सम्मानीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले नेपाल सोसाइटी फर गाइनोकोलोजिकल इन्डोस्कोपी (एन.एस.जी.ई.) द्वारा आयोजित स्त्री रोगसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

हयात प्लेस, कालिमाटी, काठमाडौँ ।
नेपाल सोसाइटी फर गाइनोकोलोजिकल इन्डोस्कोपीका अध्यक्ष प्रा. डा. गणेश दङ्गालज्यू,
नेपाल सोसाइटी फर गाइनोकोलोजिकल इन्डोस्कोपीका अन्य पदाधिकारीहरू,
माननीय प्रतिनिधिसभा सदस्य प्रा. डा. चन्दा कार्कीज्यू,
स्वदेश तथा विदेशबाट आउनुभएका स्त्री रोग विशेषज्ञ तथा एन्डोस्कोपिक चिकित्सकहरू,
सञ्चारकर्मीहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।
नेपाल सोसाइटी फर गाइनोकोलोजिकल एन्डोस्कोपी (एन.एस.जी.इ.)द्वारा आयोजित ‘स्त्री रोगसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन समारोहमा उपस्थित भएर स्वदेश तथा विदेशबाट आउनुभएका स्त्री रोग विशेषज्ञ तथा एन्डोस्कोपिक चिकित्सकहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । यस कार्यक्रममा निमन्त्रणा गरी मलाई आफ्ना केही भनाईहरू राख्ने अवसर प्रदान गर्नुभएकोमा म आयोजक संस्थालाई हार्दिक धन्यवाद दिँदै यस स्त्री रोगसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।
स्त्री रोग विशेषज्ञ तथा एन्डोस्कोपिक चिकित्सकहरूको यस ऐतिहासिक सम्मेलनमा हुने छलफलका माध्यमबाट विकासशील मुलुकहरूमा स्त्री रोगको निदान तथा उपचारमा दूरबिन विधिबाट गरिने शल्यक्रियालाई थप विकास र विस्तार गर्न यस क्षेत्रसँग सम्बद्ध विशेषज्ञहरूको बिचमा ज्ञान, सीप, अनुभव र सिकाइहरूको आदानप्रदान गर्ने अवसर प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु । यस प्रकारका छलफल एवं गोष्ठीहरू एन्डोस्कोपिक चिकित्सकहरूको दक्षता अभिवृद्धिका लागि उपयोगी हुनेछ र यसबाट स्त्री रोगसँग सम्बन्धित समस्याहरूको निदान र उपचारका साथै प्रसुती सेवालाई समेत थप प्रभावकारी बनाउन मद्दत पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु ।
स्वस्थ व्यक्तिबाट मात्र स्वस्थ समाज‚ स्वाधीन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको विकास एवं सबल मुलुकको निर्माण हुन सक्दछ भन्ने यथार्थलाई आत्मसात गर्दै नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने, आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि बञ्चित नगरिने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । जस अनुरुप, गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ पहुँचमा पुर्याउनु राज्यको महत्वपूर्ण दायित्व बन्न गएको छ ।
यसैगरी, हाम्रा अस्पतालहरूमा स्त्री रोग तथा प्रसुतिसम्बन्धी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य जनशक्ति अपर्याप्त रहेको र त्यसमा पनि महिला स्री रोग विशेषज्ञ डाक्टरको सङ्ख्या न्यून भएकाले लैङ्गिक हिंसामा परेर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आउने महिलाहरू इच्छाविपरित पुरुष स्त्री रोग विशेषज्ञ डाक्टरबाट उपचार तथा स्वास्थ्य परीक्षण गराउन बाध्य हुने गरेको जनगुनासो पनि हामीले सुन्दै आएका छौँ । तसर्थ, स्वास्थ्य सेवा विस्तार एवं गुणस्तरीय सेवा प्रवाहका लागि व्यावसायिक सक्षमता सहितको सिपयुक्त जनशक्ति उत्पादन गर्न उपयुक्त सिकाइ थलोको रूपमा शैक्षिक संस्थाहरूलाई रुपान्तरण गरिनु पर्दछ ।
