सम्मानीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उद्घाटन कार्यक्रममा गर्नुभएको सम्बोधन

क्षिरेस्वर मा.वि.को खेल मैदान, जनकपुर ।
मधेश प्रदेश सभाका सभामुख माननीय श्री हरिशंकर मिश्र,
मधेश प्रदेशका मुख्यमन्त्री श्री सरोजकुमार यादव,
माननीय श्री योगेश भट्टराई,
माननीय सांसदहरू,
क्षिरेश्वर नगरपालिकाका मेयर तथा स्थानीय जनप्रतिनिधिहरू,
मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष,
खेलाडी भाइबहिनीहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित खेलप्रेमी दिदी बहिनी तथा दाजुभाइहरू ।
मधेस प्रदेशको राजधानी तथा ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय केन्द्रको रूपमा रहेको जनकपुरमा ‘प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता’ आयोजना गरेकोमा सर्वप्रथम म मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।
एकेडेमीद्वारा पहिलो पटक आयोजना गरिएको यो महिला खेलाडी केन्द्रित राष्ट्रिय स्तरको हक्की प्रतियोगिताले नेपाली खेलकुदको विकासमा एउटा नयाँ इँटा थपेको छ । नेपाली महिला खेलाडीहरूका लागि यसले नयाँ अवसर र सम्भावनाको ढोका खोलेको छ ।
मिथिला संस्कृतिको केन्द्र, ऋषिमुनिको तपोभूमि, अष्टावक्र, गार्गी, विद्यापति लगायतका विद्वान विदुषीले ज्ञान साधना गरेको पवित्र ज्ञानभूमिको रूपमा रहेको जनकपुरमा यस प्रकारका राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताहरू आयोजना गरिने क्रमसँगै ‘खेलभूमि’को रूपमा समेत जनकपुरको पहिचान थपिनेछ भन्ने मलाई लागेको छ ।
नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा जननेता मदन भण्डारीले पुर्याउनु भएको वैचारिक तथा राजनीतिक योगदानको सम्मान गर्दै खेलकुद क्षेत्रबाट स्वस्थ र अनुशासित जनशक्ति उत्पादन गरी राष्ट्र र जनताको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले स्थापना गरिएको मदन भण्डारी स्पोर्टस् एकेडेमीले आफ्नो घोषित लक्ष्य र उद्देश्यअनुरुप नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान गरिरहेको छ भन्ने मैले विश्वास लिएको छु ।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादका विशेषताहरूमध्ये ‘सेवा, पहलकदमी र प्रतिष्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने’ भन्ने बुँदाले खेलको नियमसँग निकट तादात्म्यता राख्दछ । नियमबद्ध, अनुशासित र सकारात्मक प्रतिस्पर्धाबाट मात्र खेलमा जित हासिल गर्न सकिन्छ । राजनीति र खेलकुदमा मात्र हैन, जीवनका हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्नका लागि पहलकदमी र प्रतिष्पर्धा अपरिहार्य हुन्छ, तर त्यस्तो प्रतिस्पर्धा स्वस्थ र सकारात्मक हुनु पर्दछ ।
खेलकुदले युवाहरूलाई सामुहिक कार्य, सञ्चार र नेतृत्व जस्ता ज्यादै महत्त्वपूर्ण सामाजिक सीपहरू विकास गर्न सहयोग गर्दछ । खासगरी, सामुहिक रूपमा खेलिने खेलकुदले सहकार्यको महत्त्व बुझ्न र साझा लक्ष्य प्राप्तिका लागि मिलेर काम गर्न सिकाउँदछ ।
खेलकुदले शारीरिक एवं मानसिक तन्दुरुस्ती, सामाजिक सीपको विकास, महिला सशक्तीकरण तथा सामुहिकताको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दछ । खेलकुदका फाइदाहरू खेल मैदानभित्र मात्र सिमित छैनन् । खेलकुदका लागि प्रतिबद्धता, अनुशासन र समय व्यवस्थापन आवश्यक पर्दछ । खेलकुद मार्फत सिकेका यी गुणहरूले व्यक्तिको जीवनका अन्य क्षेत्रहरूमा समेत सकारात्मक प्रभाव पार्दछ ।
खेलकुदमा पाएको सफलताले युवा पुस्तालाई उत्कृष्टताको पछि लाग्न र आफ्नो राष्ट्रको उन्नतिको लागि कडा परिश्रम गर्न प्रेरित गर्न सक्छ । उत्कृष्ट खेलाडीहरू प्राय: सबैको रोल मोडेल बन्दछन्, जसले राष्ट्रको पहिचानमा सकारात्मक योगदान पुर्याउने दृढ संकल्प, अनुशासन र सामुहिक कार्य जस्ता मूल्यहरू प्रदर्शन गर्दछन् ।
यसैगरी, खेलकुदमा महिलाहरूको सहभागिताले लैङ्गिक विभेद र पूर्वाग्रहमा आधारित पुरातन सामाजिक मान्यताहरूलाई तोडेर महिलाहरू पनि बलियो, प्रतिस्पर्धी र दक्ष खेलाडी हुन सक्छन् भन्ने धारणाको विकास गर्दै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्दछ ।
साथै, यस प्रकारका खेलकुद प्रतियोगिता आयोजनाको माध्यमबाट विविध भूगोल, जातजाति र भाषाभाषि र संस्कृति अङ्गालेका जनता बिच हुने सांस्कृतिक आदानप्रदानको अवसर प्रदान गर्दछ । यसबाट सबै नेपालीहरू बिच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई थप सुदृढ बनाउन समेत मद्दत पुग्दछ ।
पछिल्लो अवधिमा, नेपाली खेलाडीहरूले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताहरूमा उत्कृष्ट क्षमता प्रदर्शनको क्रम बढाइरहेका छन् । अपर्याप्त भौतिक पूर्वाधार, प्रशिक्षण तथा व्यवस्थापनका बिच पनि अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेल क्षमता प्रदर्शन गरेर मुलुकको प्रतिष्ठालाई उँचो बनाउँने नेपाली खेलाडीहरू धन्यवादको पात्र हुनुहुन्छ ।
हामीकहाँ अझै पनि खेलाडीहरूले जीर्ण र अपर्याप्त खेल पूर्वाधारहरूमा सिक्न र खेल्न बाध्य हुनु परिरहेको अवस्था छ । विगतमा थालिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुविधा सम्पन्न खेल पूर्वाधार तथा खेल मैदानहरूको निर्माण एवं स्तरोन्नतिका योजनाहरू अलपत्र परेका छन् । खेल पूर्वाधार, खेलाडीहरूको क्षमता विकास तथा सम्मान लगायतका ती योजनाहरूलाई यथाशीघ्र पूरा गर्दै खेल क्षेत्रको समग्र विकासमा ध्यान दिनु जरुरी रहेको छ ।
खेलकुदको माध्यमबाट राष्ट्रिय भावनाको प्रवर्द्धन, अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध र भाइचारा सम्बन्धको विस्तार, सांस्कृतिक आदानप्रदान, मनोरञ्जनका साथै पर्यटन प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान पुग्दछ । त्यसैले, खेलकुदबाट समाजका हरेक क्षेत्रमा सकारात्मक परिवर्तनसँगै समृद्धि ल्याउन सम्भव छ ।
अन्तमा, मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई पुन: बधाई दिँदै यस राष्ट्रिय प्रथम महिला हक्की प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दछु ।
धन्यवाद ।
२०८० फागुन १४ गते, सोमबार ।