२९ मङ्सिर २०८०, काठमाडौँ ।

नेपाल वाक तथा श्रवण संघका अध्यक्ष,

नेपाल वाक तथा श्रवण संघका अन्य पदाधिकारीहरू,

सम्मेलनमा सहभागी बोली, भाषा र श्रवण विशेषज्ञहरू तथा नाक कान घाँटी विशेषज्ञहरू,

सञ्चारकर्मीहरू,

भद्र महिला तथा सज्जनवृन्द ।

नेपाल वाक तथा श्रवण संघको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन तथा तेस्रो राष्ट्रिय सम्मेलनको उद्‍घाटन समारोहमा उपस्थित भएर स्वदेश तथा विदेशबाट आउनुभएका बोली, भाषा तथा श्रवण विशेषज्ञहरू तथा नाक कान घाँटी विशेषज्ञहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । कार्यक्रममा मलाई निमन्त्रणा गरी केही विचारहरू राख्ने अवसरका लागि म आयोजक संस्थालाई हार्दिक धन्यवाद दिन्छु । र, यस अवसरमा नेपाल वाक तथा श्रवण संघको प्रथम अन्तर्राष्ट्रिय तथा तेस्रो राष्ट्रिय सम्मेलनको पूर्ण सफलताको  कामना गर्दछु । 

चिकित्सा विज्ञानका सबै विधा र क्षेत्रहरू मानव स्वास्थ्यका लागि उत्तिकै महत्वपूर्ण छन् । आधुनिक विज्ञान र प्रविधिको विकास एवम् विश्वव्यापीकरणमा आएको तीव्रताका कारण मानव सभ्यताले एक अर्कासँग सहज अन्तरक्रिया गर्न सक्षम भएसँगै चिकित्सा विज्ञान र औषधोपचारका क्षेत्रमा पनि अनुभव र सिपको आदानप्रदान सजिलो भएको छ । बोली, भाषा तथा श्रवण विशेषज्ञहरू तथा नाक कान घाँटी विशेषज्ञहरूको यो ऐतिहासिक सम्मेलनमा हुने छलफलका माध्यमबाट बोली तथा सुनाईसँग सम्बन्धित समस्याहरूको निदान र उपचारमा विकसित भएका नवीतम प्रविधिहरू, हासिल गरिएका अनुभव तथा असल अभ्यासहरू आदानप्रदान गर्न मद्दत पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु ।

कुनै पनि व्यक्तिले सामान्य बोली र भाषाको विकासको क्रममा हासिल गर्ने सञ्चार सम्बन्धी सीपको  सिलसिला मानव जीवनभर निरन्तर चलिरहन्छ । त्यही सञ्चार सीपले मानिसलाई सबै प्राणीहरूमा अद्वितीय बनाएको छ । तर, बोली र भाषामा हुने कुनै पनि विकारले सञ्चार प्रक्रियामा समेत अवरोध सिर्जना हुन गई हामीले दैनिक जीवनमा कठिनाईहरूको सामना गर्नुपर्ने हुन्छ ।

धेरैजसो बालबालिकामा सुनाईको कमजोरीले गर्दा समयमा बोली विकास नहुने हुन्छ । यसका साथै  अटिजम, ल्याङ्वेज डिसअर्डर, हाइपर एक्टिभिटी डिसअर्डर, डाउन सिन्ड्रोम लगायतका विभिन्न समस्याका कारणले पनि समयमा बोलीको विकास नहुन सक्दछ । यसका अतिरिक्त, गलत खानपान र परिवर्तित जीवनशैलीका कारण समेत बालबालिकाहरूको बोली र भाषा विकासमा नकारात्मक असर परिरहेको छ । कतिपय अवस्थामा आमाबुबा आफ्नो पेशा व्यवसायमा व्यस्त हुनु परेकाले बालबालिकासँग पर्याप्त समय व्यतित गर्न सकिरहेका हुँदैनन् । जसका कारण बालबालिकालाई दोहोरो कुराकानी गर्ने अवसर प्राप्त हुँदैन । फलस्वरुप बालबालिकाको बोली र भाषा विकासमा ढिलाई हुन पुग्दछ । तसर्थ, बालबालिकालाई उचित हेरचाहसहित पोषणयुक्त खाना खुवाउनुका साथै आमाबाबुले उनीहरूसँग पर्याप्त समय व्यतित गर्नु पर्दछ ।

बोलाई र सुनाईसम्बन्धी समस्याको छिटोभन्दा छिटो पहिचान गरी उपचार भएको खण्डमा बालबालिकाको जीवनमा सकारात्मक सुधार ल्याउन सकिन्छ । यसका लागि परिवार, समुदाय र आम नागरिकमा सचेतना अभिवृद्धि गर्न आवश्यक छ । यसरी नै विद्यालयहरूमा नियमित श्रवण परीक्षण गर्ने व्यवस्था गरिनुका साथै श्रवण यन्त्र प्रयोगकर्ताहरूलाई साधारण श्रवण यन्त्रहरू नि:शुल्क वितरण गर्ने व्यवस्था समेत गरिनु पर्दछ ।

