हेटौडा, मकवानपुर ।

कार्यक्रमका सभाध्यक्ष,

मदन भण्डारी फाउन्डेशन, मकवानपुरका अध्यक्ष तथा पदाधिकारीहरू,

विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू,

जनप्रतिनिधिहरू,

सञ्चारकर्मीहरू,

उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।

मदन भण्डारी फाउन्डेशन, मकवानपुर शाखाको चौथो साधरणसभा तथा ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार’ हस्तान्तरण कार्यक्रममा उपस्थित भएर यहाँहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने अवसर प्रदान गर्नुभएकोमा म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु ।

नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व, नेपाली क्रान्तिको कार्यक्रम तथा मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’का प्रणेता जननेता मदन भण्डारीका विचार, सिद्धान्त र योगदानको अध्ययन, अनुसन्धान, विश्लेषण र प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०६१ मा मदन भण्डारी फाउन्डेशनको स्थापना भएको हो ।

जननेता मदन भण्डारीले सामाजिक रूपान्तरण, लोकतन्त्र र राष्ट्रियताका लागि खेल्नुभएको भूमिकालाई चिरस्थायी बनाउन, उहाँको काम र अनुभवबाट भावी पुस्तालाई प्रेरित गर्न तथा समाजको सकारात्मक रूपान्तरणमा ठोस योगदान गर्न फाउन्डेशनले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । फाउन्डेशनको मकवानपुर शाखाले पनि यही उद्देश्यअनुरूप नै आफ्ना क्रियाकलापहरू  सञ्चालन गरिरहेको छ भन्ने मेरो दृढ विश्वास रहेको छ ।

जननेता मदन भण्डारीको राजनीतिक प्रभाव र लोकप्रियताको केन्द्रमा उहाँमा रहेको विचारको स्पष्टता र त्यसको व्यवहारिक कार्यान्वयन रहेको  छ । विचारलाई केवल नारामा सीमित नराखी, व्यवहारमा उतार्ने क्षमताले नै उहाँलाई नेपाली राजनीतिमा विशिष्ट बनाएको हो ।

लोकतन्त्र स्थापना र सुदृढीकरणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएका जननेता मदन भण्डारी २०४६ सालको सफल जनआन्दोलनको एक  सूत्रधार हुनुहुन्थ्यो । आन्दोलनको सफलतासँगै बहुदलीय प्रजातन्त्रको स्थापनापश्चात जनताको अधिकतम हितका निम्ति रूपान्तरणकारी संविधानको निर्माण, कार्यान्वयन र नेपाली राष्ट्रियताको पक्षमा उहाँले खेल्नुभएको भूमिकाले हामीलाई सदैव मार्गदर्शन गरिरहेका छन् ।

२०४७ को संविधानको बारेमा उहाँले प्रस्तुत प्रस्तुत गर्नुभएको आलोचनाका २७ बुँदाहरूको महत्व २०६२/६३ पछि स्थापित हुन पुग्यो । अन्ततः ती बुँदाहरू नै नेपालमा राजसंस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको आधार बन्न पुगे । फलस्वरुप, आफ्नो संविधान आफैँ बनाउने दशकौँदेखिको जनचाहाना समेत पूरा भयो ।

नेपालको लोकतान्त्रिक आन्दोलनका मौलिक अभ्यास र अनुभव समेतका आधारमा जननेता मदन भण्डारीले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभयो । जनताको बहुदलीय जनवादले नेपाली समाजको यथार्थ, इतिहास, संस्कृति, वर्ग संरचना, भूगोल र राजनीतिक चेतनालाई ध्यानमा राख्दै नेपाली सन्दर्भमा मार्क्सवादको व्याख्या गर्‍यो र कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक मार्गतर्फ उन्मुख गरायो । यसले नेपाली जनताको सक्रिय सहभागिता, बहुदलीय प्रतिस्पर्धा र खुला लोकतान्त्रिक प्रणालीलाई स्वीकार गर्दै समाजवादको दिशातर्फ जाने बाटो देखाएको छ ।

जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ नेपाली समाजको विशिष्टतामा आधारित मौलिक राजनीतिक सिद्धान्त हो । जनताको बहुदलीय जनवादले सुरुवातमा नेपाली जनवादी क्रान्तिको कार्यक्रमका रूपमा र त्यसपछि क्रान्तिको मार्गदर्शक सिद्धान्तको रूपमा नेपालको सामाजिक रूपान्तरणको आन्दोलनलाई दिशानिर्देश गरिरहेको छ ।

दोस्रो विश्वयुद्धपछि विश्वभर कम्युनिस्ट आन्दोलनहरू स्वाधीनता र देशभक्तिपूर्ण लहरसँग जोडिएर अघि बढेका थिए । तर नेपालमा कम्युनिस्ट आन्दोलन निरङ्कुश शासनको विरोध र राष्ट्रियताको रक्षा गर्ने लोकतान्त्रिक अभियानको रूपमा विकास भयो । यही ऐतिहासिक र वैचारिक विशेषताका कारण ‘जनताको बहुदलीय जनवाद’ लोकतन्त्रप्रति स्पष्ट प्रतिबद्धतासहित अघि बढेको हो ।

यसैगरी, जबजले राजनीतिक प्रतिस्पर्धामार्फत जनताको अनुमोदन प्राप्त गर्ने प्रणालीलाई मान्यता दिन्छ । यसले वर्गीय विविधतायुक्त समाजमा जनताको हितमा काम गर्ने र सधैं जनतासँग जोडिएको राजनीतिक दल मात्र शासनमा पुग्न सक्ने मान्यता राख्दछ । त्यसैले जबजलाई मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गर्ने राजनीतिक दल र त्यसका कार्यकर्ताहरूले यसको सारलाई दह्रोगरी समातेर जनताको सेवा गर्ने काममा अग्रसर हुनु पर्दछ । पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने भन्ने जबजको मान्यता रहेकोले त्यो पहलकदमी र प्रतिस्पर्धा जनताको सेवाका लागि हुनु पर्दछ ।  

हामी राजनीतिक प्रणाली र संविधान बदल्न सफल भएका छौँ । तर हामीले जनताको जीवनमा सकारात्मक परिवर्तनको आभास हुने गरी सामाजिक–आर्थिक रूपान्तरणको कार्यभार पूरा गर्न अझै बाँकी रहेको छ ।  त्यसैले, राजनीतिले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्दछ भन्ने जननेता मदन भण्डारीको विचारलाई पछ्याउँदै हामीले समाजको आर्थिक, सामाजिक व्यवस्थाको सकारात्मक रूपान्तरणलाई मूल लक्ष्य बनाएर अघि बढ्नु पर्दछ ।

अन्तमा, म मदन भण्डारी फाउन्डेशन, मकवानपुरको चौथो साधारण सभाको पूर्ण सफलताको कामना गर्दछु । साथै, आज श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कारद्वारा पुरस्कृत हुनुहुने व्यक्तित्वलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु ।

धन्यवाद ।

मिति: २०८२ वैशाख २० गते, शनिबार ।