सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले अन्नपूर्ण मिडिया नेटवर्कद्वारा विविध क्षेत्रका अग्रणी व्यक्तित्वहरूलाई सम्मानित गर्न आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

२०८० असोज १५ गते सोमबार
होटल सोल्टी, काठमाडौँ ।
अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष श्री रामेश्वर थापा,
पूर्व अर्थमन्त्रीहरू,
अन्नपूर्ण एक्स्प्रेसद्वारा सम्मानित व्यक्तित्वहरू,
सञ्चारकर्मीहरू,
भद्र महिला तथा सज्जनवृन्द ।
नेपालको एक प्रतिष्ठित सञ्चार तथा प्रकाशन गृह अन्नपूर्ण मिडिया नेटवर्कद्वारा राष्ट्रिय जीवनका विविध विधामा उल्लेखनीय योगदान गरिरहनुभएका व्यक्तित्वहरूको सम्मानमा आयोजित यस कार्यक्रममा सहभागी भएर यहाँहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ ।
अन्नपूर्ण मिडिया नेटकवर्कद्वारा प्रकाशित अङ्ग्रेजी दैनिक ‘द अन्नपूर्ण एक्स्प्रेस’ले समाज र राष्ट्रको विकासमा विशिष्ट योगदान गर्नुहुने विविध विधा र क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूका विचार, धारणा र संघर्षका कथाहरूलाई चरणबद्ध रूपमा जनसमक्ष ल्याउँने कार्य प्रशंसनीय छ । विषयगत विज्ञताका साथै व्यवसायिक र व्यवहारिक जीवनका अनुभवको कसीमा खारिएर समृद्ध बनेका उहाँहरूका धारणा, सुझाव र सल्लाह समाज एवं राष्ट्रको विकासका निम्ति मार्गदर्शक बन्न सक्दछ । र, यो विकाससम्बन्धी नीति तथा योजना निर्माण गर्ने निकायहरूका लागि पनि उत्तिकै उपयोगी साबित हुनेछ भन्ने मलाई लागेको छ ।
विकास एक बहुआयामिक विषय हो, विकास कुनै एक व्यक्ति वा संस्थाको एकल दृष्टि वा चाहनाबाट मात्र निर्देशित हुनु हुँदैन । मुलुकको समष्टिगत विकासका लागि व्यक्ति, परिवार, समाज र राष्ट्रका विविध पक्षहरूको बिचमा सन्तुलन आवश्यक पर्दछ । नीति निर्णय र योजना निर्माणको जिम्मेवारीमा रहेका पदाधिकारीहरूमा समाजका सबै पक्ष र क्षेत्रका अवसर र चुनौतिहरूका बारेमा जानकारी नहुन पनि सक्दछ । तसर्थ शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, साहित्य, सङ्गीत, खेलकुद, सञ्चार, कृषि, वन, उद्योग, व्यापार, इतिहास, पुरातत्व, भूगोल र व्यवस्थापन लगायत अनेकन विशिष्टिकृत क्षेत्रहरूमा अग्रणी भूमिका खेलिरहेका व्यक्तित्वहरूको ज्ञान, सिप र अनुभव मुलुकको विकासका निम्ति अत्यन्त उपयोगी हुन सक्दछ । तसर्थ, राष्ट्रिय जीवनका विविध क्षेत्रसँग सम्बन्धित अग्रणी तथा दूरदृष्टि राख्नुहुने व्यक्तित्वहरू र उहाँहरूका योगदानलाई उजागर गर्न लिइएको यस प्रकारको अग्रसरताका लागि म अन्नपूर्ण मिडिया नेटवर्क परिवारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
द अन्नपूर्ण एक्सप्रेसले यसअघि नै विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपालका अग्रणी तथा दूरदृष्टि भएका व्यक्तित्वहरूले मुलुकको विकास र समाजको अग्रगामी रूपान्तरणका लागि पुर्याएका योगदानलाई आफ्ना पाठकसामु प्रस्तुत गरिसकेको र यसरी नै आगामी दिनमा नयाँ साप्ताहिक श्रृङ्खला मार्फत नेपालका अग्रज योजनाकारहरूलाई सम्प्रेषित गरिने कुरा थाहा पाउँदा म अत्यन्त हर्षित भएको छु ।
एउटा जिम्मेवार सञ्चार गृहको रूपमा अन्नपूर्ण मिडिया नेटकवर्कले दैनिक रूपमा भए घटेका घटनाका बारेमा समाचार सम्प्रेषणका अतिरिक्त मुलुकको विकाससँग सम्बन्धित जल्दाबल्दा मुद्दाहरूमा गहन छलफल तथा सचेतना अभियानहरू समेत सञ्चालन गर्दै आएको कुरा पनि मेरो जानकारीमा रहेको छ । यसरी एउटा सञ्चार तथा प्रकाशन गृहले समाज र राष्ट्रको विकासका निम्ति गरेको रचनात्मक पहलकदमीबाट समाजका अन्य क्षेत्र र पक्षहरूले समेत सिक्न जरूरी छ भन्ने मलाई लागेको छ ।
