सम्माननीय पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित मनमोहन अधिकारीको २६ औं स्मृति सभामा गर्नुभएको सम्बोधन

मनमोहन स्मृति भवन, सानेपा, ललितपुर ।
मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष श्री ईश्वर पोखरेलज्यू,
माननीय मन्त्रीहरू,
माननीय सांसदहरू,
नेकपा (एमाले)का विभिन्न तहका नेताहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।
नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित महासचिव, नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रथम अध्यक्ष श्रद्धेय मनमोहन अधिकारीको २६औँ स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दछु । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित यस स्मृति सभामा उहाँको व्यक्तित्व र योगदानका बारेमा फेरि एक पटक चर्चा गरेर उहाँबाट प्रेरणा र शिक्षा लिने जमर्को हुनु सराहनीय कार्य हो । यस स्मृति सभाको आयोजना र व्यवस्थापनका लागि मनमोहन स्मृति प्रतिष्ठानलाई धन्यवाद दिन चाहन्छु ।
नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व मनमोहन अधिकारी नेपाली राजनीतिमा एक निष्कलंक, सरल, निष्ठावान् एवं राष्ट्रवादी नेताका रूपमा सम्पूर्ण नेपालीको हृदयमा स्थापित हुनुहुन्छ । उहाँ केवल एक राजनीतिक नेता मात्र नभई नेपाली समाजका लागि प्रेरणादायी आदर्श व्यक्तित्व पनि हुनुहुन्थ्यो ।
मनमोहन स्मृति दिवसको अवसरमा उहाँलाई सम्झनु भनेको उहाँका सद्गुणहरू—इमान्दारी, जवाफदेहीपन, सादगी र सच्चा कम्युनिष्ट मूल्यहरूलाई आत्मसात् गर्नु हो । मनमोहन अधिकारीको निष्ठा, आदर्श र जीवनशैलीलाई व्यवहारमा उतार्न सकेमा राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम राख्न ठूलो टेवा पुग्ने मेरो विश्वास रहेको छ ।
२०५१ सालमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता र समावेशीताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको थियो । नेकपा (एमाले)को उक्त ऐतिहासिक ‘नौ महिने’ कम्युनिष्ट सरकारले अघि सारेका ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, ‘ज्येष्ठ नागरिकका लागि वृद्ध भत्ता’ र ‘नौ स’ जस्ता सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमहरूले राष्ट्र निर्माणमा जनतालाई परिचालित गर्न सफल भएको थियो । साथै, सरकार सञ्चालन गर्ने अवसर मिल्दा कम्युनिस्ट पार्टीले गर्ने लोककल्याणकारी कार्यहरूको दृष्टान्त प्रस्तुत गर्न समेत यो सरकार सफल भएको थियो । मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका यी लोकप्रिय कार्यक्रमहरूको जस अझैसम्म पनि नेकपा (एमाले)ले पाइरहेको छ भन्दा अत्युक्ति हुँदैन ।
स्वर्गीय मनमोहन अधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको साक्षी बन्ने अवसर पाउनुभएन । तर, आजको परिवेशमा यदि उहाँ जीवित हुनुहुन्थ्यो भने गणतन्त्रको सुदृढीकरणसँगै समाजवादउन्मुख सामाजिक–आर्थिक प्रणालीको निर्माणमा उहाँको उल्लेखनीय योगदान हुनेथियो भन्ने कुराको पुष्टि उहाँले अतीतमा कार्यान्वयन गरेका कार्यक्रमहरूबाट नै प्रष्ट हुन्छ । त्यसैले, मनमोहन अधिकारीजस्ता प्रगतिशील सोच, सङ्कल्प र व्यवहार भएका नेताबाट प्रेरणा लिई मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका दिशामा हामी सबैले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ । यसले एकातिर कम्युनिष्ट पार्टीले जनताको विश्वास जितिरहने आधार तयार पार्नेछ भने अर्कातिर जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति गर्न सक्ने वातावरण निर्माण हुनेछ ।
मनमोहन स्मृति प्रतिष्ठानको नेतृत्व नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व उप–प्रधानमन्त्री श्री ईश्वर पोखरेलले गरिरहनु भएको छ । यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु । यस प्रतिष्ठानले मुलुकमा शिक्षाको विकास तथा सामाजिक क्रियाकलापका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रशंसनीय छ । भविष्यमा यस प्रतिष्ठानका क्रियाकलापहरू थप सघनताका साथ सम्पन्न हुनेछ भन्ने अपेक्षा लिएको छु ।
यसरी, मनमोहन अधिकारीको सिंगो जीवन नयाँ पुस्ताका लागि अनिवार्य रूपमा पढ्नै पर्ने खुल्ला किताब जस्तै छ । मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरूमा रहेको उन्नत स्तरको चेतना, त्याग र अठोटले नै आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता, अधिकार र खुल्ला वातावरण पाएका छौँ । इतिहासका धरोहर मनमोहन अधिकारी हाम्रा लागि सधैँ प्रातःस्मरणीय हुनुहुन्छ र रहिरहनुहुनेछ ।
धन्यवाद ।
२०८२ वैशाख १३, शनिबार