सम्माननीय पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा गर्नुभएको सम्बोधन

राष्ट्रिय सभागृह
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय श्री केपी शर्मा ओलीज्यू
फाउण्डेशनका अध्यक्ष श्री महेन्द्रबहादुर पाण्डेज्यू तथा आयोजक संस्थाका पदाधिकारी र सदस्यहरू,
नेकपा (एमाले)का उपस्थित नेता गण, संघीय संसद, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिहरू,
उपस्थित प्राज्ञिक व्यक्तित्वहरू,
मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारद्वारा सम्मानित व्यक्तित्वहरू,
पुरस्कार छनौट समितिका सदस्यहरू,
सञ्चारकर्मीहरू,
भद्र महिला तथा सज्जनवृन्द ।
जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित यस कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरेकोमा म मदन भण्डारी फाउन्डेसनलाई हार्दिकधन्यवाद दिन चाहन्छु । यस अवसरमा जननेताप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।
आफ्नो छोटो जीवनकालमा जननेता मदन भण्डारीले नेपाल राष्ट्र र नेपाली समाजका लागि गर्नुभएका योगदानहरू उच्च र अविस्मरणीय छन् । लोकतन्त्र स्थापना र सुदृढीकरणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएका जननेता भण्डारी २०४६ सालको सफल जनआन्दोलनको एक सूत्राधार हुनुहुन्थ्यो । आन्दोलनको सफलतापश्चात जनताको अधिकतम हितका निम्ति रूपान्तरणकारी संविधानको निर्माण, कार्यान्वयन र बलियो नेपाली राष्ट्रियताको पक्षमा उहाँले खेल्नुभएको भूमिकाले हामीलाई सदैव मार्गदर्शन गरिरहेका छन् ।
मूलत: राजनीतिज्ञका रूपमा रहनुभएका जननेता मदन भण्डारीको व्यक्तित्वका अनेकौं आयाम छन् । उहाँ समयको पदचापलाई स्पष्ट रूपमा बुझ्नसक्ने नवीन विचारक हुनुहुन्थ्यो । त्यसैले राजनीतिक अभ्यासका क्रममा विचारको समेत निरन्तर परिष्कार गर्न उहाँको विशेष भूमिका रहेको हामीले देख्न सक्छौं । निरङ्कुशता विरुद्ध भएका संघर्षमा नेतृत्व गर्दै राजनीतिक व्यवहार र सिद्धान्तका बीचमा उहाँले एकरूपता स्थापित गर्न सफल हुनुभयो भन्ने मलाई लाग्दछ । नेपालको लोकतान्त्रिक आन्दोलनकामौलिक अभ्यास र अनुभव समेतका आधारमा उहाँले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभयो ।
त्यसैगरी उहाँ राष्ट्रियता, मानवअधिकार र जनजीविकाका प्रवल पक्षधरएवं सिद्धान्तनिष्ठ राजनीतिज्ञ हुनुहुन्थ्यो । यसका अतिरिक्त कला , साहित्य र समालोचकका रूपमा समेत उहाँका विचारको विस्तार देख्न सकिन्छ । आफ्नो व्यक्तित्वका यिनै बहु-आयामले मदन भण्डारीलाई नेपाली राजनीतिको अद्वितीय चिन्तकका रूपमा ग्रहण गरेको छ ।
जननेता मदन भण्डारीको जन्म भएको ७२औँ वर्ष पुगेको र रहस्यमय जीप दुर्घटनामा परी उहाँको निधन भएपछि आजसम्म रिक्ततापूर्ण ३० वर्ष बितिसकेको छ । यस अवधिमा हामीले उहाँका विचार, चिन्तनधारा र मुलुकप्रतिको योगदानबारे चर्चा गर्दै उहाँले तय गर्नुभएको बाटोमा निष्ठापूर्वक रहने प्रण गर्दै आएका छौँ । आजको दिन त्यस संकल्पलाई अझ बलियो गरी अभिव्यक्त गर्ने अवसर पनि हो भन्ने मलाई लाग्दछ ।
मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीका योगदान र विचारबारे अध्ययन-अनुसन्धान गर्दै तिनको व्याख्या, विश्लेषण र विकास गर्न विशिष्ट भूमिका खेल्दै आएको छ । सामाजिक रूपान्तरण, लोकतन्त्र र राष्ट्रियताका लागि जननेताले खेल्नुभएको भूमिकालाई चिरस्थायी बनाउन, उहाँको काम र अनुभवबाट भावी पुस्तालाई प्रेरित गर्न तथा समाजकोसकारात्मक रूपान्तरणमा ठोस योगदान गर्न फाउन्डेशनले विगतमा झैँ ७२औँ मदन जयन्तीको सन्दर्भमा समेत विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरेकोमा म खुसी व्यक्त गर्दछु । फाउन्डेशनलाई यसका लागि म बधाई दिन चाहन्छु र अभियानमा सफलताको कामना गर्दछु ।
यसै सन्दर्भमा, फाउन्डेशनले आफ्नै अक्षय कोष खडा गरी त्यसैको स्रोतबाट हरेक वर्ष दुईवटा महत्वपूर्ण राष्ट्रिय पुरस्कारहरू प्रदान गर्दै आएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका साथै वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई …मदन भण्डारी राष्ट्रिय पुरस्कार’ र अनुसन्धान तथा नवप्रवर्तनका साथै समाज रूपान्तरण र विकासमा नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति वा संस्थालाई ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार’ प्रदान गर्दै आएकोमा म त्यसको सराहना गर्दछु । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने व्यक्तित्व डा.श्री.मिङमार गेल्जेन शेर्पा तथा मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने श्री निरु कुमारी मगरलाई हार्दिक बधाई दिन चाहन्छु । जननेताको नामबाट स्थापना भएको उच्च सम्मानका लागि योग्य व्यक्तित्वहरूको चयन भएकोमा प्रसन्नता व्यक्त गर्दै पुरस्कार छनौट समितिका सदस्यहरूलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
उपस्थित दाजुभाई तथा दिदिबहिनीहरू
आजको यस कार्यक्रमको सन्दर्भ अत्यन्तै महत्वपूर्ण छ । जनताको बहुदलीय जनवादलाई कसरी बुझ्ने भन्ने सन्दर्भमा, यसका दार्शनिक मान्यताहरूका बारेमा तथा विशेषताहरूमाथि धेरै लामो चर्चा र छलफल गर्न सकिन्छ । म केही विषय तपाईंहरूको बीचमा राख्न चाहन्छु ।
पहिलो विषय - जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ नेपाली समाजको विशिष्टतामा आधारित मौलिक राजनीतिक सिद्धान्त हो । नेपालको माटोमा जन्मेको, नेपाली जनताको काखमा हुर्केको र यहीँ विकास तथा परिष्कार भएको विचारका रूपमा हामीले जनताको बहुदलीय जनवादलाई लिनुपर्दछ । तसर्थ, यसविचारलाई अझ उन्नत र बलियो बनाउन जबजका बाहकहरू जनताकै बीचमा निरन्तर रहनुपर्दछ । जनतासँग एकाकार नभएको संगठनले जनताको विचार बोक्न सक्दैन । विचारले मात्रै संसार परिवर्तन गर्न सक्दछ र त्यो विचार नेपाली सन्दर्भमा जनताको बहुदलीय जनवाद हो । त्यसैले हामीले भन्दै आएका छौं- जनताको बहुदलीय जनवाद कुनै एउटा राजनीतिक दलको मात्र विचार होइन, नेपाली माटोको सुवास आउने मौलिक सिद्धान्त हो ।
जनताको बहुदलीय जनवादले सुरुवातमा नेपाली जनवादी क्रान्तिको कार्यक्रमका रूपमा र त्यसपछि क्रान्तिको मार्गदर्शक सिद्धान्तको रूपमा हाम्रो लोकतान्त्रिक आन्दोलनको मूल प्रवाहलाई दिशानिर्देश गरिरहेको छ । यसबाट जनताको बहुदलीय जनवाद नेपाली सन्दर्भमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचार हो भन्ने तथ्य सम्पूर्ण रूपले स्थापित भएको छ ।