ठूलो राजनीतिक परिवर्तनपश्चात हाम्रो देश अहिले आर्थिक समृद्धिको बाटोमा अग्रसर रहेको छ । तर अझैँ पनि मुलुकले विकासका अनेकौँ चुनौतिहरूको सामना गरिरहनु परेको छ । जल, जमिन, जङ्गल, जडीबुटी, जैविक विविधताका साथै र खनिज लगायत हाम्रा अमूल्य प्राकृतिक स्रोतहरूको सदुपयोग र उचित व्यवस्थापन हुन सकिरहेको छैन । फलस्वरूप, कृषि प्रधान भनिएको हाम्रो देश अहिलेसम्म कृषिजन्य उत्पादनमा समेत आत्मनिर्भर हुन सकिरहेको छैन । सियो-धागो जस्ता स-साना दैनिक उपभोग्य वस्तुदेखि लिएर महँगा गाडीसम्म हामी पूर्ण रूपमा आयातमा निर्भर रहनु परेको छ । फलस्वरुप, हाम्रो व्यापार घाटा दिनप्रतिदिन चुलिँदै गएको छ । तसर्थ, मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदाहरूको दिगो उपयोग एवं युवा जनशक्तिको परिचालन मार्फत स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र विकास गर्नु हाम्रो लागि अहिले मुख्य चुनौति बनेको छ ।
यसैगरी, रोजगारीका अवसर तथा गुणस्तरीय शिक्षाको खोजीमा युवा जनशक्तिका साथै ठूलो धनराशी समेत विदेश पलायन हुनु दु:खको कुरा हो । यसलाई रोक्न स्वदेशमै गुणस्तरीय शिक्षाको व्यवस्था एवं रोजगारीको सिर्जना गर्नु अति आवश्यक भएको छ ।
मुलुकले सामना गरिरहेको यस प्रकारका चुनौतिहरूलाई पन्छाउँदै उद्याशीलता र नवप्रवर्तनको विकास मार्फत मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सरकार, निजी क्षेत्र र आम सञ्चार क्षेत्रको सम्मन्वयात्मक पहलको आवश्यकता छ । यस सन्दर्भमा, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, जो स्वयम् एक अनुभवी र प्रतिष्ठत उद्यमी-व्यवसायी समेत हुनुहुन्छ, नेपाली अर्थतन्त्रलाई कसरी सुदृढ बनाउँन सकिन्छ भन्ने विषयमा उहाँ हामीभन्दा बढी जानकार हुनुहुन्छ । उहाँ सहित विविध क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका यहाँ उपस्थित महानुभावहरूबाट समेत म स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासका लागि रचनात्मक भूमिकाको अपेक्षा गर्दछु ।
हाम्रो संविधानले सबै प्रकारका विभेदहरूको अन्त्य गर्दै समन्याय र समविकासको सिद्धान्तका आधारमा सबै धर्म, जातजाति, भाषाभाषी, लिङ्ग र क्षेत्रका जनताको लागि राज्यका निकायहरूमा समावेशी तथा समानुपातिक सहभागिता सुनिश्चित गरेको छ । तथापि, व्यवहारिक रूपमा अझै पनि हाम्रो समाजमा जातीय छूवाछूत, बोक्सी, दाइजो र तिलक प्रथा जस्ता विभेद र हिंसाजन्य अभ्यासहरू कायम रहेका छन् । यस प्रकारका सामाजिक विभेद र विसंगतिलाई न्यूनीकरण गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माण गर्नका लागि आम सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । साथै, यहाँहरू जस्तै समाजका अग्रणी व्यक्तित्वहरूले पनि आफूलाई ‘रोल मोडल’को रूपमा प्रस्तुत गरेर समाजको प्रगतिशील रूपान्तरणका लागि समाजलाई मार्गदर्शन गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्दछ ।
यसरी नै, कुनै पनि राष्ट्र सबल र सक्षम हुनका लागि बलियो अर्थतन्त्र भएर मात्र पुग्दैन । यसका लागि हामीसँग प्रबल राष्ट्रिय भावनाको समेत जरुरत पर्दछ । यस्तो राष्ट्रिय भावना हाम्रो मौलिक भाषा, संस्कृति र जीवनशैलीबाट निसृत भएको हुन्छ । नेपाली राष्ट्रियताको भावनालाई थप सुदृढ गर्न नेपालको मौलिक भाषा र संस्कृतिको जगेर्ना गर्ने कार्यमा आमसञ्चार माध्यमहरूको महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा सबैले मनन गर्नु पर्दछ ।
अन्तमा, आज सम्मानित हुनुभएका व्यक्तित्वहरूलाई हार्दिक बधाई दिन चाहन्छु । साथै, एउटा प्रतिष्ठित सञ्चार गृहको स्थापना, सञ्चालनका साथै यसलाई सबल नेतृत्व प्रदान गर्नुहुने अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहित समस्त अन्नपूर्ण मिडिया नेटवर्क परिवारलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।
२०८० असोज १५ गते सोमबार ।