लेखक कुञ्ज, नयाँ बानेश्वर, काठमाडौँ ।

 

पूर्व प्रधानमन्त्री तथा बरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दज्यू,

उपस्थित महानुभावहरू,

सञ्चारकर्मीहरू ।

पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’को विमोचन समारोहमा उपस्थित भएर यहाँहरूसँग सात्क्षात्कार गर्ने अवसर पाएकोमा मलाई अत्यन्त खुसी लागेको छ ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई धेरै नेपालीले एक सम्मानित राजनीतिज्ञको रूपमा जान्दछन् । तर, नेपाली साहित्यका पाठकहरूले भने उहाँलाई बहुविधामा कलम चलाउने लेखक एवं साहित्यकारको रूपमा पनि उत्तिकै सम्मान गर्दछन् । राजनीति र साहित्य दुवै क्षेत्रमा समानान्तर रूपमा क्रियाशील भएर समाजमा विशिष्ट योगदान गर्ने अग्रणी नेपाली राजनीतिज्ञ एवं साहित्यकारहरूमा लोकेन्द्रबहादुर चन्द पनि पर्नु हुन्छ ।

उहाँका कृतिहरू हामीमध्ये जसजसले पढ्ने अवसर पाएका छौँ, हामी ढुक्कका साथ भन्न सक्दछौँ कि, उहाँ एक उच्चकोटीको लेखक एवं साहित्यकार हुनुहुन्छ । ‘विसर्जन’ नामक कथा संग्रहका लागि मदन पुरस्कारबाट समेत सम्मानित भइसक्नु भएका लेखक चन्दको साहित्य सिर्जनाप्रतिको समर्पण सम्मानयोग्य छ ।

उहाँका कृतिहरूमा नेपाली समाज, खासगरी सुदुरपश्चिमको सामाजिक परिवेशलाई अत्यन्त मिहिन र सुक्ष्म रूपमा चित्रण गरिएको हामी पाउँदछौँ । उहाँको लेखनीले नेपालभित्रैको फरक भौगोलिक, भाषिक र सामाजिक परिवेशका बिचमा सेतुको काम गरिरहेको समेत मैले पाएको छु । यसबाट हाम्रो राष्ट्रिय भावनालाई एकीकृत र सुदृढ गर्नमा समेत मद्दत पुग्ने मैले विश्वास लिएको छु ।

लोकेन्द्रबहादुर चन्द एक शालिन राजनीतिक व्यक्तित्वका रूपमा समेत सुपरिचित हुनुहुन्छ । उहाँले विगत लामो समयदेखि निभाउँदै आउनुभएको राजनीतिक भूमिकाको आधारमा उहाँलाई एक ईमान्दार, सिद्धान्तनिष्ठ एवं सरल राजनीतिज्ञको रूपमा हामी सम्मान गर्दछौँ ।

संयोग नै भन्नुपर्दछ, कुनै समयमा उहाँको क्याबिनेटमा काम गर्ने मौका समेत मलाई प्राप्त भएको थियोमैले उसै बेलादेखि चिनेका लोकेन्द्रबहादुर चन्दको सरलता र सादापनबाट आजको पुस्ताका राजनीतिक व्यक्तित्वहरूले धेरै कुरा सिक्न सक्नुहुन्छ भन्ने मलाई आज पनि लाग्दछ ।

८० वर्ष नाघेको उमेरको यस कालखण्डमा समेत श्री चन्दले साहित्य सृजनालाई निरन्तरता दिनु र अपराजिता जस्तो उत्कृष्ट कृति लेख्न सक्नु हामी धेरैलाई विस्मित पार्ने कुरा समेत हो । यस उपन्यासले नेपाली साहित्यको भण्डारलाई थप समृद्ध बनाउन मद्दत पुर्‍याएको छ । उहाँको यस्तो सक्रियता र लगनशीलताबाट अरु साहित्यकारहरुले समेत प्रेरणा लिनु पर्दछ ।

प्रस्तुत पुस्तकमा लेखकले सुदुरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नु परेको दु:ख र पीडाका कथाहरूको मार्मिक चित्रण गर्नु भएको छ । उपन्यासका पात्रहरूको माध्यमबाट लेखकले क्रान्तिको नाममा गरिने निर्दोष मानिसको हत्या र हिंसाको विपक्षमा अनि शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाटै दिगो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई सशक्त रूपमा प्रस्तुत गर्नुभएको मैले पाएको छु । यस कृतिका निम्ति म उहाँलाई हार्दिक बधाई दिन चाहन्छु ।

लोकेन्द्रबहादुर चन्द नेपाली राजनीति र साहित्यको क्षेत्रमा अब अभिभावक बनिसक्नु भएको छ ।  लामो राजनीतिक यात्रा र साहित्य लेखनको अनुभव सँगाल्नु भएका चन्दबाट नेपाली राजनीतिक नेतृत्व र साहित्यिक व्यक्तिहरूले सिक्नुपर्ने धेरै कुरा छन् । खासगरी, राज्य सञ्चालनका विषयमा, राष्ट्रियताका सन्दर्भमा र कूटनीतिक क्षेत्रमा लामो समयसम्म उहाँले सँगाल्नुभएका अनुभवहरू हाम्रा लागि मार्गदर्शक बन्न सक्दछन् । त्यसबाट हामी सबै लाभान्वित हुन सक्दछौं ।

अन्तमा, श्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित आज विमोचित कृति अपराजिताको प्रकाशन सफलताको कामना गर्दछु । साथै, कृतिकार लोकेन्द्रबहादुर चन्दको सुस्वास्थ्य एवं दीर्घ जीवनको हार्दिक शुभकामना समेत व्यक्त गर्दछु ।

धन्यवाद ।

२०८० असोज २६ गते, शुक्रबार ।