२०८० माघ १६ गते मंगलबार, कमलादी, काठमाडौँ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष श्री केपी शर्मा ओलीज्यू,

पूर्व उप–प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष श्री ईश्वर पोखरेलज्यू,

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपतिद्वय श्री वैरागी काइँला तथा श्री गङ्गाप्रसाद उप्रेतीज्यू,

आज लोकार्पण गरिएको पुस्तकका सङ्कलक तथा सम्पादक सानुमैयाँ खड्का (सविता),

पुस्तकका समीक्षक विद्वत वर्ग,

सञ्चारकर्मीहरू,

भद्र महिला तथा सज्जनवृन्द ।

सभ्यता अन्वेषण केन्द्र तथा समान पहुँच नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा सहभागी भई तपाईहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ ।

आज लोकार्पण गरिएको ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री श्री केपी शर्मा ओलीले प्रजातन्त्रको पुनर्स्थापना पछिका तीन दशकको अवधिमा एक निर्वाचित जनप्रतिनिधिको रूपमा सांसद, मन्त्री एवं प्रधानमन्त्रीका हैसियतले संसद्, व्यवस्थापिका संसद् तथा संविधानसभालाई गर्नुभएका सम्बोधनहरूको एक वृहत् अभिलेख हो ।

सानुमैयाँ खड्का (सविता)ले धेरै मिहिनेत गरी निकै लामो समय लगाएर यो ठुलो आकारको पुस्तक तयार गर्नुभएको छ  । सानोतिनो मिहिनेतले यति ठुलो काम सम्पन्न गर्न सम्भव छैन । उहाँले यो अभिलेख तयार गरेर ज्यादै महत्त्वपूर्ण काम गर्नुभएको छ । यसका लागि म सर्वप्रथम पुस्तकका सङ्कलक एवं सम्पादक सानुमैयाँ खड्कालाई धन्यवाद सहित हार्दिक बधाई दिन चाहन्छु ।

यस पुस्तकका नायक श्री केपी शर्मा ओली समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रभावशाली नेताका रूपमा उच्च स्थान लिन सफल उहाँ नेकपा (एमाले)को अध्यक्ष र पटक पटक प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व  हुनुहुन्छ । उहाँ राजनीतिका साथै कला, साहित्य, संस्कृति एवं धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ । यस हिसाबले उहाँ अजस्र ज्ञानको स्रोत पनि हुनुहुन्छ ।

यसर्थ श्री केपी शर्मा ओलीले संसद्‍मा गर्नुभएका भाषणहरू पनि राजनीतिक हिसाबले मात्र होइन, बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण  छन् र ती सङ्कलनीय एवं सङ्ग्रहणीय पनि रहेका छन् भन्ने मलाई लाग्छ । त्यसैले पनि यस पुस्तकको विशेष महत्त्व रहेको छ ।

केपी शर्मा ओली नेकपा (एमाले)का तर्फबाट २०४८, २०५१ र २०५६ मा संसद् सदस्य तथा २०७४ मा संविधानसभा सदस्य  र २०७९ मा संसद् सदस्यमा निर्वाचित हुनुभएको हो । यस क्रममा उहाँ २०५१ मा गृहमन्त्री, २०६४ मा उपप्रधान तथा परराष्ट्रमन्त्री, २०७२ मा पहिलो पटक,  २०७४ मा दोस्रो पटक र २०७८ मा तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त  हुनुभएको  थियो । उहाँले यिनै जिम्मेवारीमा रहँदा कहिले विपक्षी नेताका रूपमा त कहिले मन्त्री वा प्रधानमन्त्रीका रूपमा  प्रतिनिधिसभा, व्यवस्थापिका संसद् र संविधानसभामा बोल्नुभएका भाषणहरू यस पुस्तकमा समेटिएका छन् ।

श्री केपी शर्मा ओलीले संसद्‍मा बोल्नुभएका कुराहरू कथ्य रूपमा मात्र संसद् सचिवालयमा थन्किएर रहेका थिए । तिनलाई अभिलेखीकरण गरी यस पुस्तकका माध्यमबाट सार्वजनिक गर्ने काम भएको छ । अब यी मन्तव्यहरू आम पाठकका बिच आएका छन् ।

नेपालको लोकतान्त्रिक शासन व्यवस्था र राष्ट्रिय विकासका लागि राजनीतिक नेताहरूले गरेका सार्वजनिक भाषणहरूको दस्तावेजीकरणले ठुलो महत्त्व राख्दछ । यस्ता अभिलेखहरूले वर्तमान र भावी पुस्ता बिच पुलको रूपमा काम गर्दछ । साथै, अनुसन्धानकर्ताहरू, इतिहासकारहरू तथा आम पाठकलाई कुनै निश्चित समयावधिको परिवेश, चुनौतीहरू र जनताका आकांक्षाहरू बुझ्न समेत यस्ता अभिलेखहरू उपयोगी हुन सक्दछ ।

लोकतन्त्रमा नागरिकहरूलाई उनीहरूको जीवनमा असर गर्ने निर्णयहरू र आफूले चुनेर पठाएका जनप्रतिनिधिले गरेका कामहरूका बारेमा जानकारी प्राप्त गर्ने अधिकार हुन्छ । सार्वजनिक भाषणहरूको दस्तावेजीकरणले एकतर्फ राजनीतिक नेताहरूलाई आफूले जनताका सामु गरेका बाचाहरू, घोषणाहरू र गरेका कार्यहरूका लागि जवाफदेही बनाउन सहयोग गर्दछ भने अर्कोतर्फ आफ्ना विचार, दृष्टिकोण एवं पहलहरूलाई जनतामाझ पुर्‍याउन सञ्चार पुलको काम समेत गर्न सक्दछ भन्ने मलाई लाग्दछ ।  

यस पुस्तकले नेपाली संसद्को इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा (एमाले)ले खेलेको भूमिकालाई उजागर गरेको छ ।

अन्त्यमा, पूर्व प्रधानमन्त्री श्री केपी शर्मा ओलीका सम्बोधनहरूलाई सङ्कलन र सम्पादन गरी यति वृहत् आकारको पुस्तकका रूपमा यो दस्ताबेज प्रस्तुत गर्नुभएकोमा म यस पुस्तकका सङ्कलक एवं सम्पादक सानुमैयाँ खड्का  (सविता) लाई पुन: धन्यवाद दिन चाहन्छु ।      

धन्यवाद ।