सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले नयाँ वर्ष २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश
नयाँ वर्ष –२०८२ को पावन अवसरमा, म स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, नयाँ वर्षको यस आगमनले बितेका दिनका कतिपय असमझदारी, तिक्तता, निराशा र अवरोधलाई समीक्षाको विषय बनाएर विस्मृत तुल्याउन तथा आफ्नो, समाज र सिङ्गो राष्ट्रकै भविष्य सुरक्षित, सुनिश्चित, सुन्दर एवं गतिशील पार्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास समेत लिएको छु ।
हामी सबैलाई ज्ञात भएकै विषय हो कि, नेपाली जनताले इतिहासमा शदियौंसम्म सामन्ती शोषण तथा उत्पीडनको पीडा व्यहोर्न बाध्य हुनुपरेको थियो । त्यसका अवशेषहरू अझै बाँकी नै छन् । विकास प्रक्रियाको गत्यावरोध तोड्न, अन्याय–अत्याचारको दुष्चक्रबाट मुक्त हुन र यस मलुकलाई विश्वकै समृद्ध एवं प्रतिष्ठित देशको कोटीमा पुर्याउने अभियान तीब्र पार्न जनताले अनेकौँ बलिदानीपूर्ण संघर्षसहित अद्वितीय योगदान गर्दै अगाडि बढिरहेको यथार्थ सबैका सामू छर्लङ्ग छ । अर्थात्, हामीहरू हाम्रा पूर्वज र अभिभावकको मुलुक समृद्ध बनाउने र जोगाउने दृढ संकल्प र वीरताबाट प्रेरणा लिएर देशप्रतिको आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सदा कटिबद्ध रहिआएका छौँ । पुर्खाले आर्जेको हाम्रो प्यारो राष्ट्रको अखण्डतामा आँच आउन नदिन, नेपाली राष्ट्रियताको प्रवर्द्धन गर्न र जनताको जीवनस्तर माथि उठाउन गरिएका अनेकौं प्रयासका क्रममा परिस्थितिले निर्धारण गरेका विभिन्न जिम्मेवारीमा रहेर हामीले भूमिका निर्वाह गरिनै रहेका छौँ । हाम्रा यी घरेलु समस्या समाधानका निम्ति हामीले जनजागरण, दबाब र सङ्घर्षको नीति मात्र अवलम्बन गरेनौं, बरु सघन संवाद, सहमति र सहकार्यको लोकतान्त्रिक एवम् सिर्जनात्मक माध्यम समेत अपनाउँदै आएका छौं । यस्ता हाम्रा असल प्रयासहरू भविष्यमा समेत कायमै रहनु पर्दछ भन्ने मलाई लागेको छ ।
देश र जनताको सामाजिक–आर्थिक उन्नतिका निम्ति हामीले समर्पण गरेको समय, मिहिनेत र प्रयासका बाबजुद सो उद्देश्य र लक्ष्य प्राप्तिमा अपेक्षित सफलता हासिल हुन नसक्नु विडम्बना नै हो । अनि यो असाध्यै दुःखको विषय समेत हो । स्वदेशमै कमाउन र रमाउन नसक्ने ठानी गहभरि आँशु पारेर अहिले लाखौं युवाहरू विदेशीन बाध्य भएका छन् । स्थिरता र सुशासनको पूर्ण प्रत्याभूति दिलाउन नसक्दा व्यवसायी तथा सेवाग्राहीहरू दुःखित र निराश बन्न पुगेका छन् । कृषिलाई आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाएर कृषि आधारित उद्योगसहित अनेकौँ आधुनिक औद्योगिक प्रतिष्ठानहरू विस्तार गर्न नसक्दा बेरोजगारहरूको ठूलो सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । कर्मचारी प्रशासनलाई जवाफदेही, कार्यमुखी र गतिशील तुल्याउन नसक्दा सर्वसाधारणले अनेकौँ झमेला र दुःख व्यहोर्न बाध्य हुनुपरेको छ । यी यावत समस्या, अवरोध र नकारात्मक प्रवृत्तिले गर्दा हाम्रो मौलिक संस्कृति, पहिचान र धर्मसमेत रक्षात्मक स्थितिमा पुगेको ठानिंदैछ । त्यसैले, विगत वर्षका यस्ता समस्या र नकारात्मक प्रवृत्तिहरूबाट गम्भीर पाठ सिकेर आजकै दिनबाट नयाँ सङ्कल्पका साथ विकास प्रक्रियालाई तीव्र तुल्याउनु पर्दछ । स्वाधीन, सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माणका दिशामा सरकारले आफ्ना प्रयासहरू थप तीव्र बनाउनु पर्दछ ।
