ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, पुरानो नैकाप,  काठमाडौँ, नेपाल ।

 

श्रद्धेय ब्रह्माकुमारी राज दादीमाँज्यू,

माननीय श्री युवराज ज्ञवाली,

माननीय श्री कृष्णगोपाल श्रेष्ठ,

माननीय श्री केसब पोखरेल,

चन्द्रागिरि नगरपालिकाका प्रमुख श्री घनश्याम गिरि,

सञ्चारकर्मी मित्रहरू,

उपस्थित दिदिबहिनी तथा दाज्यूभाइहरू,

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, काठमाडौँद्वारा आयोजित ‘शिव अनुभूति भवनको समुद्‍घाटन समारोह’मा सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा श्रद्धेय राजदादीमाँ तथा ब्रह्माकुमारीज नेपाल परिवारलाई धन्यवाद दिन चाहन्छु ।

आजको यस कार्यक्रममा उपस्थित भइरहँदा करिब ७ वर्ष पहिला नेपालमा ब्रह्माकुमारीज संस्थाको सेवा आरम्भ भएको स्वर्ण जयन्ती समारोहमा तत्कालीन राष्ट्रपतिको हैसियतमा सहभागी हुँदाको क्षणको सम्झना भइरहेको छ । यस अवसरमा म, श्रद्धेय राजदादीमा तथा ब्रह्माकुमारीज परिवारबाट प्राप्त सद्भाव र स्नेहको लागि समेत कृतज्ञता व्यक्त गर्दछु ।

ब्रह्माकुमारीज संस्थाले विश्वमा शान्ति, सुव्यवस्था, सद्भाव, स्नेह कायम गर्दै मानव मात्रमा आध्यात्मिक जागरण ल्याउने कार्यमा विगत नौ दशकदेखि गर्दै आएको सत्प्रयासलाई नियाल्ने, अनुभव गर्ने र केही हदसम्म यस अभियानमा आँफूले पनि सहभागिता जनाउन प्रयत्न गरिरहेको एक जिज्ञासुका रूपमा मैले गर्व महसुस गरेको छु ।

नेपालमा विगत करीब छ दशकदेखि यस आध्यात्मिक ज्ञानको मशाल लिएर मानव सेवामा आफ्नो जीवन समर्पित गर्नुभएकी राज दादीमाँलाई धेरै नेपालीहरूले आफ्नो आध्यात्मिक प्रेरणा स्रोतका रूपमा लिएको मैले पाएको छु । उहाँको छत्रछायाँमा सञ्चालित ब्रह्माकुमारीज नेपालद्वारा काठमाडौँ क्षेत्र नं. ९ को पुरानो नैकापको यस  मनोरम स्थलमा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको सुन्दर ‘शिव अनुभूति भवन’को समुद्‍घाटन गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । यस अवसरमा, यस शिव अनुभूति भवन निर्माणका लागि आफ्नो तन, मन, धन, समय र सङ्कल्प लगाउनुहुने सम्पूर्ण महानुभावहरूमा सम्मान व्यक्त गर्न चाहन्छु ।

यस उपसेवा केन्द्रमा सञ्चालित राजयोग साधनाद्वारा आफ्नो जीवनलाई धन्य बनाइरहनुभएका मातापिता,  दिदीबहिनी तथा दाजुभाइहरूको स्वपरिवर्तनबाट विश्व परिवर्तन गर्ने शुभ अभियानले गति प्राप्त गरोस्  र समाजमा नैतिकता, इमान्दारिता तथा आपसी सहयोगको भावना अझ जागृत गर्न सफलता मिलोस् भन्ने कामना गर्दछु ।

वर्तमान परिवेशमा विविध कारणले मानिसहरूमा बढ्दो मानसिक तनाव र अशान्तिबाट उन्मुक्ति प्राप्त गर्न ब्रह्माकुमारीजद्वारा प्रवर्द्धित राजयोग साधनालाई एक सशक्त सूत्रका रूपमा लिन सकिन्छ । तसर्थ, राजयोगको अभ्यास समाजका हरेक व्यक्तिका लागि उपयोगी हुने मैले ठानेको छु ।

