सम्माननीय श्रीमती विद्यादेवी भण्डारी (पूर्व राष्ट्रपति)ले सिनासको ५३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

त्रिभुवन विश्वविद्यालय, सिनास, कीर्तिपुर ।
कार्यक्रमका सभाध्यक्ष तथा सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की,
त्रिभूवन विश्वविद्यालयका उपकुलपति, प्रा. डा. केशरजंग बराल,
काठमाडौँ विश्वविद्यालयका उपकुलपति, प्रा. डा. भोला थापा,
खुला विश्वविद्यालयका उपकुलपति, प्रा.डा. शिलु बज्राचार्य,
त्रिभूवन विश्वविद्यालय, सेवा आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराई, रेक्टर प्रा. डा. खड्ग केसी, रजिष्ट्रार प्रा.डा. केदार प्रसाद रिजाल,
उपस्थित विशिष्ट प्राज्ञिक व्यक्तित्वहरू,
सञ्चारकर्मीहरू,
दिदी बहिनी तथा दाजुभाइहरू ।
नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)को ५३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर विभिन्न विश्वविद्यालयहरूका विशिष्ट प्राज्ञिक व्यक्तित्वहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । यस महत्वपूर्ण अवसरका लागि म आयोजकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
सिनासले समाज र राष्ट्रका ज्वलन्त मुद्दाहरूमा प्राज्ञिक बहस सञ्चालन गर्ने उद्देश्यका साथ ‘हिमवत–संवाद’को थालनी गरेकोमा हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछु । हिमवत–संवादको माध्यमबाट प्राचीन कालदेखि नै ज्ञान उत्पादनको थलोको रूपमा रहेको हाम्रो देशको इतिहास, कला, साहित्य, संस्कृति, सभ्यता, धर्म र दर्शन आदि क्षेत्रमा हुने गहन प्राज्ञिक विमर्शबाट हाम्रो आफ्नै मौलिक सिद्धान्तको निर्माणमा योगदान पुग्ने मैले अपेक्षा गरेको छु ।
यसैगरी, सिनासले मैले राष्ट्रपतिको हैसियतमा विभिन्न अवसरहरूमा गरेका सम्बोधनहरूको सङ्ग्रहलाई पुस्तकाकारको रूपमा प्रकाशन गरेकोमा मलाई अत्यन्त खुसी लागेको छ । राष्ट्रप्रमुखद्वारा गरिएका सार्वजनिक सम्बोधनहरूको दस्तावेजीकरणले मुलुकको नेतृत्व, ऐतिहासिक घटनाक्रम, मूल्यमान्यता र आकाङ्क्षाहरूको बृहत् अभिलेख उपलब्ध गराएर राष्ट्रको संस्थागत स्मृतिको महत्वपूर्ण स्रोतको रूपमा काम गर्न सक्दछ भन्ने मलाई लाग्दछ । यसबाट अनुसन्धाता, नीति निर्माता, योजनाविद्, राजनीतिक नेतृत्व, प्राज्ञिक जगत र आम पाठकहरू समेत लाभान्वित हुन सक्नेछन् भन्ने मैले अपेक्षा गरेको छु । र, यस महत्वपूर्ण पहलका लागि पनि सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र बहादुर कार्की सहित यसका पदाधिकारीहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
वि.सं. २०१६ सालमा स्थापित नेपालकै ठूलो र जेठो त्रिभुवन विश्वविद्यालयले मुलुकको उच्च शिक्षाको अधिकतर भार अहिले पनि वहन गर्दै आइरहेको छ । यसले मुलुकभर छरिएका आफ्नो आङ्गिक क्याम्पस तथा आवद्ध शैक्षिक संस्थाहरूको विस्तारित सञ्जालमार्फत देशका कुनाकुनाका विद्यार्थीहरूका लागि उच्च शिक्षामा पहुँचलाई सुनिश्चित गरेको छ । राष्ट्रिय जीवनका हरेक क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको सबैभन्दा ठूलो योगदान रहेको छ ।