नेपालमा वाक, श्रवण तथा भाषा विकास सम्बन्धी समस्याको निदान तथा उपचारलाई ग्रामीण तहसम्म लैजानुपर्ने चुनौती हाम्रा सामु रहेको छ । विभिन्न समयमा विभिन्न सामाजिक संघ संस्था तथा तपाईं चिकित्सकहरूको प्रयासबाट हुने स्वास्थ्य शिविर लगायतबाट ती अवसरहरू उपलब्ध भएका छन्, तर यस क्षेत्रमा अझै ठूलो र संगठित प्रयास आवश्यक छ ।

नेपालमा बोली तथा सुनाईसम्बन्धी समस्याको अनुपातमा यस क्षेत्रसँग सम्बन्धित विशेषज्ञ जनशक्ति अपर्याप्त रहेको छ । तसर्थ, श्रवण—अपाङ्गता तथा वाक अपाङ्गताको समस्यालाई सम्बोधन गर्न आवश्यक पर्ने बोली, भाषा र श्रवण विशेषज्ञहरू सहित विशिष्टीकृत स्वास्थ्य जनशक्ति उत्पादन गर्नेतर्फ शैक्षिक संस्थाहरूका साथै सरकारका जिम्मेवार निकायहरूको ध्यान जानु पर्दछ ।

स्वस्थ व्यक्तिबाट मात्र स्वस्थ समाज‚ सुदृढ अर्थतन्त्रको विकास र स्वाधीन, आत्मनिर्भर एवं सबल मुलुकको निर्माण हुन सक्दछ भन्ने यथार्थलाई कार्यरूप दिन नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ । तसर्थ‚ गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ पहुँचमा पुर्‍याउनु राज्यको महत्वपूर्ण दायित्व  बन्न गएको छ  ।

आजको समयमा बढ्दो उपभोक्तावाद, बदलिँदो जीवनशैली तथा तीब्र वातावरण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगका साथै बोलाई तथा सुनाई सम्बन्धी विकारहरू बढ्दै जानु चिन्ताको विषय हो ।  यसका साथै, विभिन्न समयमा अचानक देखापर्ने कोभिड–१९ जस्ता नयाँ रोगका साथै डेंगु र हैजा जस्ता  महामारीहरूको सामना गर्न सक्षम हुनेगरी  सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन हाम्रो देशका तीनै तहका सरकारले उचित ध्यान दिनु पर्दछ ।

यसैगरी, स्वास्थ्य नै धन हो भन्ने हाम्रो मान्यतालाई व्यवहारमा उतार्न सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ तुल्याउनु पर्दछ । यसका निम्ति राज्यले चिकित्सा शिक्षाको विकासमा जोड दिँदै गुणस्तरीय जनशक्ति उत्पादनमा ठोस योगदान पुर्‍याउनु पर्दछ । स्वास्थ्य सेवाको उपलब्धता र मेडिकल शिक्षामा आम नागरिकको पहुँच आपसमा अन्तरसम्बन्धित विषय हुन् । साथै, राज्यले विशिष्टीकृत स्वास्थ्य सेवा प्रवर्द्धनका लागि अध्ययन अनुसन्धानमा समेत लगानी बढाउनुपर्ने खाँचो रहेको छ । यसबाट एकातिर न्यून आय भएका जनताका छोराछोरीले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर प्राप्त गर्दछन् भने अर्कातिर गरिब तथा निमुखा जनताले समेत स्वास्थ्य सेवा लिन सहज अवस्था सिर्जना हुन पुग्दछ । 

जडीबुटीको धनी देश नेपालमा मुलुकलाई आवश्यक पर्ने करिब ४० प्रतिशत औषधि यहीँ उत्पादन भए पनि तिनको गुणस्तर र प्रभावकारिता जस्ता विषयहरूमा अझै पनि जनगुनासोहरू रहेको पाइन्छ । औषधिलाई खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा जस्ता वस्तुहरूको बीचमा राखी एउटै खरिद नियमावलीले हेर्नुपर्ने विद्यमान अवस्थालाई परिमार्जित गरी गुणस्तर र जनस्वास्थ्यमा कुनै पनि प्रकारको सम्झौता नगरिकन औषधि खरिद, भण्डारण र बिक्री–वितरणसम्बन्धी छुट्टै नियम कानुन बनाई कार्यान्वयनमा ल्याउन समेत यस अवसरमा म सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।

अन्तमा, यस सम्मेलनले वाक, श्रवण तथा भाषा विकास सम्बन्धित विकारहरूको अनुसन्धान, निदान एवम् उपचारका क्षेत्रमा रहेका समस्याहरूलाई कम गर्न महत्वपूर्ण निर्णय गर्ने अपेक्षासहित विभिन्न मुलुकबाट नेपाल आउनुभएका अतिथिहरूलाई म सुखद् नेपाल बसाइको कामना गर्दछु र पुन: एकपल्ट यस सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।

धन्यवाद ।