श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा लिखित Nepal-India Frontier Diplomacy in Reference to Kali River: Perspectives of International Law शीर्षकको पुस्तक विमोचनका अवसरमा गर्नुभएको सम्बोधन

राष्ट्रिय सभागृह, काठमाडौँ
कार्यक्रमका अध्यक्ष,
आज सार्वजनिक भएको पुस्तकका विद्वान लेखकहरू डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतम,
उपस्थित विद्वत वर्ग,
भद्र महिला तथा सज्जनवृन्द ।
मुलुकहरू बीचमा नदी प्रणालीले सिर्जना गरेका सीमासम्बन्धी आयामका विषयमा अन्तर्राष्ट्रिय कानुनको आलोकबाट कतिपय नयाँ दृष्टिकोण तथा तथ्यरू प्रस्तुत गर्दै लेखिएको पुस्तक विमोचनका अवसरमा तपाईंहरूसँग भेट गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । पुस्तकका लेखकहरू बरिष्ठ अधिवक्ता तथा प्राज्ञिक व्यक्तित्व डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमलाई यो अवसरमा हार्दिक बधाई दिन चाहन्छु । लेखकहरूले भविष्यमा समेत यस्ता अनुसन्धानमूलक सामग्रीहरू पाठक समक्ष ल्याउनुहुनेछ भन्ने अपेक्षा लिएको छु । यस किसिमको अनुसन्धान तथा प्राज्ञिक कार्यले लेखकहरूको अध्ययन र चिन्तनको दायरा बढ्दै जाने र त्यसबाट हाम्रो राष्ट्रले थप लाभ प्राप्त गरिरहने विश्वास व्यक्त गर्दछु । साथै, पुस्तक सार्वजनिक गर्न मलाई आमन्त्रण गर्नुभएकोमा कार्यक्रमका आयोजकप्रति आभार प्रकट गर्दछु, हार्दिक धन्यवाद दिन चाहन्छु ।
आज सार्वजनिक भएको पुस्तकका बारेमा र यसले उठाएका विषयमाथि भर्खरै विद्वान समीक्षकले आफ्ना दृष्टिकोण राखिसक्नु भएको छ । यस प्रकारका पुस्तकमाथि हुने गहन समीक्षा, पाठकहरूका बीचमा हुने छलफल र बहसबाट लेखक, अनुसन्धानकर्ता तथा सर्वसाधारण समेत लाभान्वित हुने मैले अपेक्षा लिएको छु ।
आज विमोचन भएको पुस्तकको सन्दर्भले इतिहास र वर्तमानको बीचमा हाम्रो भूमिका र दायित्वको सिंहावलोकन माग गर्दछ । हामीले हाम्रो इतिहासबाट मातृभूमि प्रतिको अविचलित समर्पण र निष्ठाका लागि ठूलो प्रेरणा लिनु पर्दछ । दक्षिण एसियामा मात्र नभएर विश्वमा नै शदियौंदेखि आफ्नो अविच्छिन्न अस्तित्व कायम राख्न नेपालले अभूतपूर्व स्तरको संघर्ष गरेको कुरा सर्वविदितै छ । आधुनिक नेपालको निर्माणकै क्रममा सुगौली सन्धीसम्म आइपुग्दा हाम्रा पूर्वजहरूले बलिदानीपूर्ण लामो युद्ध लड्नु प¥यो । अस्थिर रहिरहने भौगोलिक सिमानालाई स्थिर तुल्याउन लडिएको त्यस महा–समरमा हिमाल, तराई र पहाडका हरेक नेपाली समुदाय, परिवार र वस्तीहरूको बलिदान छ । त्यसैकारण भनिएको हो– यो सानो दुःख, त्याग वा बलिदानले निर्माण भएको मुलुक होइन ।
इतिहासका गम्भीर मोडहरूमा हाम्रा वीर पुर्खाहरूले लिएका निर्णय र प्रस्तुत गरेको त्यागबाट आजका चुनौतिहरूको सामना गर्न सक्ने मार्गदर्शन प्राप्त गर्न सकिन्छ । त्यस आधारमा आज हामीले प्रस्तुत गर्ने सुझबुझ, परिपक्वता र बुद्धिमत्ताले मात्र हामीलाई एउटा सफल र सबल राष्ट्रका रूपमा सधैैैँ स्थापित बनाइराख्न मद्दत पु¥याउँछ । इतिहासले हामीलाई लामो यात्राको खास सन्दर्भमा प्रकाश दिन सक्दछ । तर, यात्राका निम्ति आवश्यक पर्ने बाटो र क्षमता हामीले वर्तमानमा स्वयं निर्माण गर्न सक्नुपर्दछ, छनोट गर्न सक्नुपर्दछ ।
दुई देश बिचका सिमानाको सबैले सम्मान गर्नु पर्दछ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भू—भाग हुन् । हाम्रो देशको नक्सामा संसदले कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समाविष्ट गरेर त्यसलाई संविधानको अङ्ग बनाएपछि हाम्रो मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा ऐतिहासिक रूपमै नयाँ चेतनाको सञ्चार भएको छ । म जुन सालमा जन्मिएँ सोही साल विक्रम संवत् २०१८ मा वरिष्ठ पत्रकार भैरब रिसाल उक्त स्थानहरूको जनगणना गर्न जानुभएको कुरा उहाँ स्वयंले बारम्बार उल्लेख गर्दै आउनुभएको छ । उमेरले शताब्दी टेक्न लाग्नुभएका मूर्धन्य व्यक्तित्व श्री रिसालको सुस्वास्थ्यका लागि समेत म यस अवसरमा प्रार्थना गर्दछु ।
नेपाली भू–भागको यस विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा इतिहासका प्रसंगलाई हामीले फेरि एकपटक महत्वका साथ स्मरण गर्नु पर्दछ । हामीलाई थाहा छ– मुलुकहरू बीचको भौगोलिक सिमाना कतिपय अवस्थामा द्विपक्षीय कूटनीतिको विषय बन्ने गर्दछ । हामीले आज चर्चा गरिरहेको नेपाली भूगोल हामीसँगै सभ्यताले जोडिएको मित्रराष्ट्र भारतसँग समेत विभिन्न कारणले सम्बन्धित हुन पुग्यो । त्यसकारण, दुई देश बीचको भौगोलिक सिमानालाई सम्पूर्ण रूपले स्पष्ट राख्न दुबै देशका तर्फबाट बलियो पहल आवश्यक पर्दछ । यस्तो कार्यले हाम्रा दुई देशबीच सदियाँैदेखि रहँदै आएको जनस्तर, साँस्कृतिक र कुटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन महत्वपूर्ण योगदान पु¥याउने मैले विश्वास लिएको छु ।
नदीहरूलाई अन्तर्राष्ट्रिय सिमानाका रूपमा मानव जातिले नै प्रयोगमा ल्याएको भएतापनि मानव सभ्यताको विकासमा नदी प्रणालीको बहुआयामिकता सर्वकालीन छ । मानव जीवनको महत्वपूर्ण आधार हुनुका साथै हाम्रो धार्मिक तथा सामाजिक आस्थाको प्रतीकका रूपमा रहेका नदी प्रणालीहरू आज जलवायु परिवर्तन एवं वातावरण विनाशका कारणले प्रदुषित र कमजोर बनिरहेका छन् ।
हाम्रो मुलुकको सन्दर्भमा नदी प्रणाली आर्थिक विकासमा फड्को मार्ने महत्वपूर्ण साधनको रूपमा रहेको छ । हाम्रो नदी प्रणालीबाट दिगो रूपमा विद्युत उत्पादन, आधुनिक कृषि प्रणालीको प्रवद्र्धन तथा पर्यटनको विकास गरी मुलुकलाई आर्थिक रूपले सम्पन्न तुल्याउन सकिने अवस्था रहेको छ । त्यति मात्र होइन, यस क्षेत्रकै मुलुकहरू पनि यसबाट लाभान्वित हुन सक्दछन् । त्यसैले, अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्रिय कानुन एवं नीतिहरूले नदी प्रणालीको संरक्षण तथा सम्बद्र्धनका सन्दर्भमा प्रस्तुत गरेका प्रावधानहरूको पालना गरी मानव समुदायको हितमा अग्रसर हुन सम्बद्ध सबैमा आव्हान गर्दछु ।
वर्तमान समयमा नेपाल र भारत आफ्ना नागरिकको सुखद् भविष्य निर्माण गर्न आ–आफ्नै तरिकाबाट पहल गरिरहेका छन् । आधुनिक राज्य बन्नुअघिदेखि नै जनस्तरको घनिष्ठ सम्बन्धले जोडिएका हाम्रा दुई देश बिच प्रशस्त सहकार्य भएको छ र त्यसबाट हाम्रो बहुआयामिक द्विपक्षीय सम्बन्धमा साझापनको जग निर्माण भएको छ । त्यसै जगलाई थप बलियो बनाउँदै आपसी सम्बन्धमा विश्वासको नवीन आयाम थप्न दुबै पक्ष प्रयत्नशील रहनु पर्दछ । जब सम्बन्धमा विश्वास जागृत हुन्छ, तब चुनौतिको सामना गर्ने नयाँ सूत्रहरू फेला पार्न सकिन्छ र समस्याहरू क्रमशः हल हुँदै जान्छन् ।
हाम्रा राजनीतिक दल र राजनेताहरूले मित्रराष्ट्रहरूसँगको सम्बन्धको संवेदनशीलतालाई पर्याप्त रूपले आत्मसात गर्नु पर्दछ । नेपालका संवेदनशीलतालाई मित्रराष्ट्रहरूले ख्याल गरिदिनुपर्छ भन्ने हामी स्पष्ट दृष्टिकोण राख्दछौँ । कूटनीति र राजनीति बीचको सीमारेखा छुट्याउन नसकिएको खण्डमा आपसी विश्वास निर्माण गर्न नसकिने मात्र होइन, निर्मित भैसकेको विश्वास समेत संकटमा पर्न जान्छ ।
हाम्रो संविधानले राज्यका नीति र निर्देशक सिद्धान्तहरू तय गरेको छ, सन्धि–सम्झौताहरूमा नेपालले लिनुपर्ने दृष्टिकोण परिभाषित गरेको छ । लोकतन्त्र र मानव अधिकारप्रति हाम्रो अटल विश्वासलाई संविधानले अभिलिखित गरेको छ । यिनै आधारमा हाम्रा परराष्ट्र नीति तथा राष्ट्रिय सुरक्षाका नीतिहरू निर्माण भएका छन् । अहिले तिनै विषयहरूको एकीकृत स्वरूप नै हाम्रो न्युनतम राष्ट्रिय स्वार्थ हो । यस विषयलाई राजनीतिक तथा कुटनीतिक नेतृत्वले गहिरोसँग आत्मसात गर्नु पर्दछ ।
अन्तमा, आज सार्वजनिक भएको पुस्तकका लेखकद्वयलाई पुनः हार्दिक बधाई दिन चाहन्छु । कार्यक्रममा उपस्थित सबैमा हार्दिक धन्यवाद सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।
२०८० वैशाख ३० गते ।