लेमन ट्री होटल, बुढानिलकण्ठ, काठमाडौँ ।

विश्व बक्सिङ परिषद मुए थाई नेपालका अध्यक्ष तथा पदाधिकारीहरू,

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत स्थानीय जनप्रतिनिधिहरू,

खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरू,

खेलाडी भाइबहिनीहरू,

सञ्चारकर्मीहरू,

उपस्थित दिदीबहिनी तथा दाजुभाईहरू ।

विश्व बक्सिङ परिषद मुए थाई नेपाल (WBC Muay Thai Nepal) द्वारा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को सहयोगमा आयोजित EFS Fight Night 6 मा उपस्थित उपस्थित भएर मुए थाइ खेलसँग सम्बद्ध खेलाडी तथा खेलप्रेमीहरूसँग भेटघाटका साथै रोमाञ्चक खेल हेर्ने अवसर प्रदान गर्नुभएकोमा म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु ।

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय रूपमा मुए थाई खेलको लोकप्रियता बढ्दै गइरहेको सन्दर्भमा, यस प्रकारका प्रतियोगिताको आयोजनाबाट नेपाली खेलकुदको परिदृश्य परिदृश्य अझ फराकिलो बन्नेछ भन्ने विश्वास मैले लिएको छु । यसका लागि म विश्व बक्सिङ परिषद मुए थाई नेपाललाई धन्यवाद दिन चाहन्छु ।

मलाई के लाग्छ भने, नेपालमा मुए थाई खेलको अपार सम्भावना रहेको छ । किनकि, यस खेलका लागि आवश्यक शारीरिक क्षमता, सहनशीलता र लचिलोपनजस्ता गुणहरू हाम्रा खेलाडीहरूमा स्वभाविक रूपमा नै विद्यमान छन् । त्यसैले यस खेल महोत्सवको आयोजनाबाट नेपालमा मुए थाई खेलको प्रवर्द्धन र विकासका साथै यस खेलको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान विस्तारमा समेत मद्दत पुग्नेछ भन्ने मैलै विश्वास लिएको छु ।

यसैगरी, यस EFS Fight Night 6 मा समावेश गरिएको प्रतिष्ठित ‘महिला WBC मुए थाई राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा’बाट नेपालमा खेलकुदमार्फत लैङ्गिक समानताको प्रवर्द्धन र महिला सशक्तीकरणमा समेत सहयोग पुग्ने मैले ठानेको छु ।

नेपालमा कराते, तेक्वान्दो, उसु, जुडो, बक्सिङजस्ता स्थापित मार्शल आर्टसम्बन्धी खेलहरूका साथै, मुवा थाई (थाई बक्सिङ) जस्ता नयाँ मार्शल आर्ट खेल समेत तीव्र गतिमा लोकप्रिय हुँदै गएको कुरा यस EFS Fight Night 6 मा रहेको खेलप्रेमीहरूको उपस्थितिले प्रमाणित गर्दछ ।

नेपालजस्तो सीमित स्रोत र साधन भएको मुलुकका लागि सामूहिक खेलहरूभन्दा एकल प्रतिस्पर्धामा आधारित मार्शल आर्ट खेलहरू बढी उपयुक्त हुन सक्दछन् । सामूहिक खेलहरू सञ्चालन गर्नका लागि मैदान, उपकरण, प्रशिक्षक, टोली व्यवस्थापन, यातायात र ठूला संरचनागत लगानीको आवश्यकता पर्दछ । तर, कराते, तेक्वान्दो, कुङ फू र मुवा थाईजस्ता मार्शल आर्ट खेलहरू व्यक्तिगत स्तरमा अभ्यास गर्न सकिने, न्यूनतम पूर्वाधारमै सुरु गर्न मिल्ने र छोटो अवधिमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकिने हुन्छ । साथै, यी खेलहरूले युवा पुस्तालाई अनुशासन, आत्मरक्षा र आत्मविश्वासको विकासमा समेत योगदान पुर्‍याउँछन् । त्यसैले, न्यून लागत, उच्च प्रभाव र व्यक्तिगत सशक्तीकरणका दृष्टिले मार्शल आर्ट नेपालजस्ता विकासोन्मुख राष्ट्रका लागि उपयुक्त विकल्प मानिन्छ ।

यसका साथै, महिलाहरूको आत्मरक्षाका लागि  समेत मार्शल आर्ट अत्यन्त उपयोगी हुन सक्दछ, किनभने यसले शारीरिक बलसँगै मानसिक सशक्तीकरण पनि प्रदान गर्दछ । कराते, तेक्वान्दो, मुवा थाईजस्ता मार्शल आर्टका विधाहरूले महिलाहरूलाई संकटको अवस्थामा आत्मरक्षा गर्ने सीप सिकाउँछन्, जसले उनीहरूमा आत्मविश्वास बढाउँछ र हिंसा तथा दुर्व्यवहारको सामना गर्न सक्षम तुल्याउँदछ ।

अन्तमा, म WBC Muay Thai Nepal द्वारा आयोजित यस थाई बक्सिङ प्रतियोगिता ‘EFS Fight Night 6’ को पूर्ण सफलताको कामना गर्दछु । साथै, WBC Muay Thai Nepal का पदाधिकारीहरू तथा खेलाडीहरूकोको समेत उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

२०८२ वैशाख १३ गते शनिबार (२६ अप्रिल २०२५)