राष्ट्रियता सुदृढीकरण, अग्रगमन र जनसमस्याको समाधानको नाममा हामीले पटक–पटक व्यवस्था र संविधान बदल्यौं, तर अवस्था बदल्ने हाम्रो सपना अझै पूरा हुन सकिरहेको छैन । सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियाले तीव्रता पाउन सकेको छैन । अनेकौं राजनीतिक विकल्पहरूको अभ्यासपछि पनि जनतामा चरम निराशा छाउने स्थिति किन उत्पन्न भयो ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको कायापलट हुने विश्वास हामीले जनतालाई दिलाएका हौं, खोजेको व्यवस्था प्राप्त भएपछि पनि जनताको जीवनस्तरमा महत्वपूर्ण परिवर्तन किन हुन सकिरहेको छैन ? यस्ता प्रश्नहरूमा अब चिन्तामात्र प्रकट गरेर जनताको सहानुभूति बटुल्न खोज्नुभन्दा निर्मम आत्मसमीक्षा गर्दै फेरि पनि निरन्तर इमान्दार प्रयास गर्नुको विकल्प छैन । यस दिशामा सम्बद्ध सबैको ध्यान आजोस् ।
हाम्रो देशमा यहीं विकसित भएको मौलिक विचारको खाँचो थियो– जसले मुलुकलाई सामाजिक न्याय र समानतामा आधारित समुन्नत समाज बनाउन मार्गदर्शन गर्न सकोस् । अब त्यो सिद्धान्त हामीले पाइसकेका छौँ । यस प्रगतिशील सिद्धान्तको प्रभावकारी कार्यान्वयन गरी देश विकास गर्नुको विकल्प हामीसँग छैन । यो देशको सामाजिक–आर्थिक रूपान्तरणको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको सपना आफ्ना सहकर्मी–सहयात्रीहरूलाई राज्यसत्तासम्म पुर्याउने इच्छामा मात्र सीमित थिएन, बरु यस सिद्धान्तलाई कार्यान्वयन गर्दै जनताको जीवनस्तर बदल्ने र राष्ट्रको गौरव बढाउने थियो । बहुदलीयता र बहुलवादलाई आत्मसात गरी सक्रियता, पहलकदमी, जनसेवा र प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्दै अरु राजनीतिक शक्तिहरूलाई समेत मुलुकका साझा विषयमा अग्रसर र गतिशील बनाउने नै जननेताको चाहना हो । मदनको विचार र भावनाअनुरूप अगाडि बढ्न हामीलाई कसैले कतैबाट अवरोध त पैदा गरिरहेको छैन ? यस प्रश्नमा आत्मचिन्तन गर्ने समय आएको छ । मदन देश र जनतालाई केन्द्रविन्दुमा राखेर धारणा बनाउने गर्नुहुन्थ्यो । निजी स्वार्थ, लोभ र महत्वाकांक्षाभन्दा माथि नउठेसम्म जनआकांक्षालाई सम्बोधन गर्ने चेत, इमान्दारिता र दृढ मनोबल उत्पन्न हुन नसक्ने उहाँको ठम्याइ थियो । त्यसैले, हामी सबैले जननेताको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भएको छ । नेपालको राजनीतिक आन्दोलन र सामाजिक–आर्थिक रूपान्तरणको अभियानमा ऐतिहासिक भूमिका निर्वाह गरी अपार जनविश्वास आर्जन गर्न सफल बनिसकेको जननेताको विरासत बोकेको पार्टी नेकपा (एमाले)ले राज्यप्रतिको विश्वास र भरोसा थप अभिवृद्धि गर्न ढिला नगरी ठोस कार्ययोजना अघि सारेर त्यसको कार्यान्वयनमा तदारुकता देखाउनै पर्दछ ।
राष्ट्रहित भन्दा महत्वपूर्ण अर्को कुनै विषय हुन सक्दैन र जनताको मुहारमा मुस्कान ल्याउनुभन्दा ठूलो अर्को कुनै खुसी हुँदैन । देशले दिनसक्ने जति अवसर हामीलाई दिइसकेको छ, अबको हाम्रो समय केवल राष्ट्रको नाममा समर्पण गर्नु पर्दछ । यस्तो दृढ अठोटबिना देश बदल्ने सपना पूरा हुन असम्भव छ । नयाँ वर्षको आगमनसँगै हामी सबैले जनताका समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासहरूबाट आफूलाई अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ ।
यो नयाँ वर्ष नवीन आशा र विश्वासको दियो बाल्ने वर्ष बन्नुपर्छ, समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ । दृढ अठोट र ऊर्जाका साथ नयाँ वर्षलाई देशोपयोगी बनाउने सामर्थ्य हामी सबैमा प्राप्त होस्, शुभकामना !
२०८२ वैशाख १ गते सोमबार ।