साथै, राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अनुभव समेतका आधारमा उच्च शैक्षिक जनशक्ति उत्पादन गर्न अहिले अन्य विभिन्न विश्वविद्यालयहरू समेत सञ्चालनमा आएका छन् । यी सबै विश्वविद्यालयहरूले आपसी समन्वय र सहकार्य गर्दै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न भूमिका खेल्नु पर्दछ भन्ने मलाई लागेको छ ।
राष्ट्रका लागि आवश्यक विषयमा तथ्यमा आधारित ज्ञानको उत्पादन गरी नीति निर्माणमा उपयोग गर्ने उद्देश्यका साथ त्रिभूवन विश्वविद्यालयअन्तरगत स्थापित सिनास, सेडा, सेरिड र रिकाष्ट जस्ता विधागत अनुसन्धान केन्द्रहरूको राज्यको नीति निर्माण तहमा महत्वपूर्ण योगदान रहँदै आएकोछ । तथापि, पछिल्ला दशकहरूमा पर्याप्त स्रोत–साधनको अभाव र सरकारी वेवास्ताको कारण यी ‘थिङ्क ट्याङ्क’ संस्थाहरू सिमित भूमिकामा खुम्चिनु परेको थाहा पाउँदा मलाई दु:ख लागेको छ ।
मुलुकका लागि दीर्घकालीन महत्व राख्ने आन्तरिक मामिला तथा द्विपक्षीय, बहुपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा राज्यले अवलम्बन गर्ने नीतिहरू अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु पर्दछ । राष्ट्रिय हित, सुरक्षा र समग्र राष्ट्रिय विकासको प्रमुख आधार शिक्षा प्रणाली हो । समृद्ध राष्ट्र सुखी जनता यसैमा अन्तर्निहित छ । तसर्थ राज्यले अपनाउने शिक्षा प्रणाली र त्यसै अनुसारको लगानीमा राज्यले गम्भीर ध्यान दिनुपर्छ । राज्यलाई आवश्यक पर्ने ज्ञान उत्पादनका लागि गरिने अनुसन्धानमा राज्यले लगानी गर्नुपर्छ ।
विकास र अध्ययन–अनुसन्धान गर्ने संस्थाहरू बीचको गहिरो अन्तरसम्बन्ध विश्वव्यापी रूपमा स्थापित भइसकेको छ । तथापि, हाम्रो राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा प्रमाणमा आधारित ज्ञान उत्पादनको प्रक्रिया, नीति निर्माणमा ज्ञान प्रयोगको मूल्य र महत्व तथा यसमा अनुसन्धान संस्था, ‘थिङ्क ट्याङ्क’को भूमिकाको विषयमा समान बुझाई रहेको देखिदैन । फलस्वरुप, अनुसन्धान संस्थाहरूको स्थापना, सञ्चालन र तिनको उपयोगमा सरकारसँग सुसंगत नीतिको अभाव रहेको मैले महसुस गरेको छु ।
तसर्थ, तथ्य र प्रमाणमा आधारित ज्ञान उत्पादनका लागि विश्वविद्यालय अन्तरगत स्थापित अध्ययन–अनुसन्धान केन्द्रहरू, सरकारद्वारा प्रत्यक्ष रूपमा स्थापित गरेका ‘थिङ्क ट्याङ्क’ संस्थाहरू, गैरसरकारी क्षेत्रद्वारा सञ्चालित अध्ययन–अनुसन्धान संस्थाहरूसँग समन्वयात्मक रूपमा काम गर्न स्पष्ट रणनीतिको आवश्यकता पर्दछ ।
यस सन्दर्भमा, एक ताका एसियाकै उत्कृष्ट अनुसन्धान केन्द्रहरूमध्ये रहेको सिनासलाई पुनर्जीवन दिँदै पुन: एक सक्रिय र सशक्त अनुसन्धान केन्द्रको रूपमा पुनर्स्थापित गर्न लागि पर्नुभएका सिनासका वर्तमान पदाधिकारीहरू धन्यवाद र बधाईका पात्र हुनुहुन्छ । तपाईँहरूको यो सत्प्रयासले पूर्ण सफलता प्राप्त गर्नेछ भन्ने म विश्वास व्यक्त गर्दछु ।
अन्तमा, सिनासद्वारा प्रकाशित पुस्तक ‘सम्बोधन’ माथि टिप्पणी गर्नुहुने प्राज्ञिक व्यक्तित्वहरूमा हार्दिक आभार व्यक्त गर्दै नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) को उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।
२०८१ श्रावण १, मङ्गलबार ।