सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष श्री ईश्वर पोखरेलद्वारा लिखित पुस्तक लोकार्पण कार्यक्रममा गर्नुभएको सम्बोधन

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ ।
कार्यक्रमका सभाध्यक्ष,
आज विमोचित पुस्तकका लेखक एवं नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष श्री ईश्वर पोखरेलज्यू,
नेपाली कांग्रेसका महामन्त्री माननीय श्री विश्वप्रकाश शर्मा,
नेकपा (एमाले)का उपमहासचिव श्री प्रदीप ज्ञवाली,
साहित्यकार विन्दु शर्मा,
उपस्थित महानुभावहरू ।
पूर्व उप–प्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष श्री ईश्वर पोखरेललाई हामी धेरैले राजनीतिक व्यक्तित्वको रूपमा बढी चिन्दछौँ । तर उहाँको परिचय यतिमा मात्र सिमित छैन । उहाँ एक सिद्धहस्त लेखक एवं साहित्यकारका रूपमा समेत परिचित हुनुहुन्छ । यस अवसरमा म लेखक एवं साहित्यकार ईश्वर पोखरेललाई आज विमोचित उहाँको नयाँ संस्मरणात्मक कृति “आमा, सपना र ताराहरू”का लागि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।
श्री ईश्वर पोखरेल आफ्नो विद्यार्थी जीवनदेखि नै पञ्चायती निरङ्कुशताको अन्त्य गरी मुलुकमा प्रजातन्त्रको पुनर्स्थापनाका लागि भएका आन्दोलनहरूमा संलग्न हुनुभएको थियो । जटिल पारिवारिक–आर्थिक कठिनाईका बावजुद उहाँले विद्यालय तथा विश्वविद्यालयको औपचारिक अध्ययनलाई अगाडि बढाउँदै देश र जनताप्रतिको दायित्वबोधले कम्युनिष्ट आन्दोलन मार्फत समाज परिवर्तन गर्ने अभियानमा आफूलाई होम्नु भएको थियो ।
तत्कालिन समयमा निरङ्कुश निर्दलीय पञ्चायती शासकहरूले राजनीतिक पार्टीहरूमाथि प्रतिबन्ध लगाएकाले त्यसलाई समाप्त पार्न कम्युनिष्ट पार्टीको कार्यकर्ताको रूपमा लेखक भूमिगत भएको विषय आफ्नी आमालाई समेत बताउन नमिलेको, तर विस्तारै आमाले यो कुरा बुझ्दै जानु भएको थियो । जीवनकै जोखिम मोलेर छोरो आन्दोलनमा होमिएको कुरा एउटी आमाको लागि कतिसम्म पीडादायी हुन्छ, जोसुकैले बुझ्ने विषय हो । यस्तो संवेदनशील पक्षलाई समेत लेखक जस्ता अन्य छोराछोरी र यस पुस्तककी ‘आमा’ जस्ता अन्य आमाहरूले समेत गहिरोसँग मनन गर्न सकेका कारणले नै मुलुकमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको हो भन्ने कुरा दर्शाउन प्रस्तुत पुस्तकको माध्यमबाट लेखक सक्षम हुनुभएको छ ।
यस पुस्तकका लेखक राजनीतिक पार्टीमाथि प्रतिबन्ध लागेको समयमा तत्कालिन को–अर्डिनेशन केन्द्र र पछि पुनर्गठित भएको नेकपा (माले)मा संगठित भई डेढ दशक लामो कठोर भूमिगत जीवनमा रहेर सामाजिक परिवर्तनको आन्दोलनलाई विस्तृत र सुदृढ बनाउन निरन्तर खटिरहनु भयो ।
मूलतः यसै पार्टीको पहलकदमीमा बनेको तत्कालिन वाममोर्चा र अन्य पार्टीको समेत संलग्नतामा भएको ऐतिहासिक संयुक्त जनआन्दोलनले पञ्चायती व्यवस्थालाई पराजित गर्यो र २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भयो । यसरी मुलुकमा राजनीतिक परिणाम दिनसक्ने सशक्त, विस्तारित र लोकप्रिय पार्टी निर्माणमा यस पुस्तकका लेखक जस्ता त्यागी, समर्पित र लगनशील नेता तथा कार्यकर्ताहरूको अविचलित भूमिकाले नै आजको परिवर्तन सम्भव भएको हो ।
