नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको फलस्वरूप जननिर्वाचित संविधानसभाद्वारा वि.सं. २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस अवसरमा, म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा संविधान दिवस तथा राष्ट्रिय दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, संविधान दिवसको पूर्वसन्ध्यामा गत भदौ २३ गते नयाँ पुस्ताका युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भष्टाचारको अन्त्य र सुशासनको स्थापनाको माग राखेर गरेको प्रदर्शनको क्रममा अमूल्य जीवन गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउँदै सुशासन र पारदर्शिता कायम गर्न तथा भ्रष्टाचार निवारण गर्न संविधानको पालना र कानुनको शासन अपरिहार्य हुन्छ । समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि सामाजिक–आर्थिक विकासलाई तीब्रता दिनु आवश्यक छ । राजनीतिक स्थिरताका लागि समाजमा अमनचयन, शान्ति र सुव्यवस्था कायम राख्दै आपसी सद्भाव र एकतालाई थप सुदृढ तुल्याउनु पर्ने हुन्छ । तसर्थ, आवेग, उत्तेजना र प्रतिशोधको भावनाभन्दा माथि उठेर राष्ट्रको सर्वोत्तम हितलाई ध्यानमा राखी यथार्थको धरातलमा उभिएर विवेकसम्मत ढङ्गले अगाडि बढ्नु हामी सबैको  दायित्व हुन आउँछ । 

संविधान दिवस मनाइरहँदा जननिर्वाचित ऐतिहासिक संविधानसभाबाट संविधान निर्माण गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्णायक भूमिका खेलेका राजनीतिक दलहरूले आफ्नो भूमिका र दायित्वलाई गम्भीरतापूर्वक समीक्षा गर्दै गन्तव्यतर्फ अग्रसर बन्नु पर्दछ । लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशिता, समानता जस्ता अवधारणालाई अङ्गीकार गरेको वर्तमान संविधानको रक्षा गर्न राजनीतिक दल, नागरिक समाज र आम जनता मिलेर अगाडि बढ्नु पर्दछ । लोकतान्त्रिक मूल्य र मान्यतालाई राज्यका अङ्ग तथा निकायमा मात्र नभई दलहरूको आन्तरिक प्रक्रियामा समेत गहिरोसँग आत्मसात् गर्नु पर्दछ । यसरी मात्र जनता र राजनीतिक दलका बीचमा नङ र मासु जस्तै मजबुत सम्बन्ध कायम रहन सक्दछ ।

देश हामी नेपाली  सबैको साझा हो । आजका बालबालिका, नवयुवा र युवा पुस्तासँग लामो समय हुने भएकाले भविष्यमा देश हाँक्ने जिम्मेवारी उनीहरूकै हो । युवाहरूमा रहेको जाँगर, उर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा लगाउनु अहिलेको आवश्यकता हो । युवाहरूको माग, दबाव र स्वाभाविक आक्रोशलाई भने सकारात्मक रूपमा ग्रहण गरी स्वयं युवा, देश र जनताको हितमा सदुपयोग गर्नसक्नु सम्बद्ध सबैको दायित्व हो ।

मुलुकलाई राजनीतिक अस्थिरता र अन्यौलतातर्फ धकेलिन नदिनका लागि मिहिनेत गर्नुपर्ने जिम्मेवारी राजनीतिक दलहरूको हो । देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता अटल राख्न सबै जिम्मेवार पक्षहरूले परिस्थितिको सूक्ष्म विश्लेषण गरी विवेकपूर्ण ढङ्गले अग्रसर हुनु अहिलेको ज्वलन्त आवश्यकता हो । राजनीतिक दलहरू लोकतन्त्रका चालक, सही राजनीतिक निकासका पक्षपोषक र राष्ट्रियताका प्रवर्द्धक भएकाले जस्तोसुकै कठिन परिस्थितिमा पनि सही निर्णय लिन चुक्नु हुँदैन । वर्तमान परिस्थितिमा दलहरू बीचको आपसी प्रतिस्पर्धालाई थाँती राख्दै, मनोमालिन्यता र तिक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का बन्नु पर्दछ । संविधान दिवसले यस दिशामा लाग्न हामी सबैलाई अभिप्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।