राष्ट्रिय बाल दिवस २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक र बालमैत्री समाज निर्माणमा संलग्न सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस वर्षको राष्ट्रिय बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ले हाम्रो साझा जिम्मेवारीलाई स्पष्ट रूपमा अभिव्यक्त गर्दछ । बालबालिकाहरू केवल भविष्यका कर्णधार मात्र होइनन्, उनीहरू सभ्य र समुन्नत समाज तथा समृद्ध नेपालको आधारशिला पनि हुन् । उनीहरूलाई परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार तथा अनुशासित नागरिक बनाउन, उचित शिक्षा र सकारात्मक वातावरण प्रदान गर्नु अत्यावश्यक छ । उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र प्रतिभा विकासमा गरिएको लगानी नै दिगो र सुनिश्चित भविष्य निर्माणको बलियो जग बन्नेछ ।

“यदि तपाईंको योजना एक वर्षको लागि हो भने, धान रोप्नुहोस्; यदि तपाईंको योजना दस वर्षको लागि हो भने, रूख रोप्नुहोस्; यदि तपाईंको योजना सय वर्षको लागि हो भने, बालबालिकाहरूलाई शिक्षित बनाउनुहोस्” — चिनियाँ दार्शनिक कन्फ्युसियसको यो भनाइ यस सन्दर्भमा मननीय रहेको छ ।

हाम्रो संविधानले सुनिश्चित गरेका बालअधिकारलाई व्यवहारमा उतार्दै बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोगको अन्त्य गर्नु, उनीहरूको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन गर्नु हाम्रो साझा कर्तव्य
हो । यस दिवसले ‘बालबालिकामा लगानी’ मार्फत समृद्ध नेपालको सुनिश्चित भविष्य निर्माण गर्ने हाम्रो अभियानलाई सबल र प्रभावकारी बनाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

 २०८२ भाद्र २९ गते