यसरी नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा स्थापित नेकपा (एमाले)का विभिन्न कमिटीमा आबद्ध भएर निष्ठापूर्वक काम गर्ने क्रममा उहाँ दुईपटक सो पार्टीको महासचिव भइसक्नु भएको छ भने हाल उहाँ वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको छ । २०५१ सालमा अग्रणी वामपन्थी नेता मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपालको पहिलो कम्युनिष्ट सरकार, जुन असाध्यै लोकप्रिय समेत बनेको थियो, यस पुस्तकका लेखकलाई पार्टीले सुम्पिएको प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारीलाई उहाँले कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो ।
मुलुकमा विकसित नयाँ राजनीतिक परिवेशमा लेखक संसदीय तथा राजकीय फाँटमा जिम्मेवारी बहन गर्ने क्रममा निर्वाचित सांसद, मन्त्री र उपप्रधानमन्त्री समेत बन्न सफल हुनुभएको छ । चाहे पार्टी वा राजकीय निकाय, जहाँ जस्तो जिम्मेवारी पाए पनि क्षमताले भ्याएसम्म सो जिम्मेवारी इमान्दारीका साथ पूरा गर्नुपर्छ भन्ने दृढ मान्यता उहाँमा रहेको पाइन्छ । तसर्थ, पार्टीका जुनसुकै कमिटीमा संगठित भए पनि र जुनसुकै पदमा रहेपनि पार्टीको एकतालाई मजबुत पार्न, संगठनलाई सुदृढ बनाउन र वैचारिक कामलाई धारिलो पार्न नै उहाँले प्रयास गर्दै आउनुभएको मैले महसुस गरेको छु ।
राजनीतिक जिम्मेवारीको व्यस्तताका बीच पनि उहाँले पत्रपत्रिका तथा पार्टीका विभिन्न प्रकाशनहरूमा सैद्धान्तिक–वैचारिक लेख–रचनाहरू लेखेर समसामयिक विषयमा पार्टीका पक्षमा जनमत तयार गर्न योगदान गर्दै आउनु भएको छ । यसका साथै, कविता, संस्मरण लगायत साहित्यका विविध विधामा समेत उहाँले कलम चलाउँदै आउनु भएको छ । तसर्थ, प्रस्तुत पुस्तक उहाँको साहित्यिक चेत कै निरन्तरता हो भन्ने मैले ठानेको छु ।
साहित्य समाजको दर्पण मात्र हैन, राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणको लागि महत्वपूर्ण कुजी हो । साहित्य कलात्मक, सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभएर विचारको संबाहक समेत हो । सामाजिक आर्थिक रूपान्तरणको अभियानमा लागेका राजनीतिक कर्मीहरूद्वारा गरिने साहित्य सिर्जनाले पनि अन्तत: सामाजिक परिवर्तनकै अभियानलाई नै थप बल पुर्याउँदछ ।
समाजमा बेला बेला देखा पर्ने अराजकता, उछृङ्लता र सतहीपन जस्ता विकृति र विसङ्गतिहरूलाई रोक्न र सही नीति, सिद्धान्त, दर्शन र मूल्यको आधारमा समाजलाई निर्देशित गर्न प्रगतिशील कला, साहित्य र सङ्गीतको महत्वपूर्ण भूमिका रहन्छ । यस कुरालाई आत्मसात गर्दै सर्जकहरूले आफ्नो सिर्जना मार्फत देश र जनताको सेवामा थप समर्पित हुनुपर्ने खाँचो मैले महसुस गरेको छु ।
आमा शब्दले सधैँ सृष्टिको निरन्तरता, माया ममताकी खानी र प्रेरणाको स्रोतको सन्देश दिइरहेको हुन्छ । संसारमा आमाको विषयमा असङ्ख्य कला, साहित्य र सङ्गीत सिर्जना भएका छन् । आगामी दिनमा समेत आमाका बारेमा अनेकौँ साहित्य लेखिँदै जानेछन् । यसैको निरन्तरताको रूपमा यो पुस्तक पनि लेखिएको हुनु पर्दछ भन्ने मलाई लागेको छ ।
अन्तमा, यति सुन्दर बान्कीमा आमा–छोरा बिचको पवित्र सम्बन्ध, अभाव, दुःख र अफ्ठ्याराका बिच पनि आमाले छोराछोरी हुर्काउन–बढाउन देखाएको त्याग एवं सङ्गीन घडीमा समेत छोराले आमाप्रति दर्शाएको माया, प्रेम र सम्मानलाई प्रस्तुत कृतिका माध्यमबाट नेता एवं श्रष्टा श्री ईश्वर पाखरेलले उजिल्याउन सफल हुनुभएकोमा पुन: बधाई दिदै भविष्यमा समेत यस्तै उम्दा साहित्य सिर्जना गर्न सफल हुनुहोस् भन्ने शुभकामना दिन चाहन्छु । साथै, यस पुस्तकका प्रकाशक साङ्ग्रीला मिडिया ग्रुप प्रा लि.लाई समेत धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ।
२०८१ पौष १९ गते शुक्रबार ।