महिलाको प्रजनन् स्वास्थ्य तथा स्त्री रोग सिङ्गो लैङ्गिक समानताको सवालसँग जोडिएको छ । हाम्रो जस्तो पितृसत्तात्मक समाजमा महिलामाथि थोपरिएको अत्यधिक कार्यबोझ, परम्परागत चुलाचौका र धन्दापात, महिलाविरुद्ध हुने शारीरिक तथा मानसिक हिंसा, असुरक्षित गर्भपतन, स्वास्थ्यचेतनाको अभाव तथा आर्थिक स्रोतमा न्यून पहुँचका कारण थुप्रै महिला यौनाङ्गको सङ्क्रमण, पाठेघरको क्यान्सर, अण्डाशय (ओभरिज)को क्यान्सर, आङ खस्ने समस्या, पिसाब चुहिने समस्या जस्ता विशिष्ट प्रकारका प्रजनन् तथा महिला स्वास्थ्यसम्बन्धी समस्याबाट ग्रसित बन्न पुगेका छन् । समयमै गुणस्तरीय उपचार नहुँदा प्रतिवर्ष धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । यसका साथै, हाम्रो समाजमा व्याप्त छाउपडी, बोक्सीको आरोप, बालविवाह जस्ता रुढिवादी र पछौटे परम्पराका कारण पनि महिला स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ । तसर्थ, हाम्रो जस्तो मुलुकमा महिलाको प्रजनन् स्वास्थ्य सुधार गर्ने र लैङ्गिक समानता तथा महिला विरुद्धको हिंसा अन्त गर्ने अभियान सँगसँगै लैजान जरुरी छ ।
विश्वमा नै, खासगरी दक्षिण एसियामा पाठेघर र स्तन क्यान्सरको रोग बढ्दो छ । यसको उपचारमा गरिब र दुर्गम क्षेत्रका महिलाको पहुँच छैन । अबको हाम्रो अनुसन्धान र विज्ञता गरिब तथा दुर्गम भेगका महिलाको लागि सहज र सुलभ उपचार विधि अपनाउनेतर्फ केन्द्रित हुनु जरुरी छ । यस्ता रोगहरूको निदान तथा उपचारमा दूरवीन विधिबाट गरिने शल्यक्रिया जस्ता अत्याधुनिक स्वास्थ्य सेवामा आम महिलाहरूको पहुँच पुर्याउनु पर्ने चुनौति हामीसँग अझै बाँकी रहेको छ । यो प्रविधिबाट शल्यक्रिया गर्दा घाउ सानो हुने, रगत कम बग्ने, घाउ छिटो निको हुने, शल्यक्रिया गर्दा घाउको दाग सानो देखिने, थप रगत आवश्यकता कम पर्ने, संक्रमणको जोखिम कम हुने र बिरामीलाई डिस्चार्ज छिटो गर्न मिल्नेजस्ता फाइदा रहेकोले यस प्रकारको उपचार पद्धतिलाई सरल र सुलभ बनाउन सके स्री रोगको निदान र उपचारका साथै प्रसुती सेवालाई समेत प्रभावकारी बनाउन सकिन्छ भन्ने मलाई लागेको छ ।
सहरी क्षेत्रमा चिकित्सा सेवाले उल्लेखनीय प्रगति हासिल गरेको भए पनि ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तारित हुन नसक्नु दुःखको विषय हो । यस सन्दर्भमा, गुणस्तरीय स्वास्थ्य सेवा सबै भौगोलिक क्षेत्रमा कसरी समान रूपमा प्रदान गर्न सकिन्छ भन्ने कुरामा समेत स्वास्थ्य क्षेत्रका विज्ञहरूको यस ऐतिहासिक भेलामा व्यापक छलफल भई उपयुक्त रणनीतिको खोजी हुनेछ भन्ने विश्वास लिएको छु ।
अन्तमा, यस सम्मेलनले स्त्री रोगको अनुसन्धान, निदान एवम् उपचारका क्षेत्रमा रहेका समस्याहरूलाई समाधान गर्नका लागि दूरबीन विधिबाट गरिने शल्यक्रिया सहितका अत्याधुनिक र गुणस्तरीय स्वास्थ्य सेवाको विकास र विस्तारमा महत्वपूर्ण उपायहरूको खोजी गर्ने अपेक्षा सहित विभिन्न मुलुकबाट नेपाल आउनुभएका अतिथिहरूलाई म सुखद् नेपाल बसाइको कामना गर्दछु । साथै, लाइफ टाइम अचिभ्मेन्ट अवार्डद्वारा आज सम्मानित हुनु भएका महानुभावहरूलाई हार्दिक बधाई दिँदै पुन: एकपल्ट यस सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।
धन्यवाद ।
२०८१ साल जेठ ४ गते शुक्रबार (१७ मे २०२४)