२२ फागुन २०८१, काठमाडौं ।

अनलाइनखबरका अध्यक्ष,

सञ्चारकर्मी मित्रहरू,

कार्यक्रममा उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।

अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक वर्ष मार्च ८ मा महिलाहरूको अधिकार तथा लैङ्गिक समानताको क्षेत्रमा हासिल भएका उपलब्धिहरूलाई सम्मान गर्न विश्वभरि नै मनाइन्छ । यो दिवस लैङ्गिक समानताको प्रवर्द्धन, महिलाहरूको योगदानको कदर र उनीहरूका सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक उपलब्धिहरूलाई उजागर गर्ने अवसर पनि हो ।

नेपालको एक अग्रणी अनलाइन न्यूज पोर्टल अनलाइनखबर डटकमले अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)को सन्दर्भ पारेर गत वर्षदेखि ५० प्रभावशाली नेपाली महिलाहरूको सूचि सार्वजनिक गर्न थालेको थाहा पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । यस वर्ष अनलाइनखबरद्वारा ‘५० प्रभावशाली महिला’का रूपमा सूचिकृत गरिनुभएका व्यक्तित्वहरूलाई म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । साथै, गत वर्ष अर्थात् पहिलोपटक सूचिकृत हुनुभएका ‘५० प्रभावशाली महिला’लाई पनि म बधाई तथा शुभकामना दिन चाहन्छु । तपाईँहरूको सत्कर्म, सकारात्मक सोच, अथक मेहनत र कठिन संघर्षबाट समाज र राष्ट्रले निरन्तर प्रेरणा प्राप्त गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु । यस अवसरमा, म ८ मार्चको पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रममार्फत यहाँहरू सबैमा अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको एक अग्रणी अनलाइन न्यूज पोर्टलका रूपमा अनलाइनखबरले क्षण–क्षणमा भए घटेका घटनाका बारेमा समाचार सम्प्रेषण तथा विचार प्रकाशनका अतिरिक्त समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने उद्देश्यका साथ थालनी गरेको यस प्रकारको रचनात्मक अभियानको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु ।  

अनलाइनखबरले यससँगै ‘४० वर्ष मुनिका ४० युवाहहरू’को सूची समेत सार्वजनिक गर्न थालेको छ । यी दुवै अभियानमा व्यवस्थित एवं पारदर्शी प्रक्रिया अपनाइएको छ भन्ने मैले विश्वास लिएको छु । यस अवसरमा, म छनौट प्रक्रियामा संलग्न निर्णायकहरूलाई पनि बधाई दिन चाहन्छु ।

समाजलाई अग्रगति दिने र बाटो देखाउने महिला तथा युवाहरूलाई सञ्चारमाध्यमले यसरी उजागर गर्नु वास्तवमै सराहनीय कुरा हो । यसले आफ्नो पेशा, व्यवसाय तथा रूचिका क्षेत्रमा निष्ठा र इमान्दारीका साथ समर्पित व्यक्तित्वहरूलाई सार्वजनिक पहिचान प्रदान गर्दछ । यस प्रकारको पहल र प्रयासले दृढ संकल्प र लगनशीलतासहित निरन्तर काम गर्न सकेको खण्डमा स्वदेशमै बसेर पनि उल्लेखनीय सफलता हासिल गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्दछ । साथै, राजनीति, कला, साहित्य, सङ्गीत, खेलकुद, उद्योग, व्यापार, प्रशासन, विज्ञान, प्रविधि लगायत राष्ट्रिय जीवनका हरेक क्षेत्रमा महिलाहरूको यस प्रकारको प्रभावशाली उपस्थितिलाई नेपाली समाजको समग्र विकासको सूचकका रूपमा समेत लिन सकिन्छ ।

मानव जातिको निरन्तरताका लागि प्रकृतिले पुरुष र महिलालाई शारीरिक संरचना र केही फरक जैविक भूमिका सहित एकअर्काप्रति अन्तरनिर्भर बनाएको छ । प्रकृति प्रदत्त यो जैविक भिन्नता र अन्तरनिर्भरता मानव जनसङ्ख्याको अस्तित्वका लागि अपरिहार्य छ । पुरुष र महिला बीचको यही अन्तरसम्बन्ध र अन्तरनिर्भरताद्वारा नै आजको मानव समाज र सभ्यताको निर्माण भएको हो । तर समयक्रममा महिलाहरूको सामाजिक, आर्थिक र राजनीतिक स्थान सीमित हुँदै गयो र पितृसत्तात्मक संरचनाले जरा गाड्न थाल्यो । फलस्वरुप, महिला र पुरुषको बिचमा विभेद र असमानताको गहिरो खाडल उत्पन्न भयो । यस प्रकारको विभेद र असमानताको विरोध तथा लैङ्गिक समानताको लागि विश्वव्यापी रूपमा अनेकन विद्रोह र आन्दोलनहरू पनि  हुँदै आएका छन् । यो अझै जारी रहेको छ ।

