू,
राष्ट्रसेवकहरू,
आमसञ्चार जगत,
यहाँ उपस्थित सम्पूर्ण दिदिबहिनी तथा दाजुभाइहरू,
‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ नामक पुस्तकको यस गरिमामय लोकार्पण समारोहमा तपाईहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्न पाउँदा मलाई असाध्यै खुसी लागेको छ । यस अवसरमा, म यो महत्वपूर्ण कृतिका सम्पादक पत्रकार श्री गणेश पाण्डे तथा प्रकाशक अल्केमी पब्लिकेशनलाई हार्दिक बधाई दिन चाहन्छु ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संघर्षमय जीवन र राजनीतिक यात्रालाई अगाडि बढाउने सन्दर्भमा देख्नु भएको महान सपना, गर्नुभएको अथक संघर्ष र संगाल्नुभएको विशिष्ट संकल्पलाई थप उजागर गरी जनमानससम्म पुर्याउन यस पुस्तकमा लेख–रचना सिर्जना गर्ने सम्पूर्ण व्यक्तित्वहरूको सराहना गर्दछु । प्रधानमन्त्री ओलीलाई आज लोकार्पित यस पुस्तकले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने लक्ष्य साकार पार्ने दिशामा थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दछु ।
नेपाली समाजमा प्रचलित तुक्का, उखान र जनबोलीलाई सिर्जनात्मक रूपमा टिपेर सरल ढंगले आफ्ना प्रस्तुतिहरू कथ्य तथा लेख्य माध्यमबाट व्यक्त गर्नसक्ने उत्कृष्ठ क्षमता भएका प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल हुनुभएको छ । त्यसो त किशोर अवस्था तथा युवावयदेखि नै सचेतनतापूर्वक निरंकुशताविरोधी आन्दोलन तथा सामाजिक परिवर्तनको पक्षका आन्दोलनमा नेतृत्वसहितको संलग्न भएको कसुरमा पञ्चायती शासकले उहाँलाई जेल हालेकाले १४ वर्षसम्म जेल जीवन विताउनु पर्दा कविता, कथा, निवन्धसहित अन्य लेख–रचना सिर्जना गर्नुभएको, तर ती साहित्यिक सिर्जनालाई प्रशासनले नष्ट गरिदिएको कुरा हामीले सुन्दै आएका हौँ । उहाँमा रहेको साहित्यिक चेतकै कारण अहिले पनि उहाँले बेलाबेला देश तथा जनताको पक्षमा कविता तथा गीत सिर्जना गर्नुभएको हो । उहाँद्वारा रचित केही गीतहरू संगीतबद्ध समेत गरिएका छन् ।
यस्ता बहुमुखी प्रतिभाका धनी प्रधानमन्त्री ओलीलाई आज यस समारोहमा म पुनः बधाई दिँदै उहाँमा रहेको साहित्यिक व्यक्तित्वको थप प्रस्फुटनको कामना गर्दछु । प्रधानमन्त्री ओली नेपालका विशिष्ट राजनीतिज्ञ तथा मुलुकको सामाजिक आर्थिक समृद्धि अभियानका स्वप्नद्रष्टा र कुशल नेतृत्वकर्ता मध्येका एक हुनुहुन्छ । म आफू राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताका निम्ति देखाउनु भएको सुझबुझ, महाभूकम्पले भत्काएका संरचना पुनर्निर्माण गर्न देखाउनु भएको सक्रियता र त्यसमा प्राप्त सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितहरुको उपचारमा देखिएको प्रभावकारी व्यवस्थापन एवं आर्थिक समृद्धि हासिल गर्न उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु । उहाँको प्रभावकारी कार्यक्षमता र महत्वपूर्ण अनुभवको मुलुकले भरपूर उपयोग गर्नुपर्दछ ।
अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सिर्जनशील क्षमताका धनी प्रधानमन्त्री ओली एक अब्बल एवं लोकप्रिय राजनेता हुनुहुन्छ । उहाँले आफूलाई आस्था, अडान र निष्ठाको प्रतिमूर्तिको रुपमा उभ्याउन सफल हुनुभएको छ । आवश्यकताअनुसार व्यवहारमा अधिकतम् लचकता अपनाएर निर्धारित लक्ष्यमा पार्टी, समाज र मुलुकलाई अग्रगतितर्फ लैजान सक्ने खुबी भएका नेकपा (एमाले) का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओली एक कुशल रणनीतिकार हुनुहुन्छ । त्यसैले उहाँको जन्मदिनको अवसरमा २०८१ साल फागुन ११ गते प्रकाशित भएको पुस्तक लोकार्पण गर्न पाउँदा मलाई हर्ष लागेको छ । उहाँको जन्मदिन पार भएको केही दिनहरू बितेका भएपनि आजको यस अवसरमा म उहाँलाई जन्मदिनको हार्दिक शुभकामना भन्न चाहन्छु ।
राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसात गर्नु पर्दछ । बहुलवाद र बहुदलीय प्रतिष्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक–आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन सक्दैन । किनकी, यस पार्टीसँग जनआधारित अनुशासित एवं समर्पित कार्यकर्ता र सदस्यको व्यापकतम् विस्तारित पंक्ति, अनुभवी, संयमित र दृढ संकल्प भएको नेतृत्व तह तथा समृद्धि हासिलमा मार्गदर्शन गर्ने अनुमोदित मौलिक सिद्धान्त छ ।
मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तन गर्न प्रधानमन्त्री ओली अध्यक्ष रहनु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महत्वपूर्ण योगदान रहँदै आएको छ । अध्यक्ष ओलीले नेकपा (एमाले)को आन्तरिक जीवनलाई लोकतान्त्रिकरण गर्न, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको सराहना गर्दछु । साथै, भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को एउटा सिंढि उकाल्न उहाँबाट ठूलो योगदान पुग्ने नै छ । मलाई लाग्छ, पार्टीका समस्त नेता तथा कार्यकर्र्ताको उहाँबाट अपेक्षा पनि यस्तै राजनीतिक सिर्जनतात्मकतामा रहेको हुनुपर्दछ ।
जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको नेपालको माटोमा विकसित सामाजिक–आर्थिक रूपान्तरण गर्ने क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात गरेको नेकपा (एमाले) ले आफूलाई एक निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गरेर मुलुकको आर्थिक विकासमा फड्को मार्ने दुरदर्शी संकल्प गरेको कुरा सार्वजनिक हुँदै आएको छ । विचार निर्माणमा जननेता मदन भण्डारीलाई नजिकबाट सहयोग पुर्याउनु भएका जननेताका सहयोद्धा अध्यक्ष ओलीले जबजको व्याख्यामा समेत महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ ।
सरकार सञ्चालन गर्ने अवसर आउँदा जबजले मार्गदर्शन गरेका सामाजिक, आर्थिक तथा राजनीतिक मान्यताहरू कार्यान्वयन गर्न उहाँले सक्दो प्रयास गर्नुभएको छ । यसरी जबजको रक्षा, प्रयोग र विकासमा अध्यक्ष ओलीसहितको नेतृत्व पंक्ति एवं सिङ्गो पार्टीले देखाएको सुझबुझपूर्ण पहलकदमी सराहनीय छ ।
अहिले जलवायु परिवर्तन र वातावरण विनास मानव जीवनको निम्ति ठूलो चुनौतिको विषय बनेको छ । जनमुखी, वैज्ञानिक र व्यावसायिक शिक्षा तथा प्रभावकारी स्वास्थ्य सेवा अहिलको ज्वलन्त आवश्यकता हो । खासगरी, ग्रामीण भेगमा विकासका पूर्वाधार पर्याप्त नहँदा र कृषि प्रणालीलाई सुदृढ पार्न नसक्दा आन्तरिक बसाई सराई डरलाग्दो बनेको छ । स्वदेशमै यथेष्ठ रोजगारी सिर्जना हुन नसक्दा युवाहरु विदेशी भूमिमा श्रम बेच्न बाध्य हुनुपरेको छ । देशका यी समस्याहरू समाधान गर्ने दिशामा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको पार्टी नेकपा (एमाले) सहित सम्पूर्ण राजनीतिक दल एवं सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँछु ।
अन्तमा, पुनः एकपटक आज विमोचित पुस्तक प्रकाशनप्रति खुसी व्यक्त गर्दै यस समारोहमा सहभागी सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।