सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले मधुस्थली प्रतिष्ठानद्वारा आयोजित वरिष्ठ वामपन्थी चिन्तक एवं राजनीतिज्ञ श्री गोविन्दराज ज्ञवालीको अभिनन्दन समारोहमा गर्नुभएको सम्बोधन

नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ ।
कार्यक्रमका सभाध्यक्ष,
आज अभिन्दित व्यक्तित्व आदरणीय श्री गोविन्दराज ज्ञवालीज्यू,
पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईज्यू,
प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईज्यू,
नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक श्री बलदेव मजगैंयाज्यू,
जनता समाजवादी पार्टीका अध्यक्ष माननीय उपेन्द्र यादवज्यू,
माननीय सूर्य थापाज्यू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।
वरिष्ठ वामपन्थी चिन्तक एवं राजनीतिज्ञ गोविन्दराज ज्ञवालीको अभिनन्दन तथा उहाँमा समर्पित अभिनन्दन ग्रन्थ लोकार्पण गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा वाम खेमाबाट सन्तुलित विचार प्रवाह गर्नु हुने गोविन्दराज ज्ञवाली हामी सबैका लागि आदरणीय व्यक्तित्व हुनुहुन्छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवम् नेपालमा संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलालको अत्यन्त निकट रहेर काम गर्नु भएका गोविन्दराज ज्ञवाली आधुनिक नेपालको सामाजिक राजनीतिक उतार चढावलाई ऐतिहासिक विश्लेषण सहित नियाल्न सक्ने थोरै व्यक्तित्वहरू मध्येका एक हुनुहुन्छ ।
आदरणीय गोविन्द ज्ञवालीले वामपन्थी एकताका लागि मात्र होइन, वाम शक्ति र प्रजातान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याउन खेल्नु भएको भूमिकालाई इतिहासले उच्च मूल्याङ्कन गर्ने नै छ । टुटफुटले आक्रन्त नेपालको कम्युनिष्ट आन्दोलनमा तत्कालीन नेकपा (साहना समूह) र मनमोहन समूहलाई २०४२ सालमा एक गराएर नेकपा (मार्क्सवादी) निर्माण गर्न, २०४६ सालको संयुक्त जनआन्दोलन अगाडि सहाना प्रधानको नेतृत्वमा वाममोर्चा गठनको काम सम्भव तुल्याउन र जनआन्दोलन सफल भएको लगत्तै पछि तत्कालिन नेकपा (मार्क्सवादी) र नेकपा (माले) लाई मिलाएर नेकपा (एमाले) को निर्माण गर्न गोविन्द ज्ञवालीको अहं भूमिका रहेको कुरा सर्वविदित छ । यसका साथै, २०४६ को जनआन्दोलनको तयारीका क्रममा नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंह लगायतका नेताहरूसँगको उहाँको निकट सम्बन्धले बाम खेमा र प्रजातान्त्रिक शक्ति बिच हार्दिकता बढाउन अवश्य नै भूमिका खेलेको थियो ।
शान्त स्वभावका मृदुभाषी गोविन्द ज्ञवाली परिस्थितिको सूक्ष्म अध्ययन गर्न सक्ने व्यवहारवादी र त्यागी नेता हुनुहुन्छ । म नेकपा (एमाले)को नेतृत्व तहमा रहेका बेला उहाँलाई मैले एमालेको सल्लाहकार परिषद्मा रहेर कम्युनिष्ट आन्दोलनलाई वैचारिक खुराक दिइरहेको एक वैचारिक नेताका रूपमा चिनेको हुँ । उहाँका वैचारिक लेख तथा दस्तावेजहरूले कम्युनिष्ट आन्दोलनका लागि सुस्पष्ट विचार प्रवाह गर्दछन् ।
उमेरले ८० देखि उकालो लाग्नु भएका गोविन्द दाइलाई यसरी जीवन कालमै उहाँका बारेमा उहाँका समकालीन र जानकारहरूबाट सामग्री सङ्कलन गरी अभिनन्दन ग्रन्थ तयार पारिनु र उहाँलाई समर्पण गर्न पाउनु ठूलो गौरवको कुरा हो । यस अभिनन्दन ग्रन्थमा योगदान पुर्याउनु हुने माहनुभावहरूले अभिव्यक्त गर्नु भएका भावनाहरू स्वभाविक रूपमा गोविन्द ज्ञवालीप्रति समर्पित छन् । यी सामग्रीहरूले तत्कालीन राजनीतिमा लाग्नेहरूको आत्म उत्सर्गको भावनासहित देश र जनताप्रतिको समर्पण भावलाई समेत दस्तावेजीकरण गरेजस्तो मलाई लाग्दछ ।
अन्तमा, उहाँको सुस्वास्थ्य एवं सक्रिय जीवनको कामना गर्दै उहाँप्रति पुनः म सम्मान व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८१ साल जेठ २५ गते शुक्रबार ।