हाम्रा अग्रजहरूले थालनी गरेका महिला अधिकार तथा लैङ्गिक समानताको अभियानकै  निरन्तरताको रूपमा २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका  अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ (जरुरी सार्वजनिक महत्वको प्रस्ताव) पारित गरेको थियो । उक्त ‘विशेष प्रस्ताव’लाई आधार मानेर नेपालको संविधानले महिलाको समानताको हक, समानुपातिक सहभागिताको हक, प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार, महिलाविरुद्ध हिंसामा प्रतिबन्ध लगायत महिलाका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरेको छ । साथै, राज्यका महत्वपूर्ण निकाय तथा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमूलक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ । जसको कारण आज शिक्षा, स्वास्थ्य, व्यापार–व्यवसाय, राजनीति तथा प्रविधि जस्ता क्षेत्रमा महिलाहरूको उपस्थिति उल्लेख्य रूपमा वृद्धि हुनाको साथै उनीहरूको नेतृत्व क्षमता र प्रभावकारी भूमिका समेत समाजमा स्थापित हुँदै गएको छ ।  अनलाइन खबरद्वारा घोषित ५० प्रभावकारी महिलाको सूचि भित्रका कैयन नामहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ । साथै, आज नेपाली महिलाहरू मुलुककै सर्वोच्च पद राष्ट्रपतिका साथै प्रधानन्यायाधीश, सभामुख जस्ता उच्च पदमा समेत पुग्न सफल भएका छन् । यसरी, महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा हामीले हासिल गरेका उपलब्धीहरू विश्व महिला आन्दोलनकै निम्ति समेत उदाहरणीय बनेका छन् ।

आज महिला अधिकार, सशक्तीकरण र उनीहरूको कल्याणको विषय राज्यको प्रमुख प्राथमिकता र दायित्वभित्र पर्दैगएको छ भन्न सकिन्छ । म राष्ट्रपति रहेका बखत नेपाल सरकारले थालनी गरेका राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका साथै राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत यातायातका साधन नपुगेका दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारका लागि सञ्चालित हेलिकप्टर सेवा मातृ तथा शिशुको जीवन रक्षाको लागि  एउटा राम्रो उदाहरणको रूपमा लिन सकिन्छ । यी कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै निरन्तरता दिन आवश्यक छ । खासगरी हवाई उद्धार सेवाका अतिरिक्त दुर्गम गाउँहरूमा एम्बुलेन्स सेवाको समेत विस्तार गरिनु अत्यन्त आवश्यकता रहेको छ ।

लैङ्गिक समानताको अभिप्राय समान अधिकारका साथै परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु पनि हो । लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले यसका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक हुन्छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै समाजका सिमान्तीकृत समुदायको हित र कल्याणका लागि सामाजिक सुरक्षाको क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी बढाउनु आवश्यक छ । सबल र सुदृढ राष्ट्रिय अर्थतन्त्र नभई राज्यले यस क्षेत्रमा लगानी बढाउन सक्दैन । यसका लागि मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदाहरूको दिगो उपयोग एवं युवा जनशक्तिको परिचालन मार्फत स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै सुदृढ राष्ट्रिय अर्थतन्त्र विकास गर्नु आवश्यक छ । रोजगारीका अवसर तथा गुणस्तरीय शिक्षाको खोजीमा युवा जनशक्तिका साथै ठूलो धनराशी समेत विदेश पलायन भइरहेको सन्दर्भमा यसलाई रोक्न स्वदेशमै गुणस्तरीय शिक्षाको व्यवस्था एवं रोजगारीको सिर्जना गर्नु पनि त्यत्तिकै आवश्यक छ ।

अन्तमा, अनलाइनखबरले राष्ट्रिय जीवनका विविध क्षेत्रमा नेपाली महिलाहरूको सार्थक उपस्थिति र हस्तक्षेपलाई मूल्याङ्कन गर्ने मञ्च प्रदान गरेकोमा धन्यवाद दिन चाहन्छु । आगामी वर्षहरूमा यो प्रयासले अझै राम्रोसँग निरन्तरता पाउन सकोस् । देशका शहरदेखि गाउँवस्तीसम्म विभिन्न क्षेत्रमा निरन्तर काम गरिरहे पनि पहिचान पाउन नसकिरहेका महिलाहरुलाई अझै आफ्नो मेहनत जारी राख्न म आग्रह गर्छु ।

म अभियानमा सहभागी अनलाइनखबरको व्यवस्थापन, समाचारकक्षसहित सबै विभागहरूलाई धन्यवाद  दिन चाहन्छु । पुन: एकपटक ५० प्रभावशाली महिलाहरूलाई हार्दिक बधाई तथा शुभकामना दिन्छु ।

धन्यवाद ।

२०८१ साल फागुन २२ गते विहीबार ।