सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका विद्यार्थीहरूको संस्था डेल्टाद्वारा आयोजित राष्ट्रिय प्राविधिक महोत्सव (डेल्टा ५)को अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

२०८१ माघ १८ गते, तीनकुने, धरान ।
कार्यक्रमका सभाध्यक्ष,
पूर्वाञ्चल क्याम्पसका शिक्षकहरू,
विद्यार्थी भाइ बहिनीहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।
मुलुकको इन्जिनियरिङ शिक्षामा महत्वपूर्ण भूमिका रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका विद्यार्थीहरूको साझा संस्था डेल्टाद्वारा आयोजित राष्ट्रिय प्राविधिक महोत्सव (डेल्टा ५.०) को अवलोकनका साथै इन्जिनियरिङ क्षेत्रका विषय विज्ञ, शिक्षक एवं विद्यार्थी भाइबहिनीहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने अवसर जुटाउनु भएकोमा म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु । साथै, आजबाट तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवको पूर्ण सफलताको कामना गर्दछु ।
डेल्टाले विगत ६ वर्षदेखि नियमित रूपमा हरेक वर्ष राष्ट्रिय प्राविधिक महोत्सवको आयोजना गर्दै आएको कुरा थाहा पाउँदा मलाई खुसी लागेको छ । यस प्रकारको प्राविधिक महोत्सवबाट इन्जिनियरिङका विविध विधाहरूमा अध्ययनरत विद्यार्थीहरूको प्राविधिक सिप, सिर्जनात्मक प्रतिभा र व्यवस्थापकीय क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने मैले महसुस गरेको छु ।
'कृषि, प्रविधि र नवप्रवर्तन'लाई मूल विषय बनाइएको यस प्राविधिक महोत्सवमा कृत्रिम बुद्धिमत्ता र स्वचालन, डिजिटल अर्थतन्त्र, स्मार्ट सिटीका लागि इन्जिनियरिङका साथै विश्वव्यापी समाधानका लागि इन्जिनियरिङ जस्ता वर्तमान समयको जल्दाबल्दा प्राविधिक विषयहरू समेत समावेश गरिएको हुँदा यस महोत्सवले विद्यार्थीहरूलाई प्रविधिको विकास र नवप्रवर्तनमा संलग्न गराएर उनीहरूको प्राविधिक क्षमता र बौद्धिक विकासमा सहयोग पुर्याउने मैले विश्वास लिएको छु ।
निर्माण, नवप्रवर्तन र आविष्कारको आधारको रूपमा रहेको इन्जिनियरिङ्ग क्षेत्रका तपाईं विद्यार्थी भाइबहिनीहरू देश निर्माणका आधार स्तम्भ हुनुहुन्छ । तपाईँहरूको सिर्जनात्मक प्रतिभाले फुल्न र फक्रन पाउनु पर्दछ । यो डेल्टा प्राविधिक महोत्सव यही सोचका साथ सुरु भएको हो भन्ने मेरो ठम्माई छ । तपाईहरूको इन्जिनियरिङ्ग यात्रा अर्थपूर्ण, देशप्रेमी र रचनात्मक बनोस्, मेरो हार्दिक सुभेच्छा छ ।
१३औँ शताब्दिमा चीन गएर प्यागोडा शैलीको विस्तार गर्ने अरनिको र मल्ल कालमा काठमाडौँका ढुङ्गेधारा, भूमिगत सिंचाइ, मूर्तिकला, वास्तुकलामा सीप र कौशल उतार्ने पूर्वजहरूलाई सम्झदा हामी गौरवान्वित हुन्छौँ ।
हाम्रो इन्जिनियरिङको ईतिहास संसारमा गौरव गर्ने खालको थियो । त्यसका प्रमाणहरू यद्यापि जीवित छन् । पाटनतिर गएर हेर्ने हो भने सयौँ वर्ष पहिलेका ढुङ्गेधाराहरू अहिले पनि बगिरहेका छन् । इतिहासमा हामी धेरै ठाउँमा रुमल्लिरह्यौँ । समयक्रममा ज्ञान र सिपलाइ कदर गर्ने र विस्तार गर्ने काम अवरुद्ध भयो । त्यसकारण हाम्रा प्रतिभाहरू प्रस्फुटित हुन पाएनन्, सोचलाइ शिक्षा र शिक्षामार्फत प्रविधि विकास गर्ने यात्रामा ठेस लाग्यो । अब हामी वर्तमान र भविष्यप्रति चनाखो हुनु पर्ने ठाउँमा आइपुगेका छौँ ।
हाम्रो देश जल, जमिन, जङ्गल, जडिबुटी र खानी जस्ता प्राकृतिक स्रोतहरूले सम्पन्न हुँदाहुँदै, यहाँका जनताहरू अत्यन्तै मेहेनती र प्रतिभावान हुँदाहुँदै हामीले किन आवश्यक प्रविधिको विकास गर्न सकेनौँ? किन आफ्नै लागि समेत उत्पादन गर्न सकिरहेका छैनौ ? किन हामी आफ्नै ठाउँमा आशावादी हुन सकिरहेका छैनौँ ? अब हामी गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौँ । म यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा यी प्रश्नहरूको बारेमा मनन गर्नको लागि अनुरोध गर्न चाहन्छु ।
हामीलाइ धेरै बरालिएर अथवा धेरै निराश भएर बसिराख्ने छुट पनि छैन । हामीले अहिलेसम्म जे जे उपलब्धिहरू हासिल गरेका छौँ, त्यही आधारमा थप सुधार र गरिमामय राष्ट्रिय जीवनको लागि शिक्षा, सीप र प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
मेरो सम्पूर्ण ध्यान देशको शिक्षा, स्वास्थ्य, रोजगारी र जलवायु परिवर्तनका असरहरूको न्यूनीकरणमा केन्द्रित छ । यहाँ उपस्थिति भाइबहिनीहरू यस साझा अभियानका हिस्सेदार हुनुहुन्छ भन्ने मेरो बुझाइ छ ।
हामी सङ्ग चुनौतिहरु छन् । तपाईँहरूका कक्षा कोठा, प्रयोगशाला, उपकरणहरू, छात्रावास, खेल मैदान सबै क्षेत्रमा थप लगानी र सुधारको आवश्यकता छ । मौजुदा पूर्वाधारमा यति धेरै सोच र सिर्जना गर्न सक्ने तपाईँहरूको प्रतिभा यथेष्ट स्रोत र साधन उपलब्ध हुन सके कति धेरै प्रस्फुटित हुन्थ्यो होला ? म यो प्रश्नलाई सरकार र सम्बन्धित निकायहरूतर्फ हस्तान्तरण गर्न चाहन्छु ।
मेरा केही सुझावहरू छन् - हामीले यस क्याम्पसलाई जनजीवनसँग जोड्नु पर्दछ । त्यसका लागि उद्योगी, किसान र सेवाग्राही जनताहरू क्याम्पससम्म आउने र यहाँका प्राध्यापक, विद्यार्थीहरू त्यहाँसम्म जाने एक पुलको निर्माण गर्नु पर्दछ । तपाईं स्वयम् इन्जिनियरहरू हुनुहुन्छ, त्यो पुल कसरी बनाउने हो, सोच्नुहोला ।
त्यो पुल बनाउनु भयो भने यहाँका किसानको लागि चाहिने प्रविधि तपाइहरूले दिनु हुनेछ, उनीहरूको माटोको गुणस्तर तपाइहरूले नाप्नु हुनेछ, जनताको आवासको डिजाइन तपाइहरूले गर्नु हुनेछ, उद्योगीको लागि चाहिने औजार निर्माण र मर्मत तपाईँहरूले गर्नु हुनेछ । तपाईँहरूलाई अनुसन्धान गर्न केही बजेट यहीँबाट जोहो हुनेछ र सम्बन्धित सबैले लाभ उठाउँनेछन् । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसले यस कामको अगुवाइ गर्दै देशका अरु क्याम्पसलाई पनि प्रेरित गर्न सकोस् मेरो शुभकामना छ ।
तपाईँहरूको सोचलाई उत्पादनसम्म पुर्याउँन र उत्पादनलाई बजारसम्म पुर्याउँन एउटा चक्रको आवश्यकता पर्दछ । कति सोचहरू यत्तिकै हराउन पनि सक्दछन् । तर धेरै सोचहरूलाई उत्पादनसम्म लैजान सकिन्छ । यहाँका सबै स्थानीय सरकार र प्रदेश सरकारसँग उनीहरूलाई आवश्यक पर्ने इन्जिनियरिङ्ग सेवा तपाईहरूले प्रदान गर्ने र त्यस वापतको शुल्क यहाँ आउने अर्को एक पुलको पनि निर्माण गर्नुहोस् । त्यसलाई नवप्रवर्तन र इन्कुबेशनको रूपमा विकास गर्न सकिन्छ । यस कामका लागि पनि तपाईँहरूलाई मेरो शुभेच्छा छ ।
अन्त्यमा, डेल्टा-६ सम्म हाम्रा यतिवटा उत्पादनहरू अब बजारसम्म जाँदै छन् भन्ने कुरा सुन्न हामी सबै आतुर हुनेछौँ । प्रदेश सरकार र स्थानीय सरकारसँग तपाईँहरू भोलिदेखि नै संवादमा रहनुहुनेछ । मेरोतर्फ बाट आवश्यक पहलकदमी सँधै रहनेछ । यो यात्रा हाम्रो सामुहिक यात्रा हो । आशाको यात्रामा हातेमालो गरौँ । यो मुलुक बन्छ र बनाउने हो, तर त्यो कस्तो डिजाइनमा बनाउने भन्ने कुरा तपाईँहरूको इन्जिनियरिङमा नै भर पर्नेछ ।
धन्यवाद ।
२०८१ साल माघ १८ गते, शुक्रबार ।