सम्माननीय श्रीमती विद्यादेवी भण्डारी, पूर्व राष्ट्रपतिले नेपाल स्काउटको ७२ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा गर्नुभएको सम्बोधन

लैनचौर, काठमाडौँ ।
नेपाल स्काउटका राष्ट्रिय संयोजक तथा पदाधिकारीहरू,
काठमाडौँ उपत्यकाभित्रका विभिन्न नगरपालिकाका प्रमुखहरू,
स्काउट प्रशिक्षकहरू,
राष्ट्रसेवकहरू,
सञ्चारकर्मीहरू,
भद्र महिला तथा सज्जनवृन्द ।
बालबालिका तथा युवाहरूको शारीरिक, मानसिक एवं बौद्धिक विकासका साथै उनीहरूलाई अनुशासित, स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भावनाको अभिवृद्धि गर्दै राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ नेपाल स्काउटको स्थापना भएको ७२ वर्ष पुगेको छ । सर्वप्रथम, नेपाल स्काउटको ७२औं स्थापना दिवसको यस अवसरमा म सम्पूर्ण स्काउट सदस्यहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
वि.सं. २००९ सालमा स्थापित नेपाल स्काउटलाई ‘नेपाल स्काउट ऐन, २०५०’ बाट कानुनी रूपबाटै संस्थागत गरिएपछि यसले नेपाल सरकारको आधिकारिक स्वयंसेवी निकायका रूपमा उल्लेखनीय कार्यहरू गर्दै आइरहेको छ ।
नेपाल स्काउटको वर्तमान नेतृत्वले देशका सातै प्रदेश र ७५३ वटै स्थानीय तहसम्म संगठनलाई विस्तार गरी स्काउटलाई गाँउ सहर सबैतिर पुर्याउन सफल भएको थाहा पाउँदा मलाई खुसी लागेको छ । यो आफैमा एउटा ऐतिहासिक उपलब्धी हो । जसका निम्ति म वर्तमान नेतृत्वलाई बधाई दिन चहान्छु ।
नेपाल स्काउटले प्राकृतिक विपद् तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यका साथै स्वास्थ्य, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम र अभियानहरूमा युवा जनशक्ति परिचालन गर्दै आइरहेको छ । चालु आर्थिक वर्षमा मात्र पैँतीस हजारभन्दा बढी युवा स्काउट स्वयम्सेवक परिचालन भएको मैले जानकारी पाएको छु । जुन कुरा अत्यन्त प्रशंसनीय छ ।
कोभिड–१९ महामारी नियन्त्रणमा पनि नेपाल स्काउटले उल्लेखनीय भूमिका खेलेको थियो । नेपाल स्काउटले चिकित्सक परामर्श सेवा, जनचेतना अभियान, आइसोलेसन, क्वारेन्टिन निर्माण, खाद्यान्न वितरण, एम्बुलेन्स सेवाका साथै संक्रमितको शव व्यवस्थापन समेत गरेको थियो । यसका लागि म सम्पूर्ण स्काउटहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।
देशमा आइपर्ने हरेक प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरूको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आइरहेको छ । सातै प्रदेशमा दक्ष विपद् व्यवस्थापन टोली गठन भई विपद् उद्धार कार्यमा स्काउटहरू परिचालन भएको थाहा पाउँदा म निकै हर्षित भएको छु ।
यसका साथै, लागुपदार्थ दुर्व्यसन विरुद्धको अभियानमा युवा स्काउटलाई परिचालित गर्ने जस्ता कार्यले हाम्रो समाजमा कलङ्कको रूपमा रहेको लागुपदार्थ दुर्व्यसनबाट युवाहरूलाई अलग राख्न मद्दत पुग्नेमा म विश्वस्त छु ।
विशेष गरी, महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना, महिला उद्यमशीलता र महिला नेतृत्व विकाससँग सम्बन्धित कार्यलाई प्राथामिकताका साथ सञ्चालन गरेकोमा म नेपाल स्काउटसँग अत्यन्त प्रभावित भएको छु ।
पछिल्लो समय, नेपाल स्काउटले अन्तर्राष्ट्रिय रूपमा पनि उल्लेखनीय सफलताहरू हात पार्दै आएकोछ । विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरू नेपालमा आयोजना हुनु, नेपालका बालबालिका तथा युवाहरूले उल्लेखनीय सङ्ख्यामा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउनु, सुशासन र सदस्यता वृद्धिमा एसियाकै उत्कृष्ट सदस्य राष्ट्र बन्न सफल हुनु, विश्व स्तरको लेखा तथा व्यवस्थापन परीक्षणमा सफल हुनु जस्ता कुरा नेपाल स्काउटका लागि मात्र नभई सिंगो राष्ट्रकै लागि गौरवको कुरा हो ।
अन्त्यमा, फेरि पनि म नेपाल स्काउटका पदाधिकारी लगायत संपूर्ण स्काउट सदस्यहरूलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।
मिति: २०८० साल असार ५ गते मङ्गलबार ।