मैले राख्न चाहेको दोस्रो विषय- जनताको बहुदलीय जनवाद र लोकतन्त्र बीचको अन्तरसम्बन्धका बारेमा छ । इतिहासमा हामी के देख्छौं भने,दोस्रो विश्वयुद्धपछि विश्वका धेरै मुलुकहरूमा स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै कम्युनिस्ट आन्दोलनको सुरुवात भएको पाइन्छ । यसको तुलनामा नेपाली कम्युनिष्ट आन्दोलनको प्रारम्भ केही फरक ढङ्गले हुन पुग्यो । आन्तरिक रूपमा निरङ्कुश शासनद्वारा लादिएका सबै प्रकारका शोषण र दमनबाट जनताको मुक्ति तथा बाह्य रूपमा नेपाली राष्ट्रियतामाथि आइ पर्नसक्ने खतराको सामना गर्न देशभक्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको नेताका रूपमा नेपालको कम्युनिष्ट आन्दोलन विकास भएको हामी देख्न सक्छौं । विचारमा यस प्रकारको प्रस्टतालाई आत्मसात गरेकै कारणले नेपाली क्रान्तिको सिद्धान्तको रूपमा रहेको जनताको बहुदलीय जनवादले लोकतन्त्र र त्यसका आधारभूत मान्यताप्रति बलियो प्रतिबद्धता जाहेर गर्दै त्यसको विकासमा पनि ठोस योगदान गरेको छ ।
जनताको बहुदलीय जनवादका विशेषताहरू मध्ये राजनीतिक दलहरू बिचको प्रतिस्पर्धामा आधारित राजनीतिक प्रणाली एक महत्वपूर्ण विशेषता हो । वर्गीय विविधता भएको समाजमा विभिन्न वर्गलाई प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरूको बिचमा संगठित विचार, कार्यक्रम र नीतिहरूको आधारमा प्रतिस्पर्धा गरेर जनअनुमोदन प्राप्त गरी शासनमा पुग्ने प्रणालीको जबजले वकालत गर्दछ । तसर्थ जबजले जनतासँग निरन्तर रूपमा जोडिएको, जनताको सुख दु:खमा सदा साथमा रहेर उनीहरूको सेवामा समर्पित हुने राजनीतिक पार्टीले मात्र जनताबाट शासनमा रहन अनुमोदन प्राप्त गर्न सक्दछन् । जबजलाई मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गर्ने राजनीतिक दल र त्यसका कार्यकर्ताहरूले यसको सारलाई दह्रोगरी समातेर जनताको सेवा गर्ने काममा अग्रसर हुनु पर्दछ ।
तेस्रो तथा आजका लागि अन्तिम विषयका रूपमा म के स्पष्ट गर्न चाहान्छु भने, समाज रूपान्तरणको हाम्रो अभिभारा पूरा भैसकेको छैन । यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ । जनताको जीवनमा सम्पूर्ण रूपले परिवर्तन ल्याउने ‘समृद्ध नेपाल सुखी नेपाली’को जुन परिकल्पना जनताको बहुदलीय जनवादले गर्दछ, त्यो दायित्व पूरा भएको छैन । राजनीतिक रूपमा केहीसंरचनात्मक परिवर्तनहरू भएका छन् । तर नेपाली क्रान्ति सम्पन्न भएको छैन । केवल सुरुवात मात्र भएको छ र यसैमा पर्याप्त सुधार, परिवर्तन तथा रूपान्तरणका सम्भावनाहरू बाँकी नै छन् । हामीले जनताको बिचमा गएरनै ती सम्भावनाको खोजी गर्दै जानुपर्दछ ।
जननेता मदन भण्डारीको विचार छ- राजनीतिले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्दछ । वास्तवमा गौतम बुद्धदेखि मार्क्स सम्मका हरेकजसो विचारकहरूले मानव जीवनमा सुख र शान्तिको बहालीलाई नै आफ्नो खोजको विषय र लक्ष्य बनाएको हामी पाउँछौं ।त्यसैले हामीले अभ्यास गर्ने राजनीतिमा पनि समाजको आर्थिक, सामाजिक व्यवस्थाको सकारात्मक रूपान्तरण मूल लक्ष्य हुनुपर्दछ । मदन भण्डारीले भन्नुभएको छ – “हाम्रा भगवान् भनेका त जीवित महान् जनता हुन् ।”
अन्तमा, मदन भण्डारी फाउन्डेशनलाई जननेताको ७२ औँ जन्मजयन्तीको अवसरमा देशव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
नेकपा (एमाले) का जनसंगठनहरु र खास गरि अनेरास्वियुको विशेष पहलमा सप्ताहव्यापी रचनात्मक कार्यक्रमहरूको आयोजना गरेको जानकारीले म हर्षित छु । देशभक्तिपूर्ण भावनालेप्रेरित आदर्श पुस्ता निर्माणगर्ने यहाँहरुको प्रयास निरन्तर रहने छ ।
आज मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने व्यक्तित्वहरूलाई पुन: बधाई दिदै उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।
मिति: २०८० असार १४ गते, बिहीबार