ब्रह्माकुमारीज संस्थाले आफ्ना विविध क्रियालापहरूको माध्यमद्वारा नेपालसहित विश्वका विभिन्न मुलुकहरूमा मानिसको नैतिक, चारित्रिक, आध्यात्मिक, सामाजिक, शैक्षिक, व्यवसायिक आदि विधाको उन्नयन, शुद्धीकरण एवम् सशक्तीकरणका लागि गरिरहेका पहलहरू प्रशंसनीय छन् ।

आज समाजमा भ्रष्टाचार, दुराचार, हत्या, हिंसा, बलात्कार जस्ता अमानवीय र मानव सभ्यतालाई नै कलङ्कित गर्ने कार्यको बिगबिगी भइरहेको सन्दर्भमा, समाजमा उच्च नैतिकता र उच्च मनोबलयुक्त विवेकको प्रयोग गर्ने विधि र प्रक्रियामा समर्पित एक विशाल समुदायको रूपमा समाजमा आफूलाई स्थापित गर्न सफल ब्रह्माकुमारीज अभियानले समाज सेवाको एक उत्कृष्ट उदाहरण विश्वसामु प्रस्तुत गरिरहेको छ । यस अभियानको थप प्रभावकारिताको लागि म शुभकामना दिन चाहन्छु ।

महिला सशक्तीकरणका लागि विश्वमा विविध प्रयास भइरहेको सन्दर्भमा, ब्रह्माकुमारीज संस्थाले  महिलाहरूकै नेतृत्वमा यति विशाल अभियान सञ्चालन र व्यवस्थापन गरिरहेको देख्दा हामी महिला सशक्तीकरणका अभियन्ताहरूलाई खुसी लाग्नु स्वभाविक ठान्दछु । नेपालमा पनि ब्रह्माकुमारीज संस्थाले शालीन रूपमा सञ्चालन गरिरहेको यस अभियान हामी सबैको लागि प्रेरणाको स्रोत बन्न सक्दछ । 

समाजसेवामा राजनीतिकर्मी, समाजसेवी, समाजका विभिन्न क्षेत्रका सरोकारवालाहरू बीच आपसी विश्वास र सद्‍भावसहित समाज रूपान्तरणको कार्य गर्नुपर्ने हुन्छ । तर आपसी खिचातानी, अस्वस्थ प्रतिस्पर्धा, व्यक्तिगत तथा समूहगत स्वार्थ जस्ता दुष्प्रवृत्तिहरू हावी भइरहेको सन्दर्भमा, हामीले सकारात्मक परिवर्तनको मार्गमा अगाडि बढ्नु आवश्यक छ । यस सन्दर्भमा, ब्रह्माकुमारीज संस्थाद्वारा नेपालका हिमाल, पहाड र तराइका कुना र दुर्गम स्थानमा समेत विस्तार भएका सेवा केन्द्रहरूमा सञ्चालित राजयोगको साधनाद्वारा नेपाली समाजमा सकारात्मक रूपान्तरणको प्रक्रिया आरम्भ गर्न र विस्तार गर्न थप सफलता मिलोस् भनी कामना गर्दछु ।

अन्त्यमा, मलाई आमन्त्रण गरेर ‘स्वपरिवर्तनबाट विश्वमा परिवर्तन गर्ने’ महान् अभियानका नायक नायिकाहरूको बिचमा रहेर सकारात्मक एवं श्रेष्ठ विषयमा चिन्तन गर्ने, श्रवण गर्ने तथा त्यसबाट लाभान्वित हुने अवसर जुटाइदिनुभएकोमा आयोजक संस्थाप्रति पुनः धन्यवाद व्यक्त गर्दछु ।  साथै, आज सम्मानित हुनुभएका महानुभावहरूलाई म हार्दिक बधाई दिन चाहन्छु र उहाँहरूको दीर्घ जीवन एवं सुस्वास्थ्यको कामना गर्दछु ।  

धन्यवाद ।

२०८० फागुन १